रगतको चर्को अभाव

रगतको चर्को अभाव

 काठमाडौं : नयाँबजारका सुमन तामाङ केही दिनअघि घरको भर्‍याङबाट लडे। शरीरमा गम्भीर चोट लाग्यो। उनलाई पिपुल्स अस्पताल नयाँबजारमा राखिएको छ। डाक्टरले आइतबार अपरेसन गर्ने भनेका छन्। त्यसका लागि परिवारले रगत जुटाउन सकिरहेको छैन।

‘ब्लड बैंक, रेडक्रस सबैतिर गइसकें’, उनका काका आकाश लामाले भने, ‘रगत कतै पनि पाइएको छैन। ब्लड बैंकमा पनि छैन भनेर फर्काए। आफ्नै डोनर (दाता) ल्याउनुहोस् भन्नुभयो। आफैं कहाँबाट ल्याउने ? कोभिडका कारण कोही पनि आउन मान्दैनन्।’ उनी रगतका लागि विभिन्न संस्थासँग गुहार मागिरहेका छन्।

काठमाडौंका राम थापा (नाम परिवर्तन) बिरामी भएर ओम अस्पतालमा भर्ना भएको दुई दिन भयो। उनलाई तत्काल प्याकसेल दिनुपर्ने भन्दै अस्पतालले ल्याउन भनेको छ। तर, ब्लड बैंकमा रगत पाइँदैन। परिवारका अन्य सदस्य पनि कोभिड भएका कारण घरमै आइसोलेसनमा छन्।

थापाका सहयोगी हरि खतिवडाले रगत खोज्दा कतै नपाइएको बताए। ‘काठमाडौं, ललितपुर सबैतिरको रेडक्रसमा पुगें तर रगत पाइएन’, उनले भने । उनले भने, ‘ब्लड बैंकमा गएँ, त्यहाँ पनि छैन। डोनर लिएर आउनु भन्नुहुन्छ। भन्नेबित्तिकै डोनर कहाँबाट ल्याउने ?’

उनले ब्लड बैंकका कर्मचारी गैरजिम्मेवार भएको गुनासो गरे। ‘खासमा ब्लड बैंक एकदमै गैरजिम्मेवार भएको देखेँ’, उनले आक्रोश पोख्दै भने, ‘सिधै छैन भन्नुहुन्छ। डोनेसन हुँदै छ आउँछ होला भन्ने आश्वासनसमेत पाइँदैन। कमसेकम गम्भीर अवस्थाका लागि त रगत खोज्न सहयोग गर्नुपर्छ नि ! त्यो पनि छैन।’ यद्यपि, नेपाल स्वयंसेवी रक्तदाता समाजले आवश्यक रगत जुटाइदिएको उनले बताए।

रगतका लागि भौंतारिने धेरै छन्। रगत अभावका कारण धेरै बिरामी छटपटाइरहेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले जिम्मेवार निकायका पदाधिकारीको लाचारीले रगत अभाव भएको बताए। ‘रगत अभाव हुनुमा मुख्य कारक जिम्मेवार पदाधीकारीको लाचारी हो’, कर्माचार्यले भने, ‘सम्बन्धित निकायले कम्तीमा रगत दिन डोनरहरूलाई उत्साहित गर्नु पर्दैन ? यस्तो संवेदनशील विषयमा केही पनि गरेको देखिँदैन।’ रक्तदातालाई आकर्षित गर्न नसक्नु ब्लड बैंक र अन्य जिम्मेवार निकायको कमजोरी भएको उनको ठम्याइ छ। उनका अनुसार लकडाउनको अवस्थामा माग कम भए पनि त्यसबेला रोकिएका अपरेसन धमाधम भइरहेकाले रगतको माग बढेको छ। यस्तो अवस्थामा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाई रक्तदान गराउनमा जिम्मेवार निकाय नलागे धेरैको ज्यान जोखिममा पर्ने उनको भनाइ छ।

ब्लड ट्रान्सफ्युजन सेन्टरकी निर्देशक मनिता राजकर्णिकारले रगत अभाव भएको स्विकारिन्। ‘अहिले रगतको अभाव नै छ’, उनले भनिन्, ‘मुख्य कुरा डोनरको अभाव छ। कोरोनाका कारण डोनेसन कार्यक्रम राख्न पनि गाह्रो भएको छ।’

सुरक्षा मापदण्ड अपनाएर भए पनि रक्तदान कार्यक्रमको तयारी गरिरहेको उनले बताइन्। उनका अनुसार अहिले अस्पतालमा लगेर प्रयोग नभएर फिर्ता भएका र दाता आफैं आएर दिएको रगतले केही मात्रामा पूर्ति भइरहेको छ।

रगत सधैं सहज रूपमा कसरी पाउन सकिन्छ भनेर सम्बन्धित निकायले छलफल गरेर अगाडि बढ्नुपर्ने कर्मचार्यको भनाइ छ। ‘सरकार, ब्लड बैंक र रेडक्रसले यसमा गम्भीर छलफल गरेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘कम्तीमा व्यवस्थापनको जिम्मेवारी लिए हामी आफैँ डोनर खोजेर क्याम्प राख्न सक्छौं। अहिले पनि हामी आफैँ लागेर रगत उपलब्ध गराइरहेका छौं। संस्थाले त अझ धेरै गर्न सक्छ। गर्नुपर्ने काम गररहेको छैन।’ संस्थाले चाहे यसरी रगत अभाव नहुने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.