बारामा फुड बैंक सञ्चालन

बारामा फुड बैंक सञ्चालन

बारा : कोरोना संक्रमित र विपन्न परिवारलाई राहत उपलब्ध गराउन बाराको सिमरा र पथलैयाका स्थानीय युवाले ‘फुड बैंक’अभियान सुरु गरेका छन्। लामो समयसम्मको लकडाउन र त्यसपछिको निषेधाज्ञाबाट प्रभावित भएका संक्रमित परिवारलाई खाद्यसामाग्री उलपब्ध गराउन जीतपुरसिमरा उपमहानगरपालिका १ र २ का स्थानीय युवाले अभियान सुरु गरेका हुन्।

फैलँदो कोरोना संक्रमण बढ्न नदिन स्थानीय प्रशासनले बारामा निषेधाज्ञा जारी गरेको छ। देशभर गरिएको लकडाउन खुलेको केही हप्तामै संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लामा पुनः निषेधाज्ञा जारी गरेको हो। लगातारको लकडाउन र निषेधाज्ञाले जिल्ला ठप्प हुँदा अति विपन्न परिवार प्रभावित हुँदै आएका छन्।

जिल्लामा संक्रमितको संख्या थपिंदै जाँदा जीतपुरसिमरा उपमहानगरपालिकामा पनि संक्रमण हुनेको संख्या दिनानुदिन बढिरहेको छ। अहिले दुई वडामा सक्रिय संक्रमितको संख्या ४५ जना रहेका छन्। संक्रमित परिवारले सामाजिक असहयोग भोग्नुपर्ने अवस्था देखिएको छ। आर्थिक रुपमा सबल परिवार भन्दा पनि दैनिक ज्यालादारीमा काम गरेर दुई छाकको जोहो गर्ने विपन्न परिवार कोरोना महामारी र संक्रमणपश्चात बढी पीडित देखिन्छन्। 

दुई छाकको समेत जोहो गर्न नसकेका परिवारलाई लक्षित गरी स्थानीय युवाले खाद्य सामाग्री संकलन र वितरण अभियान सुरु गरेका हुन्। स्थानीय जनप्रतिनिधिको समन्वयमा युवाले पथलैया र सिमरामा दुई दिन राहत सामाग्री संकलन गरे। अभियानमा स्थानीयले पनि उत्साहित हुँदै सहयोग गरेका छन्। स्थानीयले चामल, चिउरा, दाल, नुन, चाउचाउलगायतका खाद्य सामाग्री फुड बैंकमा जम्मा गराए। 

युवाहरुले दुई वडाको विभिन्न सात स्थानमा राहत संकलन अभियान गर्ने योजना बनाएका छन्। अभियान अन्तर्गत दुई स्थानमा संकलित सामाग्री वितरणको तयारी सुरु भएको अभियानका सदस्य सुशील ढकालले बताए। ‘हुनेले दिने र नहुनेले लिने’अभियान भएकाले वडा कार्यालय र अभियानका सदस्यले फिल्डमै पुगेर अति प्रभावित देखिएका परिवारलाई मात्रै राहत उपलब्ध गराउन लागिएको ढकाललको भनाइ छ। 

‘राहत लक्षित वर्गसम्म पुर्‍याउन हामी लागिपरेका छौं, त्यसैले हामी घरघरमै पुगेर अत्यन्तै प्रभावित परिवारको सुचि तयार गर्दै छौं’, ढकालले भने, ‘जसले गर्दा राहतको दुरुपयोग नहोस् र पीडित परिवारले साँच्चै राहत महसुस गर्न सकून् भन्ने उदेश्य हो।’फुड बैंक अभियान अन्तर्गत बिहीबार नरबस्तीमा संकलन भएको सामाग्री शुक्रबार साझ वितरण गर्ने तयारी भएको अभियानका अर्का सदस्य श्रीराम रेग्मीले बताए। पथलैयामा संकलन भएको सामाग्री वितरणको तयारी भइरहँदा कोरोना संक्रमितको संख्या थपिएपछि केही दिनलाई पछि सारिएको र अन्य पाँच स्थानमा संकलन हुने सामाग्री भोलिपल्ट नै पीडितको हातमा पुग्ने गरी तयारी गरेको रेग्मीले बताए। 

कोरोना संक्रमण फैलँदै गएको समयमा स्थानीय उद्योगले अन्यत्रबाट मजदुर ल्याएर कारखाना संचालन गरिरहेको भन्दै निगरानी गर्दै आएका युवाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर भोकै बस्नुपर्ने अवस्था देखेपछि फुड बैंकको अभियान सुरु गरेको युवा कृष्ण अधिकारीले बताए। ‘उद्योग कलकारखानाको लापरवाहीका कारण संक्रमित थपिंदै गएपछि हामीले निगरानी गर्दै आएका छौ्ं, सोही क्रममा दैनिक ज्यालादारीमा काम गरी दुई छाकको जोहो गर्ने मजदुरको पीडा पनि देख्यौं’, अधिकारीले भने, ‘त्यसैले उद्योग बन्द हुँदा पीडित हुन पुगेका मजदुरसहित अन्य विपन्न परिवारलाई सहयोग गर्न अभियान थालेका हौं।’

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ र २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठसहित अन्य जनप्रतिनिधिले युवाले थालेको अभियानको प्रशंसा गरे। ‘कोरोनाको संक्रमण नियन्त्रण र राहत उपलब्ध गराउन स्थानीय सरकारले हरसम्भव प्रयास गरिरहेको छ’, अध्यक्ष गुरुङले भने, ‘यस्तो संकटको समयमा सहयोग गर्नु नागरिकको दायित्व पनि हो।’ वडा २ का अध्यक्ष श्रेष्ठले जनप्रतिनिधि र सबै सचेत नागरिकले यतिबेला युवाहरुजस्तै कोरोनाविरुद्धको अभियानमा अघि बढ्न जरुरी रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.