ससुराली गएका दुई युवा झुण्डिएको अवस्थामा फेला
मुगु : छाँयानाथ रारा नगरपालिका-८ का २१ वर्षीय एक युवक सुसुराली घरमा रहेकी पत्निलाई आफनो घर ल्याउन गएको बेला ससुराली गाउँ नजिकै भदौ २५ गते रुखमा झुण्डिएको अबस्थामा मृत फेला परे। उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला पत्निसहित सुसुराली घर गएका छाँयानाथ रारा नगरपालिका-८ कै अर्का युवा पनि ससुराली घर नजिकको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
पत्नि लिन ससुराली घर गएका छाँयानाथ रारा नगरपालिका-८ का २१ वर्षीय रामृष्णा बिष्ट खत्याड गाँउपालिका-५ ससुराली गाँउ नजिक रुखमा झण्डिएको अवस्थामा मृत फेला परेको घटना एक साता नबित्दै पुन छाँयानाथ रारा नगरपालिका-७ का २८ वर्षीय अर्का युवा राजेन्द्रबहादुर शाही पत्निसहित ससुराली भेट्न खत्याड गाउँपालिका-६ राजकोटीबाडा गएका शाही बुधबार सोही गाउँको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
एक वर्ष अगाढी खत्याडपालिका-५ की युवतीसँग प्रेम विवाह गरेका छाँयानाथ रारा नगरपालिका-८ रामकृष्णा बिष्ट माइति घरमा बसेकी पत्निलाई भदौ २० गते आफनो घर ल्याउनका लागी ससुराली घर पुगेका थिए। रामकृष्णा भदौ २५ गते सुसुराली घर नजिकको रुखमा झण्डिएको अवस्थामा मृत फेला परेका थिए।
छाँयानाथ रारा नगरपालिका-७ का राजेज्द्रबहादुर शाही असार महिनामा पत्निसहित खत्याड गाउँपालिका-६ राजकोटिबाडामा सुसुराली भेटघाट गर्न गएका थिए। एक हप्ता अघि सोही गाउँपालिकाको बिराबगरमा निमार्णधिन जलविद्युत आयोजनामा काम गरेको ज्याला माग्न हिँडेका थिए। त्यो दिनदेखि उनी पत्नि र सुसुरालीसँग सम्पर्कमा नभएको बुधबार मात्र जडिबुटी संकलन गर्न जाने स्थानीयले शाही मृत अवस्थामा देखेपछि ससुरालीलाई खबर गरेका थिए। शव गन्हाएकाले केही दिन अघिको हुन सक्ने खत्याड गाउँपालिका-६ का वडा अध्यक्ष भरत शाहीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक भिमदत्त जोशीले दिएको जानकारी अनुसार खत्याड गाउँपालिकामा-५ मा झुण्डिएको अवस्थामा फेला परेका युवाको घटना अबस्था हेर्दा युवाले आफै आत्महत्या गरेको हुन सक्ने देखिएको छ। घटनाबारे मृतक युवाका पत्नि, सुसुरा र सासुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सोही गाँउपालिका-६ मा झुण्डिएको अवस्थामा बुधबार मृत अवस्थामा फेला परेका शाहीबारे प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगि घटना मुचुल्का तयार गरी पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरिक्षक जोशिले बताए।
प्रतिक्रिया दिनुहोस !