भारतीय व्यापारी बसेको अपार्टमेन्टको फ्ल्याटमा २३ किलो सुन
वीरगन्ज : भन्सार क्लियरिङ एजेन्टको काम गर्ने एक भारतीय व्यापारीको वीरगन्जस्थित कोठाबाट शनिबार प्रहरीले २३ किलो भन्दा बढी सुन बरामद गरेको छ।
वीरगन्ज महानगरपालिका–५ स्थित रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट प्रहरीले २२ किलो पाँच सय ७६ ग्राम सुनको बिस्कुट, सोसँगै रहेको ६ सय ८१ ग्राम सुनको गहना र २ किलो २ सय ६२ ग्राम चाँदीका भाडा बरामद गरेको हो। बरामद गरिएको सुनको बजार मुल्य १८ करोड ९२ लाख रहेको छ।
सुन बरामद गरिएको फ्ल्याट भारतीय व्यवसायी अशोक सिंहाको हो। सिंहा भारतबाट नेपाल भित्रिने सामानको भन्सार क्लियरिङ एजेन्ट हुन्।
उनी गणेश अपार्टमेन्टको तेस्रो तल्लामा रहेको ३०३ नम्बर फ्ल्याट लिएर बस्दै आएका थिए। उनकै फ्ल्याटभित्र दराजमा सजाएर राखेको अवस्थामा प्रहरीले सुन र चाँदी बरामद गरेको हो।
सिंहाको फ्ल्याटमा सुन रहेको सूचना प्रहरीले केहीदिन अघिनै पाएको थियो। सूचनाको आधारमा निगरानी बढाइरहेको प्रहरीले शनिबार दिउँसो खानतलासी गरेको हो।
सिंहाको फ्ल्याट खानतलासी गर्न प्रर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वमा प्रहरी टोली गणेश अपार्टमेन्ट पुगेको थियो।
प्रहरीले शुक्रबार रातिनै सिंहाको फ्ल्याटमा छापामार गर्ने तयारी गरेको थियो। तर राति अबेरसम्म सिंहा कोठामा नआएपछि प्रहरी रोकिन पुगेको हो।
रातिनै अपार्टमेन्ट क्षेत्रलाई निगरानीमा राखेर प्रहरीले सिंहा कोठामा आउने प्रतिक्षा गरिरहेको थियो। सिंहा राति नआएपछि प्रहरीले दिउँसो जनप्रतिनिधि र स्थानीयको रोहबरमा कोठा खानतलासी गरेको हो।
सिंहाको कोठाबाट प्रहरीले एक किलो वजनको १३ थान सुन १३ केजी, आठ केजी ७ सय ७६ ग्रामको ४६ थान, एक सय ग्रामको १० थान सुन एक केजी, सुनको गहना ६ सय ८१ ग्राम, र २ केजी २ सय ६२ ग्रामको चाँदीको गहनासहित भाडा बरामद गरेको हो।
सुन बरामद गरेको केही घण्टामै प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो।
पत्रकार सम्मेलनमा प्रहरी प्रमुख पन्तले सुनको विषयमा सूचना प्राप्त भएपछि छापा मारेको बताइन्। उनका अनुसार ठूलो मात्रामा बरामद गरिएको सुन वैध रहेननरहेको खुलाउने आवश्यक कागजपत्र छैन्।
‘सुनको विषयमा सूचना पाएपछि हामीले केही दिन निगरानी गरेर खानतलासी गरेका हौँ’, पन्तले भनिन् ‘ठूलो मात्रामा भेटिएको सुन वैध रहेको प्रमाणित हुने आधार अझै भेटिएन। हामी अनुसन्धान गर्दैछौ। ’
सिंहा भारतीय जनता पार्टीबाट विधानसभाको उम्मेदवार बनेका प्रमोदकुमारका दाइ हुन्। प्रमोद रक्सौलबाट चुनाव लडिरहेका छन्।
रक्सौलमा आगामी नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुँदैछ। पूर्र्वी चम्पारण हरैया रक्सौल निवासी सिंहा वीरगन्जमा कोठा लिएर बस्ने गरेका थिए। कारोवारकै सिलसिलामा उनी वीरगन्ज–रक्सौल आउनेजाने गर्थे।