१२ वर्षमै किरियापुत्री
मुगु : एक वर्षअघि बुवाको मृत्यु भयो। त्यही वर्ष हजुरआमालाई गुमाए। केही दिनअघि मात्र बाजेको पनि मृत्यु भयो। घरका अभिभावकको मृत्यु भएको र परिवारमा कोही नभएपछि छायानाथ रारा नगरपालिका–११ का युवराज कुमाल किरिया बसेका छन्।
उनी उमेरले १२ वर्षका भए। तैपनि, परिवारमा अरू किरिया बस्ने मान्छे नभएपछि उनी आफैं किरियापुत्री बसेका हुन्। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका आठ जनाको परिवारमा गत वर्ष मात्र उनका बुवा र हजुरआमाको मृत्यु भएको थियो। यसपालि बाजेको मृत्यु भयो। तर, बाजेको किरियापुत्री बस्ने परिवारमा कोही नभएपछि आफंै बस्न बाध्य भएको युवराजले बताए।
घरमा कमाइ गर्ने बुवा र हजुरबुवाको मृत्यु भएपछि युवराजसहित उनका तीन भाइबहिनीको जिम्मेवारी उनकी आमाको काँधमा आएको छ।
सम्पत्तिको नाममा भत्किन लागेको घर छ। २५ वर्षीया उनकी आमा सौमती कुमालले मजदुरी गरेर युवराजसहित अन्य तीन छोराछोरीलाई पालनपोषण गर्दै आएकी छन्। किरिया बस्दा खाने खानेकुरासमेत घरमा छैन।
छिमेकीले जेनतेन पु¥याए पनि यो परिवारको बिचल्ली रहेको मामा जेठबहादुर विकले बताए। परिवारलाई खानाको मात्रै समस्या होइन। चिसो छल्ने कपडासमेत छैन। घर भत्किनै लागेको छ। युवराजका मामा जेठबहादुरले बालबच्चाको शिक्षा र पालनपोषणमा सहयोग गरिदिन आग्रह गरे। छरछिमेकी र मामाघरकाले दैनिक मानापाथी सहयोग गर्दै नौ वर्षीया छोरी झरना, सात वर्षे छोरा विराज र काखे छोरालाई युवराजकी आमा सौमतीले पालनपोषण गर्दै आएकी छन्।
प्रतिक्रिया दिनुहोस !