बारामा थप दुईको मृत्यु, एकैदिन चार जनाले ज्यान गुमाए
बारा : कोरोना संक्रमणबाट बारामा एकै दिन चारजनाको मृत्यु भएको छ। संक्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चारजनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार मंगलबार बिहान र राती दुई-दुई जनाले ज्यान गुमाएका हुन्।
राती ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय पुरुष रहेको डिएसपी मिश्रले बताए। यसअघि मंगलबार बिहान विश्रामपुर गाउँपालिका ५ का ७२ वर्षीय वृद्ध र महागढीमाई नगरपालिका ४ का ५९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो। मृतक चारजनाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोनो पोजिभिट देखिएपछि उपचाररत रहेका उनीहरुको अस्पतालको शैयामै ज्यान गएको हो।
योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। यसअघि बारामा १० जनाले ज्यान गुमाइसकेका छन्। बारामा बुधबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या चार सय १६ रहेको छ। संक्रमितमध्ये ८२ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्रमा छन् भने तीन सय १९ जना घरमै आइशोलेट भएर बसेका छन्। संक्रमण भइ उपचारपश्चात बारामा हालसम्म दुई सय ९० जना घर फर्किसकेका छन्। बुधबार मात्रै बारामा १५ जना संक्रमित थपिएका छन्।