मर्न थाले हिमाली नाउर

मर्न थाले हिमाली नाउर

जस्तोसुकै अप्ठ्यारोमा पनि आउजाउ गर्न सक्ने नाउर आँखामा रोग लागेपछि भीरबाट लडेर मर्दै।


जोमसोम : विश्वकै अग्लो उचाइमा अवस्थित तिलिचो पदमार्गको मुस्ताङतर्फ पर्ने मेसोकोन्दो लेकमा हिमाली वन्यजन्तु नाउर रोगले मर्न थालेका छन्। अन्नपूर्ण संरक्षण आयोजनाअन्तर्गत पर्ने मुस्ताङको ठिनी हुँदै तिलिचो पदमार्गको उच्च लेकमा पछिल्लो समय वन्यजन्तु नाउर रोगले मर्न थालेका हुन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको वन्यजन्तु वर्गीकरण नियमावलीअनुसार नाउरलाई अर्धसंरक्षित प्रजाति मानिएको छ। तिलिचोबाट फर्किएका केही व्यक्तिले उच्च लेकमा नाउर रोगव्याधिले मरेको खबर गराएपछि अहिले एक्यापको प्राविधिक तथा संरक्षण व्यवस्थापन समितिको टोली अध्ययनका लागि जान लागेको छ। एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले प्रारम्भिक जानकारीमा ३ वटा हिमाली नाउर मरेको पुष्टि भएको बताए। लेक पूरै चाहार्दै गएपछि कति संख्यामा मरेको भन्ने यकिन गर्न सकिने दाहालको भनाइ छ।

तिलिचो घुमेर फर्किएका व्यक्तिले उच्च लेकमा बस्ने याक–चौंरी गोठालासँग सोधपुछ गर्दा नाउरमा आँखा पाक्ने समस्या थाहा पाइएको हो। जस्तोसुकै अप्ठ्यारोमा पनि सहज रूपमा आउजाउ गर्न सक्ने वन्यजन्तु नाउर आँखामा रोग लागेपछि आँखा देख्न छाडी भीरबाट लडेर मर्न थालेको जनाइएको छ। २ दिनअघि तिलिचो पुगेर फर्किएका जोमसोमका विकल गुरुङले उच्च लेकमा दर्जनौं नाउर मरेको हुनसक्ने आशंका व्यक्त गरे।

एक्याप जोमसोमले वन्यजन्तुमा के कारण र कसरी÷कुन प्रकारको रोग लागेको हो भन्ने अनुसन्धान गर्ने जनाएको छ। दाहालले भने, ‘र्‍याल ल्याबमा पठाउने तयारी भएको छ। प्रयोगशालाको अनुसन्धानपछि रोगको पहिचान हुने र त्यसको रोकथामका लागि आवश्यक पहल गरिनेछ।’

समुद्री सतहबाट करिब ३ हजारदेखि ५ हजारभन्दा बढी उचाइसम्मको उच्च लेक नाउरको मुख्य बासस्थान हो। मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाको कोवाङदेखि माथिका उच्च लेकमा नाउर पाइन्छ। गर्मीयामको मौसममा नाउर पानी खान कालीगण्डकी नदीमा आइपुग्छन्।

हिमाली क्षेत्रका भूगोलसँग मिल्दो नाउरको प्राकृतिक विशेषताले नजिकैबाट नाउर ठम्याउन सकिँदैन। मुस्ताङमा अधिकांशले बुद्ध धर्म मान्ने भएकाले बस्ती नजिक आएका नाउरको सिकार देखेर पनि गर्दैनन्।

स्तनधारी जनावर नाउर नेपालका हिमाली जिल्लामा पाइन्छ। तिब्बतमा पनि नाउर पाइन्छ। हिमाली क्षेत्रमा नाउरका ५ प्रजाति छन्। तीमध्ये नेपालमा धेरै पाइने मुख्य हिमाली भेडा नाउर नै हो। यसको पेट तथा सपेटामा हल्का खैरो र अन्य भागमा खैरो रङ देखिन्छ। नाउर गर्मी समयमा करिब १५ हजार फिटमाथि नै बस्ने गर्छ। जाडो समयमा अलि तल झर्ने गर्छ। बिहान र साँझपख मात्रै आहाराका लागि निकै सक्रिय हुने गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.