दसैंअघि होला त लकडाउन ?

दसैंअघि होला त लकडाउन ?

काठमाडौं  : मुलुकभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५ हजार ७ पुगेको छ। कोरोना संक्रमण तीव्र वृद्धि भए पनि सरकार भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने पक्षमा देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले कतिपय अस्पतालमा थप शय्या व्यवस्थापन गरेर भए पनि लकडाउन घोषणा नगर्ने योजना रहेको बताए। ‘दसैंअघि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने कुनै योजना छैन’, मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमका ती पदाधिकारीले भने।

कोरोना संक्रमितहरू घरमै र संस्थागत आइसोलेसनमा बसिरहेका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना छन्। घरमै ९ हजार १ सय ७२ जना आइसोलेसनमा बसेको प्रवक्ता गौतमको भनाइ छ। प्रवक्ता डा. गौतमले पनि तत्काल लकडाउन घोषणा गर्नुको औचित्य नभएको बताए। ‘अस्पतालमा शय्या पुगेसम्म लकडाउन घोषणा हुँदैन’, उनले भने, ‘स्वास्थ्य संकटकाल घोषणा गरेर पनि के गर्ने ? बाहिर निस्कँदा नागरिकले मास्क लगाउने र भौतिक दूरी कायम गरे पनि हुन्छ। जनताले केही नगर्ने, सरकारले विभिन्न घोषणा गरेर मात्र के गर्ने ?’ उनले नै केही समयअघि नियमित प्रेस ब्रिफिङका क्रममा सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन हुन सक्ने बताएका थिए। 

उनले बुधबार भने कोरोना संक्रमण बढिरहेको बेला पनि बिनाकाममा बाहिर निस्कने, घुमफिर गर्ने, भौतिक दूरी कायम नगर्ने  र मास्क नलगाउने प्रवृत्ति कायम रहेकोमा चिन्ता व्यक्त गरे। ‘संक्रमितहरू बढेकाले बेड तथा अस्पताल थप्दै जानुपर्छ। कतिपय ठाउँमा अस्पताल पूरा क्षमतामा चलेका पनि छैनन्। बेडको व्यवस्थापन हुन सकेसम्म हामीले लकडाउन वा स्वास्थ्य संकटकाल कुनै पनि घोषणा गर्दैनौं’, उनले भने। 

उनले संक्रमित वृद्धिसँगै कतिपय अस्पतालमा शय्या अभाव हुँदै गएको बताए। ‘बिरामीलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन सकेको छैन। विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको छ’, उनले भने, ‘यही तरिकाले संक्रमित बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन।’
बुधबार काठमाडौंमा १ हजार २ सय ९६, ललितपुरमा २ सय ९३ र भक्तपुरमा  ९५ जना संक्रमित थपिएका छन्। मुलुकभर १ हजार १ सय २६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। 

उनले सबै सरकारी एवं निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न आवश्यक रहेको बताए। हरेक व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘सामान्य रुघाखोकी लागे वा ज्वरो आएमा पनि अस्पताल जाने क्रम बढेको छ।  बिरामीलाई श्वास फेर्न गाह्रो भएमा, बेहोस हुने जस्तो भएमा वा पिसाब कम भएमा मात्र अस्पताल जान अनुरोध गर्दछु।’

कसरी बढे संक्रमित ?
नजिकिँदो चाडसँगै सार्वजनिक स्थानमा बढेको भीडभाड, नाकमुख छोपिने गरी मास्क नलगाउने प्रवृत्ति र भौतिक दूरी कायम नराखी हिँडडुल गर्ने बानीका कारण संक्रमण दर बढेको छ। त्यस्तै साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने प्रवृत्ति पनि न्यून छ। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने,‘ चाडपर्वको बेला किनमेल गर्ने क्रममा सुरक्षा मापदण्ड अपनाएको पाइँदैन। ठेलमठेल गर्ने बानीले पनि संक्रमण बढाएको छ।’

प्रवक्ता डा. गौतमले चाडपर्वसँगै किनमेल गर्नेको भीड देख्दा तीव्र रूपमा फैलिएको कोरोनालाई बिर्सिएको पो हो कि जस्तो लाग्न थालेको बताए। ‘ कोरोनाको संक्रमणबाट जोगिने र रोकथाम गर्ने हो भने अनावश्यक भीडभाड नगरौं। बाहिर निस्कनै पर्ने आवश्यक काम परे कोरोना जोखिमको कुरालाई मनन् गरी मास्कको उचित प्रयोग गरौं’, उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.