किताबको मौसम

किताबको मौसम

जब हिलो सुकेर माटो बाफिन थाल्छ, बगैंचामा फूल फुल्ने तँछाडमछाड हुन्छ, अनि हामी किताब किन्न थाल्छौं। कम्तीमा एक दशकयता हाम्रो पठनशैली र पुस्तकको बजार यसरी नै शरद ऋतुमा मखमलीझैं मौलाउन थालेको छ। उहिले—उहिले दसैंमा लुगाफाटो, घडी, चस्मा, जुत्ता किन्नेलाई आजकल केही थान किताब पनि किन्ने बानी परेको छ। ‘दसैं सपिङ’को सूचीमा ज्ञानको गहना पनि थपिएको छ। 

‘दसैंमा एक त, लामो बिदा हुन्छ। त्यसमाथि दसैं भत्ता पाइने भएकाले क्रयशक्ति पनि बढ्छ,’ दसैंमा किताब किन्ने संस्कृतिको विकास हुँदै जानुको कारण खोतल्छन् फाइन प्रिन्टका निरज भारी। धेरै किसिमका आर्थिक दायित्व दसैंमै व्यहोर्नुपर्ने हुँदा प्रकाशकले पनि यस पर्वलाई साँचेर किताब राख्ने चलन बढ्न थालेको छ। छिमेकी भारतमा राम्रा सिनेमा दिवालीका लागि साँचिएजस्तै नेपालमा पनि राम्रा र विकाउ किताब दसैंको समयमा प्रकाशन गर्न थालिएको छ। 

दुई महिनामा नेपाली प्रकाशकले दुई दर्जनभन्दा बढी नयाँ किताब प्रकाशन गरेका छन्। ‘हाम्रो बजारका लागि यो सामान्यभन्दा बढी नै हो’, प्रकाशक भारी भन्छन्। उनले बजारमा एकसाथ धेरै किताब आएकाले मनीषा कोइरालाको ‘जिजिविषा’ र जीवा लामिछानेको यात्रा संस्मरण ‘देशदेशावर’ किताब छापिसकेर पनि सार्वजनिक नगरेको बताए।  फाइन प्रिन्टले मात्रै यो दसैंलाई लक्ष्य गरेर पाँच वटा पुस्तक बजारमा ल्याइसकेको छ। पत्रकार विजयकुमार पाण्डेको संस्मरणात्मक कृति ‘सम्बन्धहरू’, अर्थशास्त्री विश्वम्भर प्याकुरेलको ‘आफैंलाई खोज्दा’, फ्रान्स निवासी पत्रकार दधि सापकोटाको ‘वनको वैभव’, कलाकार मनोजबाबु मिश्रको निबन्ध संग्रह ‘एकलानुभूति’ र असिम सागरको कवितासंग्रह ‘क’ यही मौकामा आएको छ। किताब पब्लिसर्सले केशव दाहालको ‘मोक्षभूमि’ उपन्यास प्रकाशनमा ल्याएको छ। नेपालयले बन्दाबन्दी खुकुलो हुनासाथ भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ बजारमा पु¥याइसकेको थियो। 

बुक हिलले दसैंको मुखमा चारवटा अनुवाद कृति एकसाथ बजारमा ल्याएको छ। नोबेल पुरस्कार विजेता जोन स्टेनबेकको आख्यान ‘अm् माइस एन्ड मेन’ लाई गनेस पौडेलले अनुवादमा ‘मुसा मानुष’ बनाएर बजारमा ल्याएको छ। नौ दशकअघि ४३ महिनासम्म चलेको महामन्दी (ग्रेट डिप्रेसन) पछि कृषि मजदुरको कथा समेटिएको यो पुस्तक अहिलेको महामन्दीमा सान्दर्भिक हुन सक्छ। भारतीय मानवशास्त्री इरावती कर्बेले महाभारतको कथामाथि लेखेको पुस्तक ‘युगान्त’ को अनुवाद सुजित मैनालीले गरिरहेका छन्। ११ वटा दार्शनिक निबन्धको अनुवाद गरेर खगेन्द्र संग्रौलाले ‘सत्ता र सत्य’ बजारमा ल्याइसकेका छन्। पछिल्लो समय अन्य प्रकाशन गृहले पनि अनुवादित कृतिको संख्या बढाएका छन्। बुक हिलका भूपेन्द्र खड्का भन्छन्, ‘अंग्रेजीमा सबैको पकड पुग्दैन। नेपालीमात्रै पढेर ज्ञानको दायरा बढाउन मुस्किल छ।’ यही असमाञ्जस्यलाई चिर्न उत्कृष्ट विदेशी कृतिको अनुवाद गर्ने मध्यमार्गी बाटो समातिएको उनी बताउँछन्। 

