खेलाँचीले युरोपमा फेरि तीव्र संक्रमण

खेलाँचीले युरोपमा फेरि तीव्र संक्रमण

करिब–करिब नियन्त्रणमा आएको युरोपमा लापरबाहीका कारण पुनः कोरोना भाइरस संक्रमण तीव्र भएको छ। संक्रमणका घटनाहरू डरलाग्दो रूपमा बढेकाले यस महादेशमा अत्यन्तै गम्भीर अवस्था आउन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिइसकेको छ।

युरोपमा लकडाउन खुला गरिएपछि शारीरिक दूरी र अन्य रोकथामका उपायहरूको अवलम्बन कम गरिए। विद्यालयहरू खोलिए। हातको सरसफाइमा ध्यान दिने, खोकी र श्वासप्रश्वासम्बन्धी आचरण सुधार्ने, मास्कको उपयुक्त तरिकाले प्रयोग गर्ने, हल्का बिरामी भए पनि घरमा बस्नेजस्ता बानी व्यवहारलाई नअपनाउँदा संक्रमण फैलिएको युरापेली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (इसीडीसी) ले जनाएको छ। 

अति प्रभावित राष्ट्रमध्ये स्पेनमा सरकारले लगाएका विभिन्न नियमविरुद्ध आइतबार म्याड्रिडमा प्रदर्शन गरिएको छ। स्पेनमा संक्रमण फैलाउनमा युवा जमातले पनि महŒवपूर्ण भूमिका खेलेको बताइन्छ। लकडाउनको समयमा उनीहरू आफ्नै परिवारसँग घरमै बसे। तर तीन महिनाको लकडाउन खुला भएपछि आयोजना भएका सडक पार्टी र रात्रिजीवन एवं पारिवारिक भेटघाट संक्रमण फैलाउने ‘क्याटालिस्ट’को काम गरेको देखिन्छ। लकडाउनका समयमा त्यहाँका युवाले नियम पालना गरे पनि त्यसपछिको समयमा सामान्य अवस्थाकै जीवनशैली अपनाएर निकै आरामदायी जीवनयापन गरेकाले संक्रमण बढेको प्राध्यापक हर्नान्डेजले बताए। 

समाजवादी प्रधानमन्त्री पेट्रो सान्चेजको राष्ट्रिय सरकारले मृत्युदरबारे झुट बोलेको प्रतिद्वन्द्वीको आरोप छ भने कट्टरपन्थी पपुलर पार्टीले म्याड्रिडमा सञ्चालन गरेको क्षेत्रीय सरकारले पनि त्यस्तै आलोचना सहनु परेको बीबीसीले जनाएको छ। संक्रमणको जोखिम बढ्दै गएपछि स्पेनमा यात्रा गर्नबाट धेरै युरोपेली राष्ट्रले रोक लगाएका छन्। स्पेनबाट अन्त जानेलाई पनि १४ दिनको क्वारेन्टाइन र पीसीआर परीक्षण अनिवार्य गरिएको छ। त्यहाँको सरकारले ६ वर्षदेखि माथिकालाई मास्क र सामाजिक दूरी अनिवार्य गरेको छ। 

सामाजिक दूरीको सुनिश्चितता नभएका खुला क्षेत्रमा चुरोट पिउन बन्देज लगाएको छ। डिस्को र बारलाई पुनः बन्द गराएको छ। १० जनाभन्दा बढीलाई भेला हुन निषेध गरिएको छ भने टाढै बसेर काम गर्ने शैलीलाई प्रोत्साहित गरेको छ। 

दैनिक संक्रमणको घटनामा वृद्धि हुनेमा स्पेनपछि फ्रान्स दोस्रो हो। फ्रान्समा गत शनिबारसम्म २४ घण्टाको अन्तरालमा १३ हजार ५ सय नयाँ संक्रमित भेटिएका छन्। फ्रान्सेली सरकारले परीक्षणलाई निःशुल्क बनाएपछि ठूलो संख्यामा परीक्षण भएका कारण संक्रमितको संख्या बढेको त्यहाँका अधिकारीले जनाएका छन्। फ्रान्समा गर्मीको बिदापछि संक्रमणको घटनामा ह्वात्तै वृद्धि भएको पाइन्छ।संक्रमणको दोस्रो लहरले उचाइ लिन थालेपछि केही सावधानी अपनाउन थालिएको छ। राजधानी र अन्य केही सहरमा मास्क अनिवार्य गरिएको छ भने पेरिसलगायत २१ वटा क्षेत्रलाई रेड जोन घोषणा गरिएको छ। 

