कृषिमा युवा
धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका—१ का विष्णुहरि उप्रेती १७ वर्ष मलेसिया बसेर गत मंसिरमा घर फर्किए। आउने जाने क्रम चलिरहेके थियो, २–४ महिना घर बसेर फेरि विदेश जाने सोच बनाएका उनी लकडाउनका कारण यतै थुनिए। उता सोही गाउँका किसान गिरीले पनि टर्की जान भन्दै एजेन्टलाई ५० हजार बुझाइसकेका थिए। उनी पनि कोरोना महामारीले यतै रोकिए।
अब के गर्ने कसो गर्ने अन्योल भयो। महामारी र यसले बढाएको अन्योलतासँगै उनीलाई सोच आयो कि अब देशमै केही गर्नुपर्छ। यी दुईसँग सहकार्य गर्न सोही ठाउँकै अरू दुई युवा ईश्वर कँडेल र हरिचन्द्र गिरी पनि तयार भएपछि सुरु भयो नागेश्वर कृषि तथा पशुपन्छी फर्म।
बाँझै बसिरहेको ६० रोपनी जमिन भाडामा लिएर ४ जनाको १ करोड लगानीमा सुरु भएको व्यावसायिक कृषि फर्म अहिले नमुना बन्न थालेको छ। लगानीकर्तामध्ये एक इश्वर कँडेलले भने, ‘कोरोनाले पाइराखेको जागिर पनि गुम्यो, अरू साथी कोही विदेश नै फर्किने सोचमा हुनुहुन्थ्यो, कोरोना महामारीले जान पाउनु भएन, एक दिन कुरैकुरामा नयाँ केही काम गर्ने सोच आयो र काम सुरु गरियो।’
अहिले उनीहरूले ३७ वटा भैंसी पालेका छन्। २० हजार माछाको भुरा हाल्ने तयारी छ। ३ रोपनीमा लसुन खेती, १० रोपनीमा आलु, टनेलमा ५ सय बोट गोलभेंडा, अकबरे खुर्सानी र डल्ले खुर्सानीको खेती सुरु गरेका छन्। आगामी सिजनका लागि २५ हजार प्याजका बेर्ना उत्पादन गर्ने लक्ष्य राखिएको कँडेलले बताए।
‘हाम्रो उद्देश्य भनेको सल्यानटारलाई दूधमा आत्मनिर्भर बनाउने हो’, अर्का साझेदार विष्णुहरि उप्रेतीले भने। उनीहरूमध्ये कँडेल २२ महिना इजरायलमा बसेर कृषि तालिम लिएर फर्किएका व्यक्ति हुन्। अहिले भर्खरै सुरु गरिएको भए पनि भविष्यमा दूध, फलफूल र माछामासुको बहुआयामिक कृषि फार्म बनाउने उद्देश्यका साथ काम गरिरहेको हरिचन्द्र गिरीले बताए।
अहिले फार्ममा ६ जनाले रोजगारी समेत पाएका छन्। ‘कोरोना महामारी नभएको भए सायद म विदेशमा हुन्थें होला।’ किसन गिरीले भने, ‘एकातिर महामारीको आतंक त छँदै छ अर्कोतिर महामारीले मलाई देशमै केही गर्ने वातावरण बनाइदियो।’
कृषि पेसामा भविष्य सोचेर हात हालेको भए पनि सरकारी निकायले भने कृषि पेसा र किसानलाई सम्मान गर्न नसकेको अनुभव सुरुमै भएको कँडेलले बताए। ‘म कृषि व्यवसायमा लाग्नु अगाडि नेपाल सरकारले कृषि पेसा अनि विदेशबाट फर्केर कृषिमा लाग्ने युवाका लागि राम्रो कार्यक्रम ल्याएको रहेछ भन्दै राज्यप्रति खुसी हुन्थे’, कँडेलले भने, ‘तर होइन रहेछ, यहाँ असली कृषकको खेत बारीमा सरकार पुग्दो रहेनछ। तर, पनि आँट गरिएको छ, एक दिन यो फार्मलाइ नमुना बनाउने योजना छ।’