भागेश्वर गाउँपालिकामा कोल्ड स्टोर निर्माण हुँदै
डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँमै कोल्ड स्टोर निर्माण गर्न थालेको छ। गाउँस्तरमा निर्माण हुन लागेको यो पहिलो कोल्ड स्टोर हो। तरकारी र सुन्तलाजातका फलफुलका उत्पादनका लागि पकेट क्षेत्र मानिने भागेश्वर गाउँपालिकाको बगरकोटमा कोल्ड स्टोर निर्माण गरिन लागेको छ।
४१ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिन लागेको गाउँपालिकाले जनाएको छ। अन्य जिल्लाले समेत आलु तथा फलफुल भण्डारण गर्ने क्षमता भएको कोल्ड स्टोर जिल्ला सदरमुकाम नजिक दहव्यारेकमा निर्माण गरिएको भएपनि गाउँस्तरमा भने पहिलो पटक भागेश्वरमा निर्माण हुन लागेको हो।
जिल्लामा अहिलेसम्म एउटा मात्र कोल्ड स्टोर छ। भागेश्वर गाउँपालिकामा कोल्ड स्टोर निर्माण भए जिल्लामा दुई वटा हुने छन। दुर्गम क्षेत्रका किसानले समेत बेमौसमी तरकारी लगाएत अन्य फलफुललाई समेत भण्डारण गरेर राख्न सक्ने उद्देश्य लिएर गाउँपालिकाले कोल्डस्टोर निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन्। उनले भनिन्, 'कृषि उपजलाई राख्न र बेमौसममा कृषकले ति वस्तुलाई बेच्दा फाइदा पनि राम्रो हुने भएकाले कोल्डस्टोरलाई प्राथमिकतामा राखिएको हो।'
भागेश्वर गाउँपालिकाले उदाहरणीय काम गर्दै आएको छ। गाउँपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन सञ्चालनमा ल्याएको थियो। भने यो वर्ष सुदुरपश्चिममै पहिलो पटक गाउँस्तरमा २० वार्ड क्षमता भएको आईसोलेसन अस्पताल निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !