कोरोना विशेष अस्पतालमा आइसीयू सेवा
दाङ : दाङमा सञ्चालन भएको कोरोना विशेष अस्पतालमा आइसीयू सेवा सुरु भएको छ । प्रदेश ५ सरकारको स्थापनामा २०७६ चैतदेखि सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा आइसीयू सेवा सुरु गरिएको हो।
एक सय आइसोलेसन बेड क्षमता भएको अस्पतालमा उपकरण भए पनि आवश्यक जनशक्ति नभएको भन्दै अहिलेसम्म आइसीयु र भेन्टिलेटर सेवा सञ्चालन हुन सकेको थिएन।
कोरोना संक्रमितको उपचार र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि अस्पतालमा आइसीयू सेवा सुरु गरिएको अस्पतालका मेसू डा. सर्वेश शर्माले बताए।
प्रदेश सरकारको व्यवस्थापनमा अस्पतालमा बिहीबारदेखि पूर्ण रुपमा आइसीयू सेवा सञ्चालनमा ल्याइएको उनले बताए। उपकरण प्रादेशिक अस्पताल र प्रदेश सरकारबाट कोरोना विशेष अस्पतालमा व्यवस्था भएको थियो।
अब आइसीयू सेवा सञ्चाल पूर्णरुपमा नै रहने र आवश्यक परेमा तत्काल सेवा दिइने व्यवस्था गरिएको अस्पताल व्यवस्थापक दोर्णबहादुर वलीले बताए। उनले अक्सिजनसहित सम्पूर्ण प्रकृया तयारी अवस्थामा बिहीबार देखिनै राखिएको बताए। जटिल अवस्थाका बिरामी भएमा तत्काल आइसीयूमा राखेर उपचार गर्न सकिने अवस्थामा कोरोना अस्पताल पुगेको उनले बताए।
आवश्यक उपकरण जडान भइसकेको बताउँदै उनले यदि कोही जटिल प्रकृतिका संक्रमित भएमा तत्काल आइसीयू कक्षामा राखेर उपचार हुने बताए।
उनले जिल्लाका कोरोना संक्रमितहरु मात्र नभई बाहिर जिल्लाबाट ल्याइएको संक्रमितलाई आइसीयूमा राखेर उपचार गराउनु पर्ने भएमा आफूहरु तयारी अवस्थामा रहेको बताए।
आइसीयू कक्षका लागि अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक व्यवस्थापन गरिएको छ। तर नियमित ४ जना चिकित्सकलाई मात्र आइसीयू कक्षामा खटाइने डा. शर्माले बताए।
उनका अनुसार आइसीयू सेवा सञ्चालका लागि राप्ती प्रादेशीक अस्पतालमा रहेका तीन वटा र प्रदेश सरकारमार्फत प्राप्त दुई वटा भेन्टिलेटर गरी पाँचवटा भेन्टिलेटर आइसीयू कक्षमा जडान गरिएको छ।
आइसीयूका लागि आवश्यक पर्ने अक्सिजन पाइप खरिदका लागि कोरोना विशेष अस्पतालले झण्डै ३५ लाख रुयैयाँ रकम खर्च गरेको उनले जानकारी दिए।
अस्पतालमा पर्याप्त जनशक्ति नहुँदा यसअघि आइसीयू सेवा सञ्चालन गर्न नसकिएको उनले बताए। कोरोना संक्रमितको उपचारका लागि संघीय सरकारमार्फत थप तीनजना विशेषज्ञ चिकित्सक व्यवस्थापन भएसँगै आइसीयू सञ्चालमा सहज भएको उनले बताए।
उनले अस्पालमा पाँचवटा भेन्टीलेटर सहितको आइसीयु बेड, दश वटा उच्च सुविधायुक्त बेड र अन्य ७४ वटा साधारण वेड गरी ९० आइसोलेसन बेड अस्पतालमा सञ्चालन गरिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !