महामारीमा किन असंवेदनशील !

महामारीमा किन असंवेदनशील !

करिब आठ महिनाअघि देखा परेको कोरोना संक्रमणले विश्वलाई नै आक्रान्त पार्‍यो। २ सय १० मुलुकमा कोरोना संक्रमण फैलिएको तथ्यांक बाहिरियो। कुनै देश यो रोगबाट अछूतो रह्यो होला भन्न सकिन्न। हरेक देशले सबै शक्ति रोग नियन्त्रणमा खर्चिएको छ। आज कतिले मृत्युवरण गर्नुपर्‍यो, कतिले भेन्टिलेटरमा जीवनमरण पर्खर्नुपर्‍यो लेखाजोखा छैन। आत्महत्याका घटना पनि सार्वजनिक भए। दुव्र्यवहार खप्न नसकेर विस्थापित हुनुपरेका खबर पनि आए। महामारीले यी र यस्ता अनेक वितण्डा मच्चाए पनि रोगबाट मुक्त हुने र नियन्त्रणमा आउने उपाय अझै सुझेको भने छैन। अर्को एउटा खतरा त के छ भने चीनबाट सुरु भएको कोराना कडा नियम र उपचारमा देखाइएको तदारुकताले केही समयपछि नियन्त्रणमा त आयो तर संक्रमण फेरि दोहोरियो। चीनलगायत दक्षिण कोरिया, न्युजिल्यान्ड र युरोपेली मुलुकहरूमा दोहोरोएपछि चिन्ताको विषय बनेको छ।

सन्दर्भ आफ्नै मुलुकको; गएको माघमा चीनको वुहानबाट फर्किएका एक व्यक्ति कोरोना संक्रमित भएपछि नेपालमा पनि यो रोग भित्रियो। चैत ११ बाट सरकारले मुलुकभर लकडाउन गर्‍यो। संक्रमित संख्या नगन्य थियो। कसैको ज्यान गएको थिएन। भारतमा संक्रमित बढेपछि नेपालीको स्वदेश आगमन ह्वात्तै बढ्यो। त्यसपछि संक्रमितको संख्या विस्तारै थपिँदै गयो। सरकारले सीमामा कडाइ गर्न सकेन। अत्यावश्यकबाहेकका सवारी ओहोरदोहोर गर्न नदिने भने पनि कार्यान्वयन फितलो भएका कारण संक्रमित बढे। सरकार जरिमाना र सजायको कुरो गर्छ तर खुट्टा दह्रो टेक्दैन। निर्णयबाट पछि नहटेको भए आज यो झुक्तमान बेहोनुपर्ने थिएन। लकडाउनले रोजी–रोटी खोसिएको गुनासा र विरोध आयो। रोगभन्दा भोकले ज्यान जाने क्रम बढेको भन्दै लकडाउन खोल्ने दबाब आएपछि सरकार आफ्नो निर्णयमा अडिग रहन सकेन र साउन ६ देखि खुकुलो पारिदियो। संक्रमित वृद्धि हुने र ज्यान जानेको संख्या पनि बढेका कारण भदौ ३ देखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भयो। यति हुँदा पनि संक्रमित बढ्ने र ज्यान जानेको संख्या उस्तै गतिमा छ। अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैभन्दा जोखिममा छन्। राजधानी काठमाडौं विस्तारै ‘हट स्पट’ बन्ने अनि सातवटै प्रदेशमा संक्रमित र मर्ने दर किन बढिरहेको छ ? स्वास्थ्यविज्ञ एवं चिकित्सक स्वयं आगामी दिनमा संक्रमण अभैm बढ्ने र ज्यान गुमाउनेको संख्या पनि वृद्धि हुने आकलन गरिरहेका छन्।

सानो असावधानीले संक्रमण भएपछि जीवनमरणको दोसाँधमा त पुगिन्छ नै; घरपरिवारका सदस्यले समेत सामाजिक बहिष्कार र घृणा खेप्नुपर्ने हुन्छ।

महामारीले उग्ररूप लिनुमा कतै हामी नै जिम्मेवार त छैनौं ? राज्यका तर्फबाट गरिएका प्रयासमा कमीकमजोरी होलान्। सोचेभन्दा संक्रमण भयावह हुँदै जाँदा सरकार निरीह र हतास मनस्थितिमा देखिन्छ। निर्णय गर्ने तर कार्यान्वयन नहुने हुँदा सरकारी प्रयास सफल हुन सकिरहेको छैन। त्यसो त सरकारी सुझाव, सल्लाह, सतर्कता, चेतावनीलाई हामी कत्तिको पालना गरिरहेका छौं त ? स्वास्थ्य मन्त्रालयले दैनिक कोरोना अपडेट सार्वजनिक गरेर जनचेतना अभिवृद्धि गरिरहेकै छ। रोगबाट जोगिन सजगता देखाएनौं। नेपालमा सञ्चालित ५० भन्दा बढी नेपाली टीभी च्यानलले चौबीसै घन्टा कोरोनाबारे विवरण दिइरहेकै छन्।

लकडाउनमा सयौं पैदलयात्री चार घन्टा उभिनुपर्दा अब त चेते होलान् भन्यो भोलिपल्ट अझ बढी उभिएका देखिन्छन्। अत्यावश्यकबाहेकका सवारीसाधन नगुडाउने आदेशको पालना भएन। हजारौं गाडी ‘होल्ड अन’ मा बसेको देखियो। दुई मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने, आवश्यक काम नपरी घरबाहिर ननिस्कने अनुरोध र आदेशलाई हामीले कत्तिको पालना गर्‍यौं त ? जीवन बचाउने पहिलो सर्त हो। जनता कोरोनाबाट जोगियून्, एकले अर्कालाई रोग सार्न नसकून् भन्ने उद्देश्यले नै यी नियम आएका हुन्। दूरदराजका गाउँबाहेक कुन ठाउँका नागरिक अशिक्षित र अबुझ छन् त ? यो रोगको हालसम्म कुनै औषधि छैन, खोप पत्ता लागेको छैन। पूर्ण सावधानी, सचेतना, अनुशासन र दैनिकी अनि सरकारी आदेशको पालनाबाट मात्र जोगिन सकिने कुरा बच्चादेखि वृद्धसम्मलाई थाहा छ। तर किन बेवास्ता गरिराखेका छौं ?

