के खाएर बाँच्ने ?

के खाएर बाँच्ने ?

घुन्सा (ताप्लेजुङ) : कोरोना भाइरसले कञ्चनजंघा हिमाल जाने पदमार्ग फागुनदेखि सुनसान छ। पर्यटक नआएपछि फुर्सदिला बनेका यहाँका स्थानीयले चैत दोस्रो हप्तामै आलु रोपेर सिध्याए। 
भदौमा फल्नुपर्ने आलुको बोट असारमै मरेर बारी बाँझियो। तिब्बतको नाका नखुल्दा याक/चौंरी बिक्री भएनन्। पर्यटक आएका छैनन्। आम्दानीको सबै बाटो ठप्प भएपछि गुजारा चलाउनै समस्या भएको घुन्साकी पेम्बा शेर्पाले बताइन्। ‘पैसा आउने बाटो केही छैन’, उनले भनिन्, ‘अब के खाएर बाँच्नु ?’ 

पेम्बाका श्रीमान् नुपुलाई ढाड दुख्ने र दमको समस्या छ। मंसिरपछि चिसोका कारण बाहिर निस्कन सक्दैनन्। यही हिउँदमा सदरमुकाम लगेर डाक्टरलाई देखाउने सल्लाह गरेकी थिइन्। होटल र आलु बेचेर आएको पैसाले खाद्यान्न जोहो गर्ने र याक बेचेको पैसाले सदरमुकाम फुङलिङ झर्ने योजना थियो। पेम्बा भन्छिन्, ‘बाबैलाई उपचारका लागि लैजान पनि नसक्ने भएँ, अब यत्तिकै मर्छन् होला।’ 

घुन्साकै सानुडण्डु शेर्पाले अघिल्लो वर्ष ४० मुरी आलु फलाएका थिए। त्यसमध्ये २७ मुरी बिक्री गरे। यस वर्ष उनको बीउसमेत जोगिएन। दोस्रोपटक गोडेपछि आलुको बोट नै मरेको शेर्पाले सुनाए। ‘हामी आलु तीन पटक गोड्छौं, दोस्रो पटक गोडुञ्जेल राम्रै थियो’, उनले भने, ‘त्यसपछि बोटै मर्‍यो खन्नै परेन।’ 

हरेक साल चिसो छल्न सदरमुकाम जाने उनी यसपालिको हिउँद घुन्सामै कटाउने बताउँछन्। ‘आम्दानी नभएपछि गाउँमै चिसोको सामना गर्नुपर्ने भयो’, उनले भने। यसपालि ३–४ घरबाहेक सबै गाउँमै बस्ने उनले बताए। 
३ हजार ४ सय १२ मिटर उचाइमा रहेको घुन्सामा ४० परिवारको बसोबास छ। सबैले आलु खेती गर्छन्। आलु चैतमा रोपेर भदौमा खनिन्छ। कञ्चनजंघा पदमार्गको खम्बाचेन, घुन्सा, फले, ग्याब्ला, आम्जिलेसा कतै पनि आलु नफलेको ग्याब्लाका दावाचुङ्दा शेर्पाले बताए। बीउसमेत मासिएपछि ६ घरले दुई दिन टाढाको याङ्मा गाउँबाट ल्याएका छन्। आलुको बोट मर्नुका कारण थाहा नभएको दावा बताउँछन्। 

अघिल्लो आर्थिक वर्ष १ हजार २ सय विदेशी पर्यटक कञ्चनजंघा हिमाल घुम्न आएका थिए। यस वर्ष मंसिर पहिलो हप्तासम्म १२ जना मात्रै आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कर्मचारीसमेत रहेका होटल व्यवसायी टासी तेञ्जिङ शेर्पा बताउँछन्। आन्तरिक पर्यटक सयको हाराहारीमा आए पनि प्रत्येक घरमा होटल/होमस्टे भएका कारण सबैले पाहुना राख्न पाएका छैनन्। 

बिक्री भएपछि तिर्ने गरी होटलमा खाद्यान्नको जोहो गरेका स्थानीयलाई साहुको बाँकी तिर्न समस्या भएको टासी तेञ्जिङले सुनाए। ‘अधिकांशले खाद्यान्नलगायत सामान बेचेपछि तिर्नेगरी बाँकी ल्याउने गरेका छौं’, उनले भने, ‘पर्यटक नआएपछि ती सामान त्यत्तिकै खेर जाने भयो, ऋण काढेर साहु तिर्नुको विकल्प छैन।’ 

यहाँ पर्यटकका लागि विदेशी ब्रान्डका महँगो खानेकुरासमेत ल्याउने गरिएको छ। चैतमा जोहो गरेका धेरै सामान सड्ने र म्याद गुज्रिने अवस्थामा पुगेको उनको दुःखेसो छ। घुन्साका चार घरको याक/चौंरीको गोठ छ।  पशु बिक्री गर्ने ठाउँ तिब्बतको रिउ बजार हो। चीनले कोरोनाका कारण गत फागुनबाटै रिउ जाने टिपताला नाका बन्द गरेपछि बिक्री ठप्प छ। ‘पहिलेको स्टक, अ‍ैंचोपैंचो गरेर यो हिउँद कटाउँला’, स्थानीय तेञ्जिङ शेर्पा भन्छन्, ‘त्यसपछि पनि नाका खुलेन, पर्यटक आएनन् र आलु फलेन भने यहाँ भोकमरी चल्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.