अमेरिकाबाट नेपाली साहित्यको अंग्रेजी पोर्टल
काठमाडौं : नेपाली साहित्यलाई अंग्रेजी भाषामा विश्वभर पुर्याउने उद्देश्यले दिगोर्खाटाइम्स डट कम सुरु भएको छ। अमेरिकाबाट सञ्चालन हुने वेवसाइटको सुभाराम्भ अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले गरेका हुन्।
राजदूत कार्कीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्च र पाठकसम्म पुर्याउन यो वेवसाइटले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘नेपाली साहित्यलाई अंग्रेजीमा जोड्ने काम भएको छ, अब नेपाल र नेपालीको विश्वव्यापीकरण हुनेछ ।’
नेपाली स्रष्टाद्वारा अङ्ग्रेजीमा लेखिएका अथवा अनुवाद गरिएका रचनामा आधारित विशुद्ध साहित्यिक वेब पत्रिका ‘द गोर्खा टाइम्स’ले सिर्जनाका अतिरिक्त समालोचना, विचार, बालसाहित्य, स्रष्टा र कलाकार विशेष, साहित्यिक समाचार तथा अन्तर्वार्ता प्रकाशित गर्ने पत्रिकाकी परिकल्पनाकार तथा सल्लाहकार नीलम कार्की निहारिकाले बताइन् । उनले भनिन्, ‘यी विविध शीर्षकले पोर्टललाई पूर्णता दिन्छ। यसले हामीलाई घरको साहित्य बाहिर चिनाउन मद्दत गर्छ ।’
भर्चुअल मिटिङमा नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया, जापान, रुस लगायतबाट धेरै साहित्यिक व्यक्तित्वको सहभागिता थियो । पत्रिकाका प्रधान सम्पादक महेश पौड्यालले नेपाली साहित्यलाई देखिने र सुनिने बनाउन आवश्यक पूर्वाधारको अभाव देखिएकाले पूर्तिका लागि द गोर्खा टाइम्सको थालनी गरिएको बताए।
उनले भने, ‘हामीसँग हिमालका कन्दरादेखि विश्वभरि फैलिएका नेपाली मनका, भन्न बाँकी कथा अनेक छन् । अब हामी ती कथा भन्छौं ।’
प्रतिक्रिया दिनुहोस !