अनाथ

अनाथ

ऊ जन्मिँदै अनाथ थियो। सायद अवैध पनि। अथवा अनिच्छित पनि। अनाथ चाहिँ पक्कै थियो किनभने उसका कोही थिएनन्, उसलाई आफ्नो भन्ने पनि। सडकमा, मान्छेहरूको भीडमा, जताततै ऊ नितान्त एक्लो थियो। 

संसारमा सबैभन्दा मायालु आमा हुन् भने सबैभन्दा निर्दयी पनि आमा नै हुन्। जो आफैंले नौ महिनासम्म गर्भमा हुर्काएर जन्माएको सन्तानलाई सडकमा फालेर हिँड्न सक्छिन्। यस्तो किन गर्छन् आमाहरू ? समाजलाई थाहा छ। तर समाज बोल्दैन। बोल्नु आवश्यक ठान्दैन। बरु हेरिरहन्छ चुपचाप।
आमा उसलाई सडकमै छोडेर फरार भएकी थिई। 

सहरको कोलाहलमा हराएकी थिई। बेपत्ता भएकी थिई। 

अपरिचित बनेर उसलाई हेर्न पनि आएकी थिइन। आएकै भए पनि चिन्ने थिएन उसले। पशुपतिनजिकैको सडकमा छाडिएको अनाथलाई पशुपतिनाथले पनि देखेन अथवा हेरेन। बरु एउटी गरिब आइमाईले उसलाई देखी र प्रेमपूर्वक उसलाई हेरी। पशुपतिकै प्रसाद सम्झेर त्यो आइमाईले त्यो अनाथ शिशुलाई काखमा लिई।

अब त्यो शिशु अनाथ रहेन। उसको साथमा त्यो गरिब आइमाई थिई। त्यो गरिब आइमाईको पनि कोही थिएन। सहरमा हराइसकेकी त्यो आइमाईले पनि त्यो शिशुको साथ पाई। त्यसैले आफूलाई भाग्यमानी ठानी। त्यो अनाथ शिशुले पनि त्यो आइमाईको साथ पायो। ऊ पनि भाग्यमानी भयो। त्यो गरिब आइमाईको झुपडी र शिशुको मुस्कानमा झलमल्ल घाम लाग्यो। उज्यालोमा सबै कुरा सुन्दर देखिन्छन्।

चीर हरणमात्रै भएको भए त त्यो आइमाई जसरी पनि आफ्नो झुपडीमा आइपुग्थी। प्राणै हरण भइसकेको आशंका छ किनभने सहरमा राक्षसको संख्या अचाक्ली बढेको छ।

झुपडीमा शिशु रोएको आवाज सुनेर वरिपरिका अग्ला घरका महिलाहरूका कान तिखा भए। एक्ली आइमाईको झुपडीमा शिशुको आवाज ? यो तिनीहरूको कल्पनाभन्दा बाहिरको कुरा थियो। एक्कासि शिशुको आवाज सुनेर तिनीहरूले अनेक अन्दाज लगाए। छिमेकीलाई अन्दाज गर्ने छुट छ। तिनीहरूले अनेक अन्दाज गरिरहे। त्यो आइमाईले शिशुको स्याहार गरिरही। शिशु हुर्किंदै गयो। तर ऊ नेपालको शिशु गणतन्त्रजस्तै भयो।

तर राम्रोसँग बढ्न सकेन। अर्थात् उसलाई त्यो आइमाईले राम्रोसँग हुर्काउनै जानिन। त्यसैले ऊ शिशु नै देखिइरह्यो। कुपोषणग्रस्त शिशु। हात, खुट्टा, आँखा, कान, नाक र बुद्धिको राम्रो विकास हुनै सकेन। एउटा कुराको चाहिँ अचम्मसित विकास भयो— मुख। अरूलाई छाडी मुखको मात्रै विकास हुँदा त्यो आइमाईलाई शिशु हुर्काउन निकै सकस भयो। यताउता गएर दिनभरि मागेको भीखले पनि उसलाई खुवाउन धौधौ भयो। नेपालको गणतन्त्रजस्तै। शिशुलाई हुर्काउनै गाह्रो पर्‍यो त्यो आइमाईलाई। दुःख नमानीकन शिशुलाई हुर्काउने र बढाउने कोसिस गरिरही। छिमेकका अग्ला घरबाट आउने कतिपय प्रहारलाई चुपचाप सहिरही।

जसोतसो त्यो शिशु हुर्किएर जवान भयो। जवान भए पनि निकै कमजोर थियो। सधैं अरूको सहायता चाहिने। अरूको सहायताबिना एकछिन पनि चल्न नसक्ने र एकछिन पनि अडिन नसक्ने, हाम्रो देशजस्तै। जसरी हाम्रो देश पनि राष्ट्रिय र बहुराष्ट्रिय दातृनिकायहरूको सहायताबिना फिटिक्कै चल्न सक्दैन। देश चलाउनेहरू बलिया छन् तर देश कमजोर छ ऊजस्तै। उसको दुर्भाग्य हेरियोस्। एक दिन त्यो आईमाई हराई। सहरमा भीख माग्न गएकी थिई। फर्केर आइन। सायद उसको चीर हरण भएको थियो। किनभने अचेल सहरमा दुशासनहरूको रजगज छ। सहरमा जताततै लुटेराहरूको बिगबिगी छ। कोही आइमाईको इज्जत लुट्नेहरू। कोही देशको वैभव लुट्नेहरू।

