कोरोना संक्रमणपछि भएन डायलासिस

कोरोना संक्रमणपछि भएन डायलासिस

दमौली : मिर्गौला रोगी ३६ वर्षीय एक पुरुषले राष्ट्रिय मिर्गाैला उपचार केन्द्र दमौली अस्पतालमा डायलासिस गराउँदै आएका थिए। यहीबीच उनलाई ज्वरोले सतायो। कोरोना लक्षण देखिएपछि पोखरा गएर परीक्षण गराउँदा सोमबार नतिजा पोजिटिभ आयो।

केन्द्रले व्यास–४ का ती पुरुष कोरोना संक्रमित पुष्टि भएपछि उपचार गर्न अस्वीकार गरेको छ। बरु पोखरास्थित पश्चिमाञ्चल अस्पताल जान भन्यो। एम्बुलेन्स चढेर मंगलबार बिहान उनी पोखरै पुगे। तर, त्यहाँका चिकित्सकले ‘केही खबर छैन’ भनेर त्यत्तिकै फर्काए। ‘कसलाई सोधेर यहाँ आएको ? यहाँ उपचार हुँदैन, उतै जानुस् भनेर फर्काइदिए’, बिरामीकी पत्नीले भनिन्, ‘१० बजे गएको साढे दुई घण्टा कुरेपछि त्यत्तिकै फर्कियौं।’

पोखरामा डायलासिस नहुने भएपछि पतिपत्नी एम्बुलेन्सबाटै दमौली फर्किए। ‘यताकाले उता जाऊ भनेर पठाए। उता किन आएको भनेर हपारे’, ती महिलाले भनिन्, ‘बूढाले गाह्रो भयो भनेको भन्यै गर्नुभाछ अब कसो गर्ने ?    ’

पोखराबाट फर्किएपछि उनलाई मंगलबारै काठमाडौं जान भनियो। ‘पोखराबाट फर्केपछि अब काठमाडौंमा गएर डायलासिस गर्नुपर्छ भने’, उनले भनिन्, ‘हामी जान तयार पनि थियौं तर बस्ने, खाने व्यवस्था नहुने भनेपछि कसरी जाने ?    ’

ज्वरो र कमजोरी देखिएकाले पहिले पनि पालोभन्दा अघि नै डायलासिस गराएका ती पुरुषलाई अहिले झनै गाह्रो भएको पत्नीको भनाइ छ। ‘यस्तो बेला झनै आत्तिनु भएको छ’, उनले भनिन्, ‘तर, घरि कता जा भन्छन् घरि कता। मैले केही गर्न सकिनँ।’ बिरामी पुरुष व्यास–३ दमौलीको किरियापुत्री भवनमा आइसोलेसनमा बसेका छन्।

केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले कोठा अभाव भएकाले ती बिरामीलाई पोखरा जान सुझाव दिइएको बताए। ‘हामीसँग उपलब्ध कोठा पर्याप्त छैन’, पण्डितले भने, ‘नियमित बिरामी आउने ठाउँमा उपचार गर्न नमिल्ने भएकाले पोखरा पठाएका थियौं।’

काठमाडौंमा डायलासिस गर्न राष्ट्रिय मिर्गाैला उपचार केन्द्र तयार भए पनि बस्ने, खाने खर्च र ठाउँको व्यवस्थापन गर्न कोही तयार नभएपछि अन्योल भएको उनले सुनाए। ‘काठमाडौंमा बेग्लै व्यवस्था भएकाले त्यहाँ डायलासिसका लागि पठाउने भनेका थियौं’, उनले भने, ‘तर, खर्च बेहोर्ने व्यवस्था नभएकाले पठाउन सकिएन।’ उनले यहाँ डायलासिसका लागि पर्याप्त पीपीईसमेत नभएको गुनासो गरे। भने,‘त्यसको व्यवस्था भयो भने मात्र यहीँ डायलासिस गराउन सकिन्छ।’

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आफूले दमौलीमा नै डायलासिस गराउन निर्देशन दिएको बताए। ‘उहाँहरू पोखराबाट पनि त्यत्तिकै फर्केको थाहा पाएपछि यहीं आवश्यक व्यवस्था गर्न भनेका छौं’, उनले भने।

तर ती बिरामीको डायलासिस कहाँ र कसरी हुने हो भनेर उनकी पत्नीलाई अत्तोपत्तो छैन। ‘जताततै फोन गरेको ग¥यै छु’, उनले भनिन्, ‘उहाँ (पति) साह्रै आत्तिनुभाको छ। अलि ढिलो भयो भने तलमाथि होला कि भन्ने पीर लाग्या छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.