चिनियाँ रक्षामन्त्री  फेङहे आज आउँदै

चिनियाँ रक्षामन्त्री  फेङहे आज आउँदै

काठमाडौं : भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको आउजाउ भइरहेका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्। पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरूले यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। 

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक दिने नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको छ। नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भारतले आफूप्रति निरन्तर उठाएको चासोलाई सन्तुलनमा राख्न चिनियाँ राष्ट्रपति सी जिङफिङले रक्षामन्त्री फेङहेलाई नेपाल भ्रमणमा पठाएको विश्लेषकहरूले बताएका छन्। चिनियाँ रक्षामन्त्री फेङहेको भ्रमण रक्षा मामिलाभन्दा पनि बढी राजनीतिक केन्द्रित हुने देखिएको छ। तर, सबैभन्दा बढी समय रक्षामन्त्री फेङहेले जंगी अड्डामा बिताउने र नेपाली सेनासँगको स्थायी र बलियो सम्बन्ध रहेको सन्देश दिनेछन्। 

चिनियाँ रक्षामन्त्री फेङहेले प्रधानमन्त्री ओलीसँगको भेटमा नेकपाभित्र देखिएको मतभेदबारे समेत चासो राख्ने स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीसँगको भेटमा फेङहेले नेपाली सेनालाई गर्ने सहयोगबारे पनि छलफल गर्नेछन्। प्रधानमन्त्री ओलीले अहिले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका छन्। भेटमा नेपाल–चीनबीचको पछिल्लो सम्बन्ध, बेल्ट एन्ड रोड इनिसियटिभ, रक्षा सहायतालगायत विषयमा छलफल हुनेछ। चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष सन्देश लिएर आउन लागेका रक्षामन्त्री फेङहे र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीति, सुरक्षा मामिलाबारे समेत छलफल हुने स्रोतले बताएको छ। प्रधानमन्त्रीले एमसीसी परियोजना पास गर्ने रणनीति लिएपछि सशंकित बनेको चीनले आफ्नो पोजिसनबारे छलफल गर्ने स्रोतले बताएको छ। 

नेपालले एक चीन नीतिको सिद्धान्त अंगीकार गर्दै आएको छ। चीन नेपाली भूमि प्रयोग गरेर आफूविरुद्ध कुनै पनि गतिविधि नहोस् भन्ने चाहन्छ। 

नेपालस्थित चिनियाँ दूतावासले रक्षामन्त्री फेङहेको नेपाल भ्रमण र उनको तालिकाबारे औपचारिक रूपमा केही भनेको छैन। यद्यपि, चिनियाँ दूतावासले नेकपाका केही शीर्ष नेतासँग रक्षामन्त्री फेङहेको भेट गराउने तयारी गरिरहेको स्रोतले बताएको छ।

चिनियाँ रक्षामन्त्री फेङहे र प्रधानसेनापति थापाबीच आइतबार अपराह्न जंगी अड्डामा भेटवार्ता हुने कार्यक्रम छ। नेपाली सेनाले चिनियाँ रक्षामन्त्री फेङहेको सम्मानमा जंगी अड्डा परिसरमा गार्ड अफ अर्नर दिनेछ। त्यसपछि चिनियाँ रक्षामन्त्रीको प्रतिनिधि मण्डल र नेपाली सेनाबीच द्विपक्षीय हित र सैन्य सहयोगबारे छलफल हुनेछ। 

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई गरेको सहयोग तथा अनुदानमा सैन्य सामग्री ल्याउने विषयमा समेत द्विपक्षीय छलफल हुनेछ। कोरोना भाइरस संक्रमण जोखिमका कारण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास रोकिएको छ भने अन्य तालिमसमेत हुन पाएका छैनन्। दुवै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेपछि चीनले नेपाली सेनालाई पत्र पठाई डिसेम्बरसम्म सैन्य अभ्यास र तालिम स्थगन गरिएको भनेको थियो। जनवरी २०२१ मा सैन्य अभ्यास र तालिमको समीक्षा हुने र त्यसपछि नियमित सैन्य तालिम सञ्चालन हुन सक्ने चिनियाँ जनमुक्ति सेनाले भनेको थियो। 

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौड्यालले चिनियाँ रक्षामन्त्रीको भ्रमणमा द्विपक्षीय हित र सैनिक सहायताबारे छलफल हुने बताए। सैनिक प्रवक्ता पौड्यालले अन्नपूर्णसँग भने, ‘चनियाँ रक्षामन्त्रीको भ्रमणपछि द्विपक्षीय सम्बन्ध थप बलियो हुने र स्थगन भएका सैन्य तालिमसमेत सुचारु हुने अपेक्षा गरेका छौं।’

नेपाली र चिनियाँ जनमुक्ति सेना
नेपाल–चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध रही आएको छ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच भ्रमण, तालिम, संयुक्त सैन्य अभ्यास, उपकरण तथा हातहतियार सहयोगलगायत विभिन्न खेलकुदका कार्यक्रम हुँदै आएका छन्। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच बहुपक्षीय सम्बन्ध र त्यसका महत्त्वपूर्ण फरक–फरक आयाम छन्। नेपाली सेनाको आधुनिकीरणमा समेत चिनियाँ जनमुक्ति सेनाको महत्त्वपूर्ण भूमिका रहेको छ। 

चिनियाँ जनमुक्ति सेनाले ०७२ सालमा १ सय ९८ मिलियन आरएमबी बराबरको स्वास्थ्य सामग्री, फिल्ड अस्पताल, सञ्चार उपकरण र एपीसीहरू सहयोग गरेको थियो। यस्तै, ०७४ मा २ सय ३० मिलियन आरएमबी बराबरको हतियार, गोली गठ्ठा तथा विस्फोटक पदार्थ, एपीसी र सवारी साधन दिएको थियो। 

०७५ सालमा १ सय ५० मिलियन आरएमबी बराबरको एपीसी, सवारी साधन, हेभी प्लान्ट इक्युप्मेन्टलगायत सामग्री दिनेबारे दुई पक्षबीच प्रोटोगल साइन भइसकेको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच ०७४ सालमा १ सय ९८ मिलियन आरएमबी बराबरको विभिन्न सैन्य सामग्री र उपकरण नेपाली सेनालाई दिने सम्बन्धमा हस्ताक्षर भइसकेको छ। 

चिनियाँ जनमुक्ति सेनाले हवाई रक्षा हतियार, सञ्चार उपकरण, मोबाइल, विभिन्न यातायातका साधन र शान्ति मिसनमा आवश्यक सैन्य सामग्री सहयोग गरेको छ। हालसम्म ७२ चिनियाँ जनमुक्ति सेनाले नेपालमा तालिम गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.