हरायो दाइँ गर्ने चलन
जनकपुरधाम : गोरुको सहायताले दाइँ (दाउनी) लगाउने चलन लोप हुँदै गएको छ। धान र पराल छुट्याउन थ्रेसरको प्रयोगमा किसानको आकर्षण बढेपछि गोरुको सहायताले दाइँ लगाउने चलन हराएर गएको हो। कम खर्च र छिटो–छरितो रुपमा काम गर्न सकिने भएपछि किसान थ्रेसरको प्रयोगप्रति आकर्षित हुँदै जाँदा तराई मधेशको जिल्लामा दाउनी परम्परा लोप भएको हो।
धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको धनुषा शहिद नगरपालिकाका किसान विन्देश्वर पण्डितले बताए। गाउँमा मान्छे नहुँदा थ्रेसर मेसिनले दाइँ हालेर कतिपय किसानले खेती थन्काउने गरेका छन्। यसले गर्दा मौलिकता बोकेका दाइँ सँस्कृति हराउँदै गएको सँस्कृतिप्रेमीहरु बताउँछन्।
केही समय अगाडिसम्म मानिसहरु गाउँघरमा बस्थे। बटैया तथा ठेक्कामा खेत भाडा लगाई खेतीपाती गर्ने गरेकोमा पछिल्लो समय अधिकांश मानिसहरु सुख–सुविधाको खोजीमा गाउँ छोडी शहर केन्द्रित भएपछि दाउनी परम्परा हट्दै गएको किसान पण्डित बताउँछन्। ‘पहिले प्रायःजसो किसानले दुरामा कम्तिमा पनि एक हल गोरु पाल्ने गर्थे, तर अहिलेको समयमा गोरु पाल्नु, खुवाउनु, हेरचाह गर्नु एउटा झन्झट नै हुन्छ। गोरुले गर्ने काम छिटोछरितो ट्रयाक्टरले गर्ने भएपछि गोरु पाल्न छोडियो। झण्डै ४–५ वर्षदेखि नै ट्रयाक्टरबाटै थ्रेसरले नै दाउनी गर्दैछु’, उनले भने।
गोरुले दाउनी गर्न कम्तिमा ४ हल गोरु पराल झार्ने ७–८ जना मान्छे चाहिन्छ, तर गाउँमा अहिले मानिस पाउनै गाह्रो भएको उनी बताउँछन्। युवापुस्ता तथा काम गर्ने सबै विदेशिएसँगै गाउँघरमा काम गर्ने मान्छे नहुँदा समेत दाउनीमा समस्या भएको गौशाला नगरपालिकाका किसान मुसहरु महतो बताउँछन्। ‘ट्रयाक्टर र थ्रेसरको सहायताले छिट्टै दाउनी हुँदो रहेछ, गोरुले घण्टौंसम्म घुमाएर दाउनी गर्न सम्भव छैन। गाउँघरमा मानिसको अभाव छ, गोरु पाए पनि घरधनीले अरुलाई गोरु दिन मान्दैनन् । त्यसैले अबको यो २१ औं शताब्दीमा गोरुले दाउनी गर्नु सम्भव छैन।’
‘परालमाथि मियो (मेह) मा बाँधिएका धेरै भन्दा धेरै गोरु घुमाएर दाइँ हाल्ने परम्परा नयाँ पुस्तालाई नौलो लाग्न सक्छ। नयाँ पुस्ता कुन्यु (कराम), दाइँ, मियो जस्ता शब्दसँग समेत परिचित नभएको संस्कृतिविद् तथा पूर्व प्राज्ञ रामभरोष कापडि भ्रमर बताउँछन्। ‘दाइँको चलन लोप हुँदा मौलिक भाका, सँस्कृति, पनि हराउँदै गयो। अब दाउनी गर्दै गाइने पराँति, जागरण, भजन, गीत जस्ता मूर्तसंस्कृति पनि हरायो’, उनले भने।
संस्कृतिविद् कापडिले गोरु दाउनीमा प्रयोग गर्ने, परम्परागत रुपमा खेती गर्ने, बयल गाडाको रुपमा सवारी प्रयोग गर्ने जस्ता कुरा सम्भव नभएको बताए। उनले थप्दै भने, ‘अब गोरु खोज्नु, कराम खोज्नु, मियो बाँध्नु जस्ता कुराबाट हामी धेरै माथि उठिसक्यौं, त्योभन्दा माथिको विकास भइसक्यो। त्यो परम्पराबाट समाज अघि बढीसकेकोले त्यसमा अफसोस गर्नुपर्ने नभए पनि त्यसको मौलिकता जोगाउन संग्राहलयमा प्रकारको पौराणिकता तथा मौलिकता झल्कने वस्तुको संकलन तथा संरक्षणमा जोड दिनुपर्छ।’