पानीको मूल फुटेपछि सुकेको दहमा कमल फूल्न थाल्यो (भिडियो)
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका-४ पञ्चधुरा माइस्थान मन्दिर परिसरमा पानीको मुल फुटेको छ । एक दशकअघि मन्दिरमा रहेको दह सुकेको थियो । अहिले अच्चम लाग्दो तरिकाले मन्दिरबाटै पाँच महिनादेखि भलभल्ती निर्मल पानीको मुल बग्न थालेको पञ्चधुरा माई मन्दिर संरक्षण समितिका अध्यक्ष अकलबहादुर तामाङ्गले बताए ।
‘मन्दिर परिषरमा पाँच स्थानमा पानीको मुल फुटेको छ, 'उनले भने, 'एक ठाउँमा त पञ्चधुरा माईको एेतिहासिक मन्दिरबाटै पानी बगिरहेको छ।' मन्दिर नजिकै रहेको दहमा पानी जम्मा भएपछि हराएको कमलको फूल फुल्न थालेको छ ।
मन्दिरबाटै पानी बग्न थालेपछि हेर्नेको घुइँचो लाग्ने गरेको छ । पर्यटक मन्दिरमा आउन थालेका छन्। वनभोज खानेहरु पनि आउन थालेका छन्। 'बिहान कमलको फूल फुल्ने गरेको छ । मूल र फूल हेर्ने आन्तरिक पर्यटक बढ्दैछन्,' संरक्षण समितिका अध्यक्ष तामाङ्गले भने ।
_20201112140453.jpg)
चुरे क्षेत्रमा पञ्चधुरा माइस्थान पर्दछ । बढ्दै गरेको चुरे विनासले भूमिगत पानीको मूल हराएको चुरे विज्ञ डा. बिजय सिंहले बताए। पछिल्लो समय चुरे संरक्षणमा सबैको चासो बढ्दा चुरेमा सुकेका मूलमा पानी देखिएको उनले बताए ।
पञ्चधुरा माई मन्दिर मधेसको प्रसिद्ध देवी शक्तिपीठमा पर्दछ। पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास चोकबाट २ किलो मिटर पश्चिम उत्तरस्थित वनक्षेत्र छिचोलेर प्राचीन यो देवी शक्तिपीठ परिसरमा पुग्न सकिन्छ ।
करिब तीन बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरको पुरानो इनार मर्मत गरिएपछि अहिले पानीको राम्रो मूल फुटेको छ । स्थानीयले दहलाई सरसफाइ गरेर छठ पर्व मनाउन जुटेका छन् ।
_20201112140452.jpg)
देशभित्र र भारतको बिहार प्रान्तबाट बाक्लै दर्शनार्थी आउने मन्दिर परिसरमा रहेको खानेपानीको इनार सुकेको थियो। सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवास र डिभिजन वन कार्यालयले बैशाख महिनामा सुकेको इनारको उत्खन्न गरेपछि इनारमा पानीको मुल देखिएको थियो । त्यसपछि केही दिनमै मन्दिर परिषरकै दहमै पानी मूल देखिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले जनाए ।
माईस्थान मन्दिर परिसर वरिपरिका ५३ घरधुरी परिवार र मन्दिरमा आउने दर्शनार्थीको एक मात्र खानेपानीको स्रोत इनार सुक्दा निकै कठिन बनेको थियो । मञ्चले जीर्ण अवस्थाको इनार मर्मत गरेपछि अहिले पानीको राम्रो मूल भेटिएको पञ्चधुरा मन्दिरका पुजारी विनोद सिंह बताउँछन्।
_20201112140453.jpg)
'इनारमा राम्रो मूल भेट्टाइएपछि अब पानीबाट ढुक्क हुन पाइयोजस्तो लागेको छ,' पुजारी सिंहले भने, 'इनार खानेपानीको स्रोत मात्र नभएर मन्दिरको सौन्दर्यसँग समेत गाँसिएको छ ।'
पानीको मुल फेरि फर्किएपछि माईस्थानको जनजीवन नै फेरिएको छ । ‘इनार सुक्दा स्थानीय बासिन्दा र दर्शनार्थी नुहाइधुवाइ गर्न, पानी खान र सामान्य हातगोडा धुने गर्न पनि पाएका थिएनन्, 'स्थानीयसोम कार्कीले भने, 'अहिले मर्मत गरिँदा पानीको मूल राम्रो फुटेपछि कञ्चन (सफा) पानी निस्कन थालेको छ ।' दहमा पानी भरिएपछि जंगली जीव जन्तुलाई पनि पानीखान सजिलो भएको उनले जनाए।
_20201112140452.jpg)
प्रदेश—२ भरिकै मुख्य धार्मिकस्थलमा गनिएको पञ्चधुरा माई मन्दिर परिसर धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको ठाउँ मानिन्छ । यद्यपि यस ठाउँको विकासबारे तीनै तहका सरकार उदासीन देखिएको बर्दिवास–५ माइस्थानका अर्का सामाजिक तथा राजनीतिक कार्यकर्ता भोगेन्द्रराज पौडेलको गुनासो छ ।
_20201112140451.jpg)
_20201112140452.jpg)
_20201112140451.jpg)
प्रतिक्रिया दिनुहोस !