सदरमुकाममै पार्किङ समस्या
डडेल्धुरा : जिल्ला सदरमुकाम बागबजारमा सवारीसाधन पार्किङ गर्ने व्यवस्था नहँदा समस्या भएको छ। सदरमुकामको साँघुरो सडक र सडकमै गाडी पार्किङ गर्नाले पैदल यात्रुका साथै सवारी पास गर्नसमेत समस्या हुने गरेको छ। क्षमताभन्दा कम सवारीसाधन अटाउने बसपार्क बनेको पनि दुई दशकभन्दा बढी भइसकेको स्थानीय कपडा व्यवसायी गणेश भट्टले जानकारी दिए।
उनलका अनुसार बसपार्क निर्माण गर्न अमरगढी ८ डकलेमा काम पनि सुरु गरिएको थियो। अहिले उताको काम पनि ठप्प छ यता गाडी अटाउने क्षमता नै कम हो। ३० देखि ४० सवारीसाधनका लागि निर्माण गरिएको बसपार्कमा अहिले दैनिक एक सयभन्दा बढी गाडी पार्किङ हुने गर्दछन्।
बसपार्कमा ठाउँ नपाउँदा मुख्य राजमार्गमा नै गाडी पार्किङ गर्नुपर्ने बाध्यता छ। यसले सदरमुकाम अस्तव्यस्त देखिन्छ। सरकारले नमुना सहर बनाउने घोषणा गरेको तोफानडाँडासम्म पुग्न बागबजारबाट भण्डै आधा घण्टा लाग्छ। बजारको जाम, साँघुरोबाटो र पार्किङ समस्याले डेढ किलोमिटरभन्दा पनि कम दूरी रहेको बागवजार तोफानडाँडा सडकखण्ड पास गर्न आधाघण्टा बढी समयलाग्ने गरेको भाटको भनाइ छ। व्यवस्थित पार्किङ नहुँदा सवारीसाधन पार्किङमा निकै समस्या छ। यसले सर्वसाधारणलाई समेत सास्ती भोग्नु परिरहेको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका बागबजार क्षेत्रलगायत क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो।
सदरमुकाम बागबजारमा रहेकोे बसपार्क सानो छ। सानो भएकै कारण सवारी पार्किङ गर्दा ठाउँ नै हँुदैन। बजार क्षेत्रमा पार्किङ गर्ने ठाउँ पनि छैन। बजारमा जथाभावी रोकिएका सवारीका कारण पैदल यात्रुलाई झन समस्या हुने गरेको यातायात व्यवसायीको गुनासो छ।
दैनिक सयांै सवारी चल्ने साँघुरो सडकका कारण दुर्घटनाको जोखिमसमेत छ। बजार क्षेत्रमा जथाभावी निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने, विभिन्न वहानामा सवारी पार्किङ गर्ने गरेकाले दैनिक जसो सवारीसाधनको जाम लाग्छ। यसले दुर्घटनाको जोखिम बढेको छ।
प्रतिक्रिया दिनुहोस !