अभावपछि औषधि ल्याउने हतारो

अभावपछि औषधि ल्याउने हतारो

काठमाडौं : कोभिड १९ का बिरामीलाई दिइने रेम्डेसिभर औषधि चरम अभाव भएपछि बल्ल सरकारले आयातको अनुमति दिएको छ। पहिलोचोटि ल्याइएको ६ हजार भाएल औषधि खपत भइसकेको छ।

औषधि व्यवस्था विभागले तीन वटा फर्मलाई औषधि आयात तथा बिक्रीको अनुमति दिएको हो। तिनमा यती फार्मसेप्टिकल डिस्ट्रिब्युटर प्रालि, सिनर्जी प्रालि र हेटेरो ल्याबस् लिमिटेड छन्। तर, तीन वटै फर्मसँग रेम्डेसिभर औषधि जगेडा छैन। ल्याउन समयमै अनुमति नपाउँदा बजारमा अभाव भएको तीन वटै फर्मका प्रतिनिधिको भनाइ छ।

अब सबै कोभिड अस्पतालले चिकित्सकको सल्लाहबमोजिम खरिद गरी उक्त औषधि प्रयोग गर्न पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सकको सिफारिसअनुसार सम्बन्धित व्यक्तिले अनुमतिप्राप्त फर्मबाट खरिद गरेर प्रयोग गर्न सकिने बताएका हुन्। 

जबकि किन्न बजारमा औषधि पाइन्न। विभागले खरिदका लागि समयमा अनुमति नदिँदा बेलैमा ल्याउन नसकिएको यती फार्मसेप्टिकलका प्रभुराज यादवले बताए। ‘एक पटक ल्याएका थियौँ,’ उनले भने, ‘त्यो सकियो। बीचमा ल्याउन अनुमति मागेको, विभागले दिएन। भर्खर स्वीकृति दिएको छ। केही दिनमा आउँछ।’ 

विभागले अहिले तीनवटै फर्मका लागि २ हजार भाएलका दरले ल्याउन अनुमति दिएको छ। औषधि आउन अझै तीन साता लाग्ने हेटेरो ल्याबस् लिमिटेडका प्रतिनिधि विजय अग्रवालले बताए। ‘हामीलाई भर्खर अनुमति आएको छ,’ अग्रवाल भन्छन्, ‘ल्याउने ठाउँमा पनि औषधिको माग ज्यादा छ। कम्तीमा तीन साता लाग्छ।’ 

पहिलो पटक ल्याएको औषधि नसकिँदै ल्याउन अनुमति माग्दा नदिएकाले अहिले अभाव भएको सिनर्जी प्रालिका प्रतिनिधि मधु पौडेलले बताए। औषधि ल्याउन मागअनुसार अनुमति नदिएकाले पनि समस्या भएको उनको भनाइ छ। 

‘हामीले कम्तीमा १० हजार भाएलको अनुमति माग गरेका थियौं,’ उनले भने, ‘त्यतिको अनुमति दिए उत्पादन गर्ने कम्पनीले नेपालका लागि छुट्टै औषधिको ब्याच बनाउँथ्यो। र, सहजै पाइन्थ्यो। २ हजार माग गर्दा अरूलाई उत्पादन गरेकोबाट कटाएर दिनुपर्ने भएकाले समस्या हुन्छ।’ 
विभागले तीनवटा फर्मलाई २ हजार भाएलका दरले ल्याउन अनुमति दिएको छ। जम्मा ६ हजार भाएलले एक बिरामी बराबर ६ पटक प्रयोग गर्दा १ हजार जनालाई मात्र पुग्छ। अघिल्लो पटक पनि ६ हजार भाएल मात्र खरिद गर्न अनुमति दिइएको थियो। 

के हो रेम्डेसिभर ? 
रेम्डेसिभर ‘एन्टी भाइरस’ औषधि हो। विश्वमा कोभिडविरुद्ध यो औषधि प्रयोगकै चरणमा छ।  डब्लूएचओले पनि यसलाई परीक्षणका रूपमा राखेको छ। यसको केही  ट्रायल पनि राम्रो देखिएको विज्ञहरूले बताएका थिए। तर, भर्खरै डब्लूएचओले धेरै प्रभावकारी भने नभएको रिपोर्ट दिएको  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडिन डा. जगदीशप्रसाद अग्रवालले बताए। तर, विश्वभर अन्य औषधिको विकास नहुँदा यही औषधिको  प्रयोग भइरहेको छ। डा.  अग्रवाल नेपालमा यसको प्रयोगको कमी भएको बताउँछन्। 

डा. अग्रवालका अनुसार निमोनिया हुँदासम्म यसले काम गर्छ। त्यसैले निमोनिया हुनुअगावै यसको प्रयोग भएमा बिरामीको अवस्था राम्रो बन्न सक्ने उनले बताए। पोजिटिभ आउनेबित्तिकै दिए बिरामीलाई सहज हुने उनले बताए।  

रेम्डेसिभरको समयमै प्रयोगले मृत्युदरमा पनि कमी ल्याउन सक्ने भएकाले सबै बिरामीले उपयोग गर्न पाउनुपर्ने उनको भनाइ छ। ‘यो औषधि सबै बिरामीले प्रयोग गर्न पाउनुपर्ने हो,’ उनले भने, ‘तर नेपालमा अभाव छ। संक्रमण वृद्धि भइरहेको अवस्थामा औषधि  आयात गर्न निश्चित मात्रा तोकिनु हुँदैन। क्वालिटीको औषधि ल्याउने तर पर्याप्त ल्याउन विभागले अनुमति दिनुपर्छ।’ यसको धेरै प्रयोग गर्न सकिए मृत्युदरमा कमी ल्याउन सकिने उनले बताए। 

अहिले संसारभर यो औषधि ट्रायलमै भएकाले यसको आयात निश्चित गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘यो कोरोनाकै औषधि भनेर प्रमाणित भइसकेको छैन,’ उनले भने, ‘परीक्षणका लागि हामीले निश्चित मात्रामा मगाएका हौँ। धेरैलाई औषधि नै यही हो भन्ने लागेको छ। तर, होइन।’ 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले अध्ययन गरेर यो कोरोनाकै औषधि हो भनेर प्रमाणित गरेपछि मात्रै निर्धक्क प्रयोग गर्न सकिने उनले बताए। ‘एनएचआरसीले औषधिको रूपमा प्रयोग गर्न नभनेसम्म हामीले अध्ययनकै रूपमा प्रयोग गर्ने हो। अहिले प्रयोग भइरहेको सबै अध्ययनकै रूपमा जान्छ,’ डा. अधिकारीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.