कर्णालीको विवाद पार्टीले टुंग्याउने प्रधानमन्त्रीको आश्वासन
सुर्खेत : कर्णालीमा सत्तारुढ नेकपाभित्र देखिएको विवाद पार्टीले नै टुंगो लगाउने भएकोछ। पार्टीका दुई अध्यक्षको निर्देशनमा काठमाडौंमा रहेका कर्णालीका नेतालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो आश्वासन दिएका हुन्। प्रधानमन्त्रीले शनिबार बालुवाटारमा बोलाएर कर्णालीका नेतालाई यस्तो बताएका हुन्।
कर्णालीमा नेकपाका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। संसदीय दलमा उक्त प्रस्ताव दर्ता भएसँगै नेकपा कर्णालीको विवाद उत्कर्षमा पुगेको छ। प्रदेशमा दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि नेकपाले कर्णालीका नेतालाई काठमाडौं बोलाएको हो। त्यहीक्रममा काठमाडौंमा रहेका नेताले शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
दुबै पक्षका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले केहीदिन भित्रमा नै दुई अध्यक्षले छलफल गरेर विवादबारे निर्णय लिने बताएको भेटमा सहभागी नेताहरुको भनाइ छ। भेटमा सहभागी नेता यामलाल कँडेलले भने,‘हामीले अविश्वासको प्रस्ताव दर्ता गर्नुको कारणबारे प्रधानमन्त्रीलाई जानकारी गरायौं, दुबै पक्षले राखेका विषय प्रधानमन्त्रीले गम्भिर भएर सुन्नुभयो। पार्टीले छलफल गरेर विवाद टुंगो लगाउने प्रधानमन्त्रीबाट जानकारी भएको छ, निर्णय नहुँदासम्म हामीलाई काठमाडौं नछोड्नु पनि उहाँको निर्देशन छ।’
भेटमा मुख्यमन्त्री शाहीले भने आफूविरुद्धको प्रस्तावबारे केही बोलेनन्। बरु सरकारले गरेका कामबारे जानकारी गराउँदै मुख्यमन्त्रीले अब पार्टीले गर्ने निर्णय नै आफूहरु मान्न तयार रहेको बताएका थिए।
असन्तुष्ट पक्षले प्रदेश सरकारका कमजोरीबारे जानकारी गराएको र मुख्यमन्त्रीले सरकारले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी गराएको नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्माले बताए।
उनले भने,‘दुबै पक्षले आफ्ना कुरा राख्नुभयो, दुबै पक्षमा कुरा सुनेपछि प्रधानमन्त्रीले एकदुई दिनभित्र पार्टीले निर्णय लिन्छ भन्नुभयो। पार्टीले गर्ने निर्णय नै मान्नुपर्ने प्रधानमन्त्रीको निष्कर्ष थियो, त्यसपछि हामी त्यहाँबाट निस्कियौं।’
दुबै पक्षका कुरा सुनेपछि प्रधानमन्त्रीले फरक मत र विचार राखेकै कारण नेकपामा कोही पनि असुरक्षित नहुने बताएका थिए। प्रधानमन्त्रीसँगको भेटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीका प्रदेश सहइन्चार्ज यामलाल कँडेल, आर्थिक मन्त्री प्रकाश ज्वाला, प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सांसद गुलावजंग शाह र चन्द्रबहादुर शाही सहभागी थिए।
यस्तै उक्त छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। यसअघि दुई पक्षले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटेका थिए। नेताहरुका अनुसार अब दुई अध्यक्षले छलफल गरेर कर्णालीबारे निर्णय लिनेछन्। पार्टीले गर्ने निर्णय अनुसार नै आफूहरु अगाडि बढ्ने दुबै पक्षका नेताहरुले बताएका छन्।
सांसद गुलावजंग शाहले भने,‘हामीले पदका लागि अविश्वासको प्रस्ताव ल्याएका होइनौं, कर्णालीमा धेरै समस्या छन्। यही बारेमा हामीले केन्द्रलाई अवगत गराएका छौं। केन्द्रले बल्ल कर्णालीको समस्या सुनेको छ।’ उनले अब पार्टीले समस्या समाधानका लागि गर्ने निर्णय बमोजिम नै आफू अगाडि बढ्ने बताए।