फक्रिँदै बजार

हाम्रो मुलुक किताबको बजारका लागि ठूलो होइन। ‘पहिलेपहिले त सीमित साहित्यकारले मात्रै किताब लेख्थे। पढ्न जान्नेहरू पनि थिएनन्’, फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत भारी थप्छन्। अहिले विस्तारै बजार फराकिलो हुँदै गएको उनको अनुभव छ। आजकल किताब लेख्न साहित्यकार हुनु पर्दैन। जीवनी वा आत्मवृत्तान्तदेखि गैरआख्यानका किताब लेख्ने चलन बढेको छ। सेनाका जनरलदेखि सेलिब्रेटीसम्मका किताब छापिन थालेकाले पाठकका लागि छनोट र दायरा दुवै बढेको भारी बताउँछन्। 

सँगसँगै शिक्षित वर्गको बढोत्तरीले पठन संस्कृतिको विकासमा सघाउ पुगेको प्रकाशकको अनुभव छ। ‘केही वर्ष अघिसम्म एक–दुई हजार थान किताब छापेर पनि बेच्न गाह्रो थियो, अहिले पाँच–सात हजार थान बिक्नु सामान्य भइसकेको छ’, भारी भन्छन्। 

यद्यपि, अझै पनि नेपालमा साहित्यिक पुस्तकको बजार वार्षिक १० करोड रुपैयाँ नाघ्न सकेको छैन। यो विश्व बजारका लागि नगन्य हो। सन् २०१९ मा विश्वभर १ सय २८ अर्ब डलर (करिब १ सय ५० खर्ब रुपैयाँ) को किताब बिक्री भएको थियो। पुस्तक प्रकाशनमा पनि हामी निकै पछाडि छौं। संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) ले सात वर्षअघि पुस्तक प्रकाशन गर्ने संसारका १ सय २३ मुलुकको सूची सार्वजनिक गर्दा नेपालको नामोनिसाना नै थिएन। 

युनेस्कोले त्यसबखत विश्वभरमा हरेक वर्ष २२ लाख हाराहारी नयाँ किताब प्रकाशन हुने अनुमान सार्वजनिक गरेको थियो। पछिल्ला वर्षमा चीन र अमेरिकाले मात्रै संसारमा झन्डै आधाजसो किताब छपाइ गर्ने गरेका छन्। इन्टरनेसनल पब्लिसर्स एसोसिएसनका अनुसार सन् २०१५ मा बढी किताब उत्पादन गर्ने २५ मुलुकमध्ये चीनले मात्रै २८ प्रतिशत र अमेरिकाले २० प्रतिशत किताब छापेको उल्लेख थियो। उक्त सूचीमा बेलायत, फ्रान्स, जर्मनी, ब्राजिल, जापान, स्पेन, इटलीजस्ता मुलुक बढी किताब उत्पादन गर्नेमध्येमा छन्। रुस, इरान, टर्की र भारत पनि बढी किताब छाप्ने मुलुकमै पर्छन्। 

