बाढीले झोलुङ्गे पुल भत्कायो, ५ मिनेटको बाटो अब ३ घण्टा पैदल

बाढीले झोलुङ्गे पुल भत्कायो, ५ मिनेटको बाटो अब ३ घण्टा पैदल

सिमलताल (चितवन) : गत साउन ५ गतेको अविरल वर्षापछि आएको भीषण बाढीका कारण चितवन र तनहुँ जोड्ने झोलुङगे पुल त्रिशुली नदीले बगायो । नदीले पुल बगाएर क्षतिग्रस्त बनाएपछि त्रिशूली नदी पारिका स्थानीयलाइ हिजोआज दैनिक आवतजावतमा निकै कष्ट पर्न थालेको छ ।

भीषण बाढीको कडा बहावले लगातार ठक्कर दिँदा झोलुङगे पुलको लठ्ठा मात्रै बाँकी रहेको त्यही ६ वटा लठ्ठा पनि बेरिएर एउटै बनेको छ । सोही क्षतिग्रस्त पुलबाट जवरजस्ती वारपार गर्न खोज्दा गत महिना एक स्थानीयले ज्यान नै गुमाउनु परेको थियो ।

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका २९ सिमलताल जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि पुल पारीका स्थानीयहरु ५ मिनेटको बाटोको यात्रा गर्न २ घण्टा भन्दा बढीको समय खर्चन बाध्य भएका छन् ।

२०७४ सालमा तुइन भएको ठाउँमा तुइन हटाएर बनाइएको १ सय २५ मिटर लामो झोलुङगे पुल ३ वर्ष पुरा नहुँदै भत्किएपछि फेरी पहिलेकै सास्ती खेप्नु परेको स्थानीय आनन्द गुरुङले बताए । 

उनले भने, 'यो तुइन चितवन र तनहुँको जोड्छ । यस पुलको प्रयोग भने तनहुँ वासीले गर्ने हो । त्रिशुली नदी पारिका देवघाट गाउँपालिकाका भकुण्डे, जैडाँडा, लगायत ८ वटा गाउँका स्थानीयहरुले दैनिक उपभोग्य सामानहरु यही पुलबाट ओसारपसार गर्ने हो । अहिले यो पुल भत्किएपछि ५/७ किलोमिटरको परको अर्को पुलबाट यात्रा गर्नुपर्छ ।'

लामो संघर्षपछि तुइन हटाएर झोलुङगे पुल बनाइएको भएपनि झोलुङगे पुलको खुसी तीन वर्षमै फेरी नदीले लुटिदिएको गुरुङले बताए । तनहुँका करिब २ सय घरधुरीले प्रयोग गर्ने लठ्ठामात्रै वाँकी रहेको पुलमा पनि झुण्डिएर नदी वारपार गर्न खोज्दा पुलछेउकै स्थानीयको मृत्यु भएपछि तनहुँपट्टि पुलको प्रवेशद्वारमा अवरोध राखिएको छ । तर पुल बनाउने तर्फ सरोकारवाला निकायहरुको कुनै चासो पुगेको छैन ।

'यो भत्किएको पुल पालिकाले मर्मत गर्न सक्ने अवस्था पनि छैन तर पनि हामीले पालिकामा निवेदन दिएका छौँ, 'आनन्दले भने, 'यहाँको सबै अवस्थाको बारेमा गाउँपालिकाले प्रदेश सरकालाइ रिपोर्ट गराएको जानकारी पाएका छौँ, तर तत्काल पुल बन्ने छाँटकाट चै देखिएको छैन ।'

अहिले नदीमाथि पुलको लठ्ठाबाहेक केही बाँकी छैन । भत्किएको पुल तत्काल बनाउन सुरु भएपछि कम्तीमा छ महिना बनाउनै लाग्ने भएकाले छिटोभन्दा छिटो पुल निर्माण कार्य सुरु गर्न स्थानीयले माग गरेका छन् । 

त्रिशूली पारिका स्थानीय सोमबहादुर गुरुङले भने, 'हामी जिल्लाले तनहुँवासी भएपनि हाम्रो सबै किनमेल, लेनदेन, गाँस वास र कपास नै चितवनसँग जोडिएको छ । यो पुल भत्किएपछि हामी जंगल र भीर खोला तर्दे अर्को पुल भएको ठाउँमा पुगेर मात्रै चितवन प्रवेश गर्नुपर्ने बाध्यता छ ।'

तुइन हटाएर बल्ल बल्ल झोलेङ्गे पुल बनाएको भएपछि अब फेरि तुइनमै फर्किनुपर्ने हो कि भन्ने अवस्था उत्पन्न भएको सोमबहादुरले बताए । पुल नहुँदा तनहुँ जिल्लातिरका स्थानीय बढी समस्यामा परेको छन् । दैनिक आवतजावत, उपभोग्य वस्तुको किनमेल र गाउँको उत्पादन बेचविखन गर्नका लागि फेरि तुइनकै युगमा फर्किनुपरेको स्थानीयले बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.