चीर हरणमात्रै भएको भए त त्यो आइमाई जसरी पनि आफ्नो झुपडीमा आइपुग्थी। प्राणै हरण भइसकेको आशंका छ किनभने सहरमा राक्षसको संख्या अचाक्ली बढेको छ। हरेक पल असुरक्षित आइमाईहरू आतङ्कित र भयभीत भएर बाँच्छन्। झुपडीमा ऊ एक्लै पर्‍यो, फेरि अनाथ भयो। अग्ला घरका मान्छेले उसको दुःख हेर्न सकेनन्। उसलाई मानव सेवा आश्रममा लगेर राखिदिए। अब ऊ अनाथ रहेन। अरू धेरै ऊजस्तै मान्छेहरू थिए आश्रममा।

आश्रममा गएपछि उसले आमालाई बिर्सियो। खोलो तरेपछि लौरोलाई बिर्सने मान्छेको स्वभावै हो। उसले उसका लागि आमाले गरेको दुःख बिर्सियो। आमाले सहेको सामाजिक लाञ्छनालाई पनि बिर्सियो। जन्म नदिए पनि उसकी आमाजस्तै थिई त्यो आइमाई। त्यो आश्रममा उसले दस वर्ष बितायो। एक पटक पनि आमालाई सम्झेन, आवश्यकता भएन सायद। तर दुर्भाग्यले पछ्याउन छोडेन उसलाई। दाताले सहयोग गर्न छोडेपछि त्यो आश्रम बन्द भयो।

आश्रम बन्द भएपछि आश्रममा आश्रय लिनेहरूलाई जहाँ–जहाँबाट ल्याइएको थियो, त्यहीँ–त्यहीँ पुर्‍याइयो। समयक्रममा ऊ फेरि आफ्नै झुपडीमा आइपुग्यो। झुपडी जस्ताको तस्तै थियो। झुपडीमा बस्ने आइमाई मात्रै फेरिएकी थिई। त्यो आइमाई उसकी आमाजस्तै थिइन। त्यो आइमाई भर्खरकी थिई। उसकै उमेरकी थिई। उसलाई ढुंगो खोज्दा देउता मिलेजस्तो भयो। उसले अब आमा होइन, साथी पायो। आफूजस्तै साथी पाएर त्यो आइमाई पनि खुसी भई। दुवै सँगै बस्न थाले। सँगै रहँदा बस्दा मन मिल्छ, प्रेम हुन्छ। अग्ला घरका मान्छे जोडीलाई लोभिएर हेर्न थाले। हैसियत जस्तोसुकै होस्। सबैभन्दा ठूलो त प्रेम रहेछ। उनीहरूको प्रेम उदाहरणीय बन्यो।

त्यो आइमाई शारीरिक रूपमा ऊभन्दा तन्दुरुस्त थिई। त्यसैले उसका लागि भरपर्दो सहारा पनि भई ऊ। एक दिन अचानक ऊ बिरामी पर्‍यो। उसलाई ज्वरो आयो। टाउको दुख्यो। छाती पनि दुख्यो। सास फेर्न पनि गाह्रो भयो। ऊ थला पर्‍यो। इन्तु न चिन्तु भयो। आइमाईलाई फसाद पर्‍यो। अब के गर्ने ? ‘औषधि किनेर ल्याउँछु’ भन्दै त्यो आइमाई बाहिर गई। भएभरका सबै पैसा बोकेर गएकी थिई। उसले बाटो हेरिरह्यो तर आइमाई फर्केर आइन। उसले औषधि पाएन। खान पनि पाएन। रोग र भोकले ऊ 
एक्लै छटपटाइरह्यो।

धेरै दिनदेखि झुपडी सुनसान भएको देखेर अग्ला घरमा बस्ने मान्छेलाई शंका लाग्यो। उनीहरू झुपडी आए। झुपडीको दैलोबाटै भित्र चियाए। ऊ ओछ्यानमा लम्पसार परेको थियो। उसको सास चलेको थिएन। कुनै हलचल पनि थिएन। तपस्यामा लीन तपस्वीजस्तो शान्त थियो उसको शरीर। रोग र भोकले मरिसकेको थियो ऊ। मान्छेहरूले अनुमान गरे— कोरोनाले होला। उसको नजिक कोही गएनन्, उठाउने चेष्टासम्म गरेनन्। सबैलाई आफ्नै ज्यानको माया लाग्यो। कोरोना सर्ला भनेर सबै डराए।

ऊ पुनः अनाथ भयो। उसको लास उठाउने पनि कोही भएन। जन्मिँदै अनाथ ऊ अनाथ भएर मर्‍यो। र मरेपछि पनि ऊ अनाथ भयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.