सन् २०११ मा सार्वजनिक भएको ‘वल्र्ड कल्चर स्कोर इन्डेक्स’ले किताब पढ्नमा भने संसारमै भारतीयलाई अब्बल ठह¥याएको थियो। भारतीय सातामा औसत पौने ११ घण्टा किताब पढ्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ। त्यसपछि थाइल्यान्ड, चीन, फिलिपिन्स, इजिप्ट, चेक रिपब्लिक, रुस, स्विडेन र फ्रान्सलाई पनि उक्त प्रतिवेदनले पढन्ते धेरै भएका मुलुकमा समेटेको छ। यस्ता प्रतिवेदनले नेपाललाई नसमेटेको भए पनि यहाँका प्रकाशक नै नेपालमा पठन संस्कृति निकै कमजोर भएको बताउँछन्। माओवादी सशस्त्र द्वन्द्व व्यवस्थापनपछि गाउँगाउँमा खुलेका उच्च माध्यमिक विद्यालय र कलेजको पढाइले पछिल्ला वर्षमा नेपालमा पठन संस्कृतिको विकास गर्न सघाउ पु¥याएको धेरैको बुझाइ छ। त्यसो त, नेपालीहरू विदेशमा अध्ययन र रोजगारीका लागि जान थालेपछि पढ्ने लत र किताब किन्ने सामथ्र्य एकसाथ विकास भएको देखिन्छ। 

कोरोनाको क्रन्दन

कोरोना भाइरसको विश्वव्यापी महामारीले भने समाजका अरू क्षेत्रमाजस्तै विस्तारै बढेको किताबको बजारलाई असर पारेको प्रकाशकहरू बताउँछन्। लामो सयमसम्म घरभित्रै थुनिएर बस्नुपर्दा सिर्जनशील व्यक्ति किताब लेख्न थाले पनि बिक्री भने घटेको उनीहरूले बताए। अहिले धेरै किताब एकसाथ बजारमा आए पनि सामान्य अवस्थामा ४–५ हजारप्रति बिक्री हुने पुस्तक यो बेला एक हजार पनि बेच्न नसकेको भुवन बताउँछन्। 

‘हाम्रा पाठक कोठाभाडा तिर्न नसकेर आहत छन्। कति त सरसामान बोकेर गाउँ फर्किसके’, भुवन भन्छन्। मानिसहरू गाँसबासको जोहो गर्नै कठिन पर्ने अवस्था आएकाले यो वर्षको दसैंमा पनि पुस्तकको बजार अघिल्ला वर्षमा जस्तो नबढेको उनी बताउँछन्। 

त्यसो त, संसारभर नै पुस्तक बजार यो वर्ष ओरालो लागेको छ। सन् २०२० को पहिलो ६ महिनामा नै विश्वव्यापी पुस्तक बिक्री ८ प्रतिशत घटिसकेको विवरणहरू आएका थिए। अहिलेसम्म आउँदा यो अन्तर निकै बढिसकेको अनुमान गर्न सकिन्छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीले पुस्तकको बिक्री पोहोरसालकै हाराहारी पुग्न पनि अझै कम्तीमा दुई वर्ष कुर्नुपर्ने उल्लेख गरेका छन्। 

नेपालमा अहिले पनि अभौतिक पुस्तक किनबेच गर्ने प्रणाली सुव्यवस्थित भइसकेको छैन। यसले किताबको बजारलाई केही हदसम्म बलियो बनाएको छ। ‘विदेशतिर किताब, ई–बुक र अडियो बुक (सुन्ने किताब) तीनवटै माध्यमबाट एकसाथ सार्वजनिक गर्ने प्रचलन आएको छ’, भुवन भन्छन्, ‘नेपालमा त्यस्तो प्रणाली विकास भइसकेको छैन। तर, हामी त्यसका लागि तयारी गरिरहेका छौं।’ 

यद्यपि, ई–कमर्सको रूपमा अनलाइनबाट खरिद आदेश गरेर किताब किन्ने प्रवृत्ति भने नेपालमा पनि बढ्न थालेको छ। यसले पुस्तक पसल समस्यामा पर्ने भन्दै कतिपयले पुस्तक पसल र लाइब्रेरीलाई राज्यले संरक्षण दिनुपर्ने बताउँदै आएका छन्। सरकारले भने सार्वजनिक पुस्तकालयको विकास गर्ने कुरालाई बजेटमा समेटेको छ। तर, पुस्तक पसलमाथि कर थपेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.