महामारीको दोस्रो लहर रोक्न कतिपय मुलुकले थप लकडाउनको तयारी गरिरहेका छन्। तीमध्ये बेलायतमा २५ दिनयता संक्रमणको दर बढ्दो पाइन्छ। उचित कदम नचालिए एक महिनापछि दैनिक ५० हजारको संख्यामा नयाँ संक्रमित थपिन सक्ने चेतावनी बेलायती सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले दिएका छन्।  

त्यसैगरी अस्पताल भर्नाको दर पनि प्रत्येक आठ दिनमा दोब्बर भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि सबैभन्दा बढी मृत्यु हुने देशमा बेलायत पर्छ। 

बेलायती सरकारले हालै ६ जनासम्म मात्र भेला हुन पाउने नियम ल्याएको छ। तर आलोचकहरूले यो उपाय अपर्याप्त रहेको र रेस्टुरेन्ट तथा पबहरूमा सामाजिक दूरीलाई ख्याल नै नगरी रमाउने गरेको देखिएको बताए।त्यसैगरी कोरोनाको बाबजुत पनि सरकारले जनतालाई कार्यालयमा गएर काम गर्न प्रोत्सहन गरेको छ। बेलायतमा अक्टोबर महिनामा विद्यालयहरू एक साताको लागि बन्द हुने गर्छ। त्यसमा अर्को एक साता थपेर दुई साताका लागि लकडाउन गरी संक्रमण घटाउन सकिने सुझाव त्यहाँका वरिष्ठ वैज्ञानिकहरूले सरकारलाई दिएका द फाइनान्सियल टाइम्स पत्रिकाले जनाएको छ। 

युरोपको अति प्रभावित राष्ट्रमध्येको इटालीमा युवाहरू र छुट्टी मनाउनेहरूले गर्दा दैनिक संक्रमित हुनेको संख्यामा वृद्धि भएको छ। त्यसैले त्यहाँका अधिकारीहरूले युवाहरूलाई होसियार रहन पनि चेतावनी दिएका छन्। अन्य छिमेकी राष्ट्रहरूको तुलनामा इटालीमा दोस्रो लहरले धेरै नगाँज्नुको कारण परीक्षण र ट्रेसिङ प्रणाली राम्रो, कडा नियम कानुन, चाँडै नै सबै बन्द गर्नु र ढिला खोल्नुले पनि योगदान गरेको देखिन्छ। अन्य ठाउँमा भन्दा मास्कको प्रयोग, सामाजिक दूरी र भेलाहरूलाई बन्देजको नियम पनि इटालीमा पालना गरेको पाइन्छ।सेप्टेम्बर महिनामा विद्यालय जाने क्रममा अभिभावकले आफ्ना नानीहरूको परीक्षणका लागि अप्ठ्यारो परेको गुनासो गर्न थालेका छन्। त्यसैले धेरैभन्दा धेरै विद्यार्थीको परीक्षण गर्नुपर्ने भएकाले इटालीले पनि अन्य मुलुकमा झैं परीक्षणमै समस्या भोग्न सक्ने हो कि भन्ने शंका गरिएको छ। 

रुसमा कोरोना संक्रमितको संख्या युरोपमै अत्यधिक भए पनि अन्य देशको तुलनामा नयाँ संक्रमितको वृद्धिदर भने त्यति देखिन्न। विश्वमा हालसम्म ३ करोड १३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भइसकेकोमा ९ लाख ६६ हजार बढीको मृत्यु भइसकेको छ। युरोप र बेलायतमा मात्र २८ लाख ६८ हजार बढी संक्रमित र १ लाख ८६  हजार बढीको मृत्यु भइसकेको छ। 
(एजेन्सीको सहयोगमा)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.