नवप्रवर्तनमा नेपालको फड्को

नवप्रवर्तनमा नेपालको फड्को

काठमाडौं : अर्थतन्त्रमा नवप्रवर्तन (इनोभेसन)को मापन गर्ने एउटा प्रतिवेदनले यो वर्ष नेपाललाई गरिब मुलुकमध्ये उत्कृष्ट ३ को सूचीमा समेटेको छ। संसारका १ सय ३१ अर्थतन्त्रमध्ये नेपाल गत वर्षभन्दा १४ अंक उक्लिएर ९५औं स्थानमा आएको छ। १६ वटा न्यून आय भएका (गरिब) मुलुकको सूचीमा उत्कृष्ट तीनमा पर्नु नेपालका लागि अहिलेसम्मकै राम्रो नतिजा हो। 

पछिल्लो समय प्रविधिको प्रयोग, ई-कमर्स र भुक्तानी प्रणालीको अभौतिकीकरणमा भएको सुधारजस्ता कुराले नेपाललाई उक्त सूचीमा आफ्नो स्थान उकास्न सघाउ पुगेको छ। त्यस्तै, कृषि, स्वास्थ्य, सुरक्षादेखि स्याटेलाइटसम्मका केही आधारभूत प्रविधि अनुसन्धानमा नेपालले पाएको सफलताले पनि मुलुकको सूचक सुधार्न सघाउ पुगेको विज्ञले बताएका छन्। 
विश्व बौद्धिक सम्पत्ति संगठनले जारी गर्ने यो वार्षिक प्रतिवेदनमा नेपाललको स्थिति सुधार भएसँगै यहाँका विकास साझेदार र प्रविधिसम्बन्धी सरोकारवाला नवप्रवर्तनलाई थप जोड दिनुपर्ने बताउन थालेका छन्। सोमबार आयोजित ‘डिजिटल संवाद’ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले अब आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सजस्ता स्वचालित प्रविधिको विकास गर्नुपर्ने बताए। 

सचिव शर्माले यस्ता कृत्रिम बौद्धिकताको प्रयोग गरेर मुलुकले औद्योगिक विकास गर्नुपर्ने धारणा राखे। ‘सरकारले बनाएका नीति समयमै कार्यान्वयन हुन सकेका छैनन्’, उनले भने, ‘आम नागरिकमा चेतनाको कमीले पनि प्रविधिको व्यापक विस्तार र नवप्रवर्तनमा समस्या खडा भएको छ।’ उनले विज्ञान तथा प्रविधिको विकासका लागि विद्यालयदेखिको प्राविधिक तथा वैज्ञानिक शिक्षा जरुरी रहेको बताए।  

सरकारले यसअघि पनि अत्याधुनिक जैविक प्रविधि, अन्तरिक्ष अध्ययन, परमाणु ऊर्जा र सुक्ष्म प्रविधिबारे अनुसन्धान गर्ने कार्यक्रम अघि सारेको थियो। मुलुकभित्र आधुनिक, जीवनोपयोगी र वैज्ञानिक शिक्षाबारे बहस सधैं हुने गरेको छ। तर, प्राविधिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र सरकारले अझै पनि नयाँ खोज एवं आविष्कारलाई प्रश्रय दिन नसकेको विद्यार्थीले बताउँदै आएका छन्। पर्याप्त लगानी गर्न सरकारले बजेट नदिँदा आफूले काम देखाउन नसकेको प्राज्ञले पनि बताउँदै आएका छन्। 

उक्त कार्यक्रममा पनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले नवप्रवर्तनमा आफ्ना कमजारे पक्षको सुधारका लागि सरकारले नै पहल गर्नुपर्ने बताए। उनले पछिल्लो समय आफूहरू विभिन्न संस्थासँगको सहकार्यमा प्रविधिको आविष्कार र त्यसको प्रवद्र्धनमा लागिपरेको बताए। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड—१९ संक्रमणको सुरु भएपछि आयुर्वेदिक औषधिको ‘क्लिनिकल’ परीक्षण गरिरहेको छ। हिमालय क्षेत्रमा पर्यावरणीय अनुसन्धान गर्ने संस्था इसिमोडले पनि वातावरण र विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग बढाइरहेको जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले ७० देशमा ‘सामाजिक आविष्कार’को प्रयोगले बेरोजगारी हटाउन सहयोग गरिरहेको उक्त संस्थाका एक प्रतिनिधि विषम ज्ञवालीले बताए। उनले निर्णय प्रक्रियालाई सहज र छिटोछरितो बनाउन प्रविधिको प्रयोग बढाउने काममा आफूहरू लागिपरेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.