सुरक्षाका सबै मापदण्ड अपनाएका छौं, ढुक्क भएर यात्रा गर्नोस् : अध्यक्ष थापा
पोखरा : ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान सोमबारदेखि पुन: सुरु भएको छ । लामो समय उडान बन्द हुँदा विगत ६ महिनादेखि वायुसेवाहरुले १० अर्ब भन्दा बढी नोक्सानी व्यहोर्नु परेको छ।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने निणय गरेसँगै आन्तरिक उडान पनि सुचारु भएका हुन् । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार कोरोना संक्रमण हुन नदिन उच्च सर्तकता अपनाएर उडान सुरु भएको वायुसेवा संचालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए । बुद्ध एयरको विमानबाट पहिलो फ्लाइटमा सोमबार वायुसेवा संचालक संघ नेपालका अध्यक्ष थापासहितको टोली पोखरा आएको थियो।
यात्राको क्रममा विमानका पाइलट, प्राविधिक, क्रुमेम्बरलगायतका कर्मचारी र यात्रुहरुले कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको पाइएको संघका अध्यक्ष थापाले जानकारी दिए । यात्रुले यात्रा अवधिभर कुनै झन्झट नमानी माक्स र भाइजर लगाएका थिए । यात्रा गर्नुअघि विमानस्थलमा ज्वरो नाप्ने, यात्रुको झोलाहरु सेनिटइज गर्ने, यात्रुले साबुन पानीले हात धुने र सेनिटाइजर लगाउने व्यवस्था मिलाइएकाले हवाई यात्रा निकै सुरक्षित भएकाले ढुक्क भएर यात्रा गर्न संघका अध्यक्ष थापाले अनुरोध गरे ।
यात्रु झरेपछि यात्रुले छुने जहाजको पार्टमा सेनिटाइज गरिएको थियो । जहाजमा चढ्दा र ओर्लदा डिस्टेन्स मेन्टेन गरी पाँच/ पाँचजना यात्रुलाई ओर्लन र जहाज चड्ने व्यवस्था मिलाइएको थियो ।
यसरी विमानस्थल पुगेदेखि जहाजको यात्रा अवधिभर र ओर्लेर गन्तव्यतर्फ नगएसम्म उच्च सर्तकता अपनाइएको र यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्याउन सक्षम रहेकाले ढुक्क भएर यात्रा गर्न यात्रुलाई संघ अध्यक्ष थापाले अनुरोध गरे ।
पहिलो दिनको हवाई उडानमा ८० प्रतिशत यात्रुले यात्रा गरेकाले उत्साहा मिलेको वायुसेवा संचालकले बताएका छन् । पहिलो दिन १६ वटा फ्लाइटले उडान भर्ने पनि थापाले जानकारी दिए ।
बुद्ध एयर, यति, श्रीएयर, सिम्रिक एयर, समिट एयरले आ-आप्नो क्षमताअनुसार यात्रु बोक्ने छन् । यात्रुको चापलाई हेरेर थप जहाज उडान थप्दै जाने उनले बताए । वायुसेवा संचालक संघले छिट्टै नै जोमसोम, लुक्ला, सिमीकोटलगायतका दुर्गम पहाडि क्षेत्रको उडान पनि संचालन गर्ने थापाले बताए ।
पर्यटन प्रवद्धनका लागि नयाँ नयाँ पर्यटकीय गन्तव्यस्थलमा पनि हवाई उडान संचालन गर्ने योजनामा वायुसेवा रहेको पनि अध्यक्ष थापाले जानकारी दिए । पोखरा विमानस्थलबाट यात्रु जाने र आउने क्रममा उच्च स्वास्थ्य सर्तकता अपनाइएको पोखरा विमानस्थलमा प्रमुख भोलाप्रसाद गुराँगाईले बताए ।
सरकारले पहिलो चरणमा सामान्य अवस्थामा भन्दा २५ प्रतिशत मात्र उडान गर्न अनुमति दिएकाले त्यहीअनुसार उडान सुरु भएको बुद्ध एयरका प्रमुख कार्यकारी प्रवन्धक पारासजंग पाण्डेले बताए । पोखरामा नियमित ७ देखि ८ वटा सम्म उडान हुनेमा अहिले दुई उडान मात्र संचालन गरेको पनि उनले जानकारी दिए।आवश्यकता अनुसार उडान थप्दै जाने पनि उनले सुनाए ।
पोखरा पर्यटकीय सहर भएकाले समान्य अवस्थामा विदेशी पर्यटक पनि निकै यात्रा गर्थे । अहिले कोभिडको कारण विदेशी यात्रु नभएकाले आन्तरिक पर्यटकलाई नै लक्षित गरी उडान सुरु गरिएको उनले बताए ।
आन्तरिक पर्यटकलाई चलयमान बनाउन दुई रात तीन दिनको जहाज टिकट, होटल र ब्रेकफास्टको व्यवस्था मिलाइको पनि उनले बताए । यो प्याकेजमा प्रति व्यक्ति ६ हजार रहने पनि उनले जानकारी दिए ।
बुद्ध एयरको पहिलो फ्लाइटमा काठमाडौंबाट ५१ जना महिला तथा पुरुष र ५ जना बालबालिका पोखरा आएका थिए । यसैगरी पोखराबाट ५७ जना यात्रु काठमाडौं गएको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले जानकारी दिए ।
पोखरा आएको पहिलो विमान बुद्ध एयरमा आएका यात्रु जहाजबाट ओर्लदै।
सरकारले असोज १ गते देखि ५० प्रतिशत यात्रु राखेर मात्र उडान सुचारु गर्न भनिएपनि एयरलाइन्सहरुले सत प्रतिशत यात्रु राख्न पाउनुपर्ने अडान राखेपछि उडान सोमबारदेखि सुरु भएको हो । अन्तर्राष्ट्रियस्तरको सुरक्षाका सबै मापदण्ड अपनाएर उडान सुरु गरिएकाले यात्रा निकै सुरक्षित रहेको वायुसेवा संचालक संघले बताएको छ ।
प्रतिक्रिया दिनुहोस !