बारामा नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक
बारा : भारतको बिहार राज्यमा हुन लागेको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत सिमा सुरक्षा समन्वय बैठक सोमबार बारामा सम्पन्न भएको छ। अक्टोबर २८, नोभेम्बर ३ र ७ मा तीन चरणमा हुने निर्वाचनको सुरक्षाका विषयमा केन्द्रित रहेर बैठक आयोजना गरिएको हो। बैठकमा नेपाल भारत सिमा क्षेत्रको दुबै देशका सुरक्षा प्रमुखको उपस्थिति रहेको थियो।
बैठकले बिहार राज्यमा हुन लागेको निर्वाचन सम्पन्न गर्न तीनै दिन सिमा पूर्णरुपमा बन्द गर्ने, यातायात र मानिसको आवतजावतमा रोक लगाउने, सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण, हातहतियार र तस्करी नियन्त्रण र कोरोना भाइरसको प्रभाव नियन्त्रणमा दुबै देशबीच समन्वयकारी भूमिका खेल्ने विषयमा छलफल गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
प्रजिअ पण्डितका बैठकमा भारतको पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लासँग सिमा जोडिएका बारा, पर्सा, रौतहट, चितवन, पूर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुख सहभागी थिए। भारतकोतर्फबाट विहार राज्य अन्र्तगत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सुरक्षा अधिकारी उपस्थित थिए। सुरक्षा अधिकारीबाहेक बैठकमा भारतीय निर्वाचन आयोगका प्रतिनिधि र चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिको उपस्थिति रहेको थियो।
नेपालको तर्फबाट बैठकमा सहभागिहरुको नेतृत्व चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई गरेका थिए। भट्टराईले बैठकको एजेण्डा सहभागी सामु राखेपछि छलफल सुरु भएको थियो। यसैगरी भारततर्फको नेतृत्व भने विहार राज्यको पूर्वी चम्पारण जिल्लाका डिस्ट्रिक्क मजिष्ट्रट शिसर्त कपिल अशोकले गरेका थिए। बैठक करिब तीन घण्टा चलेको थियो।