अमेरिकी चुनावमा विश्वको प्रतिक्रिया के छ ?
अमेरिकी राष्ट्रपतीय निर्वाचनले विश्वको ध्यान तान्ने गर्छ जुन चुनावका विजेताले विश्वमञ्चमा एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्छन् । खासमा अमेरिकी नागरिकहरूले हरेक चार वर्षमा लिने निर्णयले देशको परराष्ट्र नीतिमा परिवर्तन ल्याउन सक्छ र त्यसले अरू देशप्रति लिइने नीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यहीँ भएर ह्वाइट हाउसमा पुग्न हाल जारी कडा प्रतिस्पर्धालाई सारा विश्वले नजिकबाट नियालिरहेको छ।
अहिलेसम्म विश्वभरिका सञ्चारमाध्यममार्फत् जनाइएका प्रतिक्रियालाई यहाँ समेटेका छन्।
चीन
लामो समयदेखिका प्रतिद्वन्द्वी एवम् दुई ठूला आर्थिक शक्ति अमेरिका र चीनबीचको सम्बन्ध अहिले एकदमै चिसिएको छ । र, राष्ट्रपति पदका दुवै उम्मेदवारले चीनसमक्ष कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्। यस कारण चिनियाँ सञ्चारमाध्यमले 'विभाजन निम्त्याउने, तनावपूर्ण र अस्तव्यस्त चुनाव तनाव, आरोपप्रत्यारोप र पैसाको राजीनितिबाट दूषित बनेको' लेखेका छन् जुन आश्चर्यलाग्दो नहुन सक्छ ।
'थुप्रै सञ्चारमाध्यम र मानिसहरूले यदि चुनाव विवादित बनेमा त्यसले अस्तव्यस्तता र सामाजिक तनाव निम्त्याउन सक्छ भनेका छन्,' चिनियाँ सरकारी समाचारसंस्था सिन्हुआले मङ्गलवार लेखेको छ। सरकारी टेलिभिजन सीसीटीभीले निर्वाचनपछि हुन सक्ने हिंसामा केन्द्रित एउटा भिडिओ रिपोर्ट प्रसारण गरेको छ ।
ल्याटिन अमेरिका
ल्याटिन अमेरिकी सञ्चारमाध्यमले फ्लोरिडामा डोनल्ड ट्रम्पको सफलतालाई लिएर खास चर्चा गरेका छन् जहाँ ल्याटिनो मतदाताको समर्थनले उनलाई सघाउ पुगेको भनेका छन्।
'फ्लोरिडामा ट्रम्पको जित हुँदा डेमोक्र्याटिक पार्टीको विजयको सम्भावनामा तुषारापात भएको छ,' ब्राजिलको अग्रणी दैनिक पत्रिका फोल्हा डे साओ पावलोले यो शीर्षकमा समाचार लेखेको छ। भेनेजुएलाली, क्युबाली ल्याटिनो र इभानजेलिकलहरूको मतले वर्तमान राष्ट्रपतिलाई सघाउ पुगेको छ,' उसले अगाडि लेखेको छ। यो क्षेत्रका टिप्पणीकारहरूले पनि ट्रम्प विजयी हुने सङ्केत दिइरहेका छन्।
युरोप
रुसमा त्यहाँको सरकारी टेलिभिजन रसिया २४ ले अमेरिकी चुनावको विषयलाई व्यापक स्थान दिइरहेको छ। सन् २०१६ को राष्ट्रपतीय चुनावमा ट्रम्पलाई जिताउन मस्कोले साठगाँठ गरेको आरोप लागेको थियो जसलाई रुसले निरन्तर अस्वीकार गर्दै आएको छ। युरोपकै विभिन्न पत्रपत्रिकाले कडा प्रतिस्पर्धा र नतिजालाई लिएर देखिएको अनिश्चितताबारे समाचार शीर्षक बनाएका छन्।
'जो बाइडन सजिलै जित्लान् भन्ने अनुमान गरेका धेरै पर्यवेक्षकले अहिले सोधिरहेका छन्, के ट्रम्पको सम्भावना अझै छ,' जर्मन पत्रिका बिल्डले लेखेको छ।
फ्रान्सको इन्टर न्यूजले लेखेको छ, 'लडाइँ सोचेभन्दा कडा छ, डेमोक्र्याटिक तरङ्ग देखिएको छैन।'
मध्यपूर्व
मध्यपूर्वका समाचारहरूमा अमेरिकाको चुनावी नतिजाको अनिश्चितताको विषयले स्थान पाएको छ । साउदी अरेबियाको आर्थिक सहयोग रहेको अल अरेबिया टेलिभिजनले त्यहीँ आशयको समाचार दिएको छ।
इजिप्टका पत्रिकाहरूले भने अमेरिकामा ऐतिहासिक सङ्ख्यामा मत खसेको विषयलाई प्राथमिकता दिएका छन्। चुनावी नतिजा आउन थालेपछि इरानको प्रेस टीभीले पूर्वनिर्धारित समाचार बुलेटिनहरू हटाएर अमेरिकी चुनावको विषयलाई विशेष स्थान दिन थाल्यो।
प्रतिक्रिया दिनुहोस !