सहरबजारको भीड हेरौं; न त्यहाँ दूरी छ न मास्कको प्रयोग। खाद्यान्न पसलहरूमा मानिसको ठेलमठेल। एकैपटक बीसौं जनाको भीड देखिन्छ। संक्रमण फैलिन्छ भनेर धार्मिक स्थल, सिनेमा हल, खेल मैदान, पार्टी प्यालेस, शिक्षण संस्था, होटल, रेस्टुरेन्ट, यातायात सेवा बन्द गरिएका छन्। चाहे त्यो तरकारी पसल होस् वा खाद्यान्न; सावधानी अपनाउन सरकारले जतिसुकै चिच्याए पनि जनताले टेरेनन्। यो संक्रमण यति तीव्ररूपमा एकबाट अर्कोमा सर्छ, जसको आकलन हामी गर्नै सक्दैनौं। संक्रमितबाट स्वस्थ व्यक्तिमा छिटै सर्न सक्ने हुँदा रोगबाट जोगिन सरकारी निर्देशन दैनिकजसो सञ्चारमाध्यममा आइरहेकै छ।

हामीलाई थाहा छ; दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने। यो पनि थाहा छ; सानो असावधानीले संक्रमण भएपछि जीवनमरणको दोसाँधमा त पुगिन्छ नै; घरपरिवारका सदस्यले समेत सामाजिक बहिष्कार र घृणा खेप्नुपर्ने हुन्छ। यो अकल्पनीय, भयावह स्थिति थाहा भएर पनि हामी किन यति बेपरवाह, चेतनाशून्य भएर असंवेदनशील बन्दै छौं ? यति मात्र होइन; जनता टेर्दैनन् भनेर राज्यले नियमकानुन लागू गर्‍यो। हामी दण्ड–जरिमाना तिर्न तयार छौं तर निर्देशन, अनुरोध र सचेतनाको बेवास्ता गर्छौं। खासगरी काठमाडौं उपत्यकालगायत घना बस्तीका सहरमा नियमको पालना भएको देखिँदैन। अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सरकार अनुरोध गर्छ तर जनताविना काममा उद्देश्यहीन लखर–लखर हिँडिरहन्छन्। कोरोना महामारीको दैनिक अपडेटबाट कोही अनभिज्ञ छैनन्। आज यो ठाउँमा यति संक्रमित थपिए, यतिको ज्यान गयो, यति संक्रमितमुक्त भए भन्ने सबैलाई थाहा छ। रोग लागेपछि घरखेत बेचेर पनि उपचार हुन्न भन्ने पनि थाहा छ तर ‘नानीदेखि लागेको बानी’ भीडभाड र ठेलमठेलमा बढी रुचि राख्छौं।

हामी यस्ता संवेदनशील विषयबाट जबसम्म सभ्य, सचेत र अनुशासित बन्दैनौं तबसम्म सरकारले अनुरोध गर्ने, नियम लगाउने, जरिमाना/कैद सजाय गर्ने, संक्रमित भएर क्वारेन्टाइन–आइसोलेसन, आईसीयु अनि भेन्टिलेटरमा बसेर सघन उपचार गर्दागर्दै प्राणपखेरू उडेको देखे/सुने पनि हाम्रो बुद्धि फिर्ने छाँट छैन। त्यसैले महामारीविरुद्ध राज्यले गरेका कमीकमजोरी औंल्याउने, सुझाव–सल्लाह दिने, खबरदारी गर्नेलगायतका विषय आफ्ना ठाउँमा छन् तर संक्रमणबाट जोगिन सरकारी निर्देशनको न्यूनतम पालना गरेर शतप्रतिशत रोगमुक्त हुन नसके पनि स्वस्थ जनता रोग सर्नबाट जोगिन सक्छौं। उच्च सावधानी अपनाउने, नियम पालना गर्ने, पथपरहेजमा बस्ने, योग–व्यायाम गर्ने, सकारात्मक सोच राख्ने, आत्मबल बढाउने, अनुशासनमा बस्ने हो भने रोग लाग्नेलाई त लागिसक्यो, लाग्नबाट जोगिएकाहरू संक्रमित हुँदैनौं। तर अझै बुद्धि फिरेको अनुभूति भएजस्तो लाग्दैन। संसारकै अवस्था देखे/सुनेपछि घैंटोमा घाम लाग्नुपथ्र्यो। सरकारी नियम, निर्देशन र अनुशासनमा ध्यान दिऔं। हामी जनता कोरोना महामारीको सन्दर्भमा अब यतिविधि असंवेदनशील नबनौं। यही नै हाम्रा लागि कुशल मार्गनिर्देश बन्ने छ।— श्रेष्ठ विश्वशान्ति क्याम्पसका उपप्राध्यापक हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.