अब विद्युतीय नक्सापास
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका प्रविधितर्फ केन्द्रित हुन थालेको छ। क्यासलेस कार्यालय घोषणा भएको तुलसीपुर अबदेखि विद्युतीय नक्सापास प्रणालीमा जान लागेको हो।
उपमहानगरले आउँदो पुस १ गतेदेखि उपमहानगरपालिकामा विद्युतीय नक्सापास प्रणाली (ईबीपीएस) लागू गर्न लागेको हो। नागरिकले घर नक्सापास गर्दा व्यहोर्दै आएका कागजी प्रक्रियाको झन्झटलाई मध्यनजर गर्दै उपमहानगरले यो सेवा सुरु गर्न लागेको हो।
कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय नक्सापास गर्दा छिटो छरितो, पारदर्शी र कार्यालय समय अघिपछिको समयमा पनि आफ्नो काम गर्न सकिने भएकाले यो सेवा सुरु गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए। स्मार्ट सिटीको अवधारणाअनुसार उपमहानगरलाई पेपरलेस बनाइँदै लगिरहेको उनले बताए।
इनोभेटिभ सोलुसनको प्राविधिक सहयोगमा सफ्टवेयर निर्माण गरेर यो प्रणाली लागू गर्न लागिएको हो। उनले नगरलाई प्रविधिमैत्री बनाउँदै लगिएको र पेपरलेस, क्यासलेसजस्ता कामहरू सुरु भइसकेको बताए। उनले विद्युतीय नक्सापासले नागरिकलाई र नगरलाई काम गर्न समेत सहज र सरल गराउने बताए।
समय अनुकूल नागरिकलाई विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दै लैजाने उनको भनाइ छ। ‘स्मार्ट सिटीको अवधारणाअनुसार हामीले हरेक गतिविधिहरूलाई प्रविधिसँग जोड्दै छौें, थप प्रभावकारी बनाएर विद्युतीय माध्यममा लैजाने छौं’, उनले भने, ‘सुशासन प्रवद्र्धनका लागि सही समयमा सही सूचना प्रवाह गरी नागरिकलाई सन्तुष्ट बनाउने कुरामा हामी लागिपर्नेछौं।’ यस प्रणाली कार्यान्वयनमा आएसँगै कागजी फाइलहरू बोकेर कार्यालय धाउनुपर्ने र पुराना मिसिलहरू हराउने समस्याको अन्त्य हुने उनले बताए। सेवाग्राहीले घरमै बसेर कामको अवस्था बुझ्न र गुनासोसमेत गर्न सक्ने व्यवस्था भएकाले सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गरी नगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न थप सहज हुने पाण्डेