भयावह बन्दै उपत्यका

भयावह बन्दै उपत्यका

काठमाडौं : नेपालमा बिहीबार कोरोना भाइरसबाट ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। यीमध्ये आधाभन्दा बेसी २ हजार ५ सय ४० जना काठमाडौं उपत्यकाका छन्। पछिल्लो १० दिनमा कोरोना संक्रमण झन्डै तेब्बरले बढेको हो। जब कि यही असोज १३ गते ९ सय ३४ जना संक्रमित भएका थिए। यसले झन्डै ५० लाख व्यक्तिको बसोबास रहेको उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह उन्मुख देखाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना संक्रमित थपिएको जानकारी दिए। यही दरमा संक्रमण बढे उपत्यकाका अस्पतालमा शय्या  र भेन्टिलेटर अभाव हुने देखिएको छ। प्रवक्ता डा. गौतमका अनुसार उपत्यकाका अस्पतालमा आईसीयू शय्या १ सय ८१ उपलब्ध रहेकामा ४५.३ प्रतिशत भरिएको छ। आईसीयूका ८२ वटा शय्यामा संक्रमितको उपचार भइरहेको छ।

गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरको पनि अभाव हुने सम्भावना बढेको छ। ७६ वटा भेन्टिलेटर उपलब्ध रहेकामा २७ वटा संक्रमितको उपचारमा प्रयोग भएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा. गौतमका अनुसार कोभिड अस्पताललाई पूर्ण तयारी अवस्थामा राखिएको छ। आकस्मिक उपचारका लागि चौबीसै घण्टा सेवा खुला गरिएको छ। यद्यपि, जटिल अवस्था नहुँदासम्म घरमै बस्न मन्त्रालयले आग्रह गरेको छ। ‘लक्षणविहीन वा सामान्य लक्षण भएका संक्रमितलाई तोकिएको मापदण्ड पूरा गरी घरमै आइसोलेसनमा बस्न अनुरोध गर्दछु’, उनले भने।
मन्त्रालयले घरमा बस्न सम्भव नभए टोल फ्रि नम्बर ११३३ मा सम्पर्क गर्न आग्रह गरेको छ। स्वास्थ्यमा कुनै समस्या आए तुरुन्तै अस्पतालमा गएर सेवा लिन अनुरोध गरिएको छ। थप सहयोग आवश्यक परे टोल फ्रि नम्बर ११२२ वा मोबाइल नम्बर ९८५१२५५८३७, ९८५१२५५८३९ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ। आफ्नो वा परिवारको स्वास्थ्य अवस्थाबारे शंका वा चिन्ता लागे वा परामर्श चाहिए ११६६ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले चाडबाडका निहुँमा सुरक्षा मापदण्ड नअपनाउँदा संक्रमणदर बढेको बताए। ‘बजार क्षेत्रमा भौतिक दूरी पालना नै भएको देखिँदैन’, डा. मरासिनीले भने, ‘किनमेल गर्नेहरू ठेलमठेल गरेको देखिन्छ।’

अब कसरी जोगिने ?
प्रवक्ता डा. गौतमले संक्रमणदर बढिरहेकाले क्षमता भएका व्यक्तिलाई अनलाइनबाट सामग्री खरिद गर्न आग्रह गरे। सामग्री खरिदका लागि बाहिर निस्कन परे अनिवार्य मास्क प्रयोग गर्न पनि उनले सुझाव दिए। ‘सकेसम्म उपभोग्य सामग्री नजिकैको पसलबाट खरिद गरौं’, उनले भने, ‘भीड नभएका बेला पारेर जाने गरौं। भौतिक दूरी कायम गरौं।’

उनले एक साता पुग्ने गरी उपभोग्य सामग्री खरिद गर्न आग्रह गरे। भुक्तानी गर्दा पनि विद्युतीय पद्धति वा कार्ड प्रयोग गर्न र सकभर खुद्रा पैसा लिएर किनमेल गर्न उनको अनुरोध छ। बाहिरबाट घर पुगेपछि सकभर नुहाउने र सम्भव नभए हातगोडा साबुनपानीले मिचिमिची धुनुपर्ने डा. गौतमको सल्लाह  छ। ‘घरमा परिवारका सदस्यसँग सकेसम्म भौतिक दूरी कायम गर्ने गरौं’, उनले भने।

आफूले प्रयोग गर्ने सवारी साधनको बढी प्रयोग हुने ठाउँहरूमा नियमित रूपमा  क्लोरिन झोल वा स्यानिटाइजरले सफा गर्न पनि उनले सुझाव दिए। व्यापारीले पनि सबेरैदेखि राति अबेलासम्म पसल खुला राख्न र सेवाग्राहीलाई फरक–फरक समयमा आई खरिद गर्न सक्ने भएकाले भीड घटाउन सहयोग पुग्ने बताए।

उनले चाडपर्व नजिकिंदै गएको बेला संक्रमणदर वृद्धि भइरहेको बताए। ‘आफ्नो क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन व्यक्ति एवं संस्थाहरू तुरुन्तै सक्रिय बन्नुपर्छ’, उनले भने। चाडपर्वमा मन्दिरमा पूजाआजा गर्दा सावधानी अपनाउन पनि उनले आग्रह गरे।

उनले सार्वजनिक स्थानमा लिंगे र रोटे पिङ नहाल्न र अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन पनि आग्रह गरे। ‘निस्कनै परे भौतिक दूरी कायम गरी मास्कको उचित प्रयोग गरौं। बेला–बेलामा साबुनपानीले बीस सेकेन्ड हात धोऊँ। घरमै चाडपर्व मनाऊँ। कोरोनाबाट आफू बचौं र अरूलाई पनि बचाऊँ’, डा. गौतमले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले सरकारले विपन्न जनतालाई निःशुल्क मास्क वितरण गर्नुपर्ने बताए। कोरोना संक्रमणका बेला रोजगारीसमेत गुमाएका गरिब परिवारसँग मास्क खरिद गर्ने पैसा पनि नभएको उनको भनाइ छ।‘साँझ–बिहान हातमुख जोड्ने समस्या छ। मास्क खरिद गरेर परिवारलाई दिन गाह्रो हुने परिवारलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्छ’, डा. प्याकुरेलले भने।

प्रवक्ता डा. गौतमका अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ। यीमध्ये घरमै आइसोलेसनमा बस्नेको संख्या १४ हजार ९ सय ६७ छ। संस्थागत आइसोलेसनमा  ११ हजार ७ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ। कोरोना संक्रमणबाट निको भई बिहीबार २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन्। कुल निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ। पछिल्लो २४ घण्टा (बिहीबार अपराह्नसम्म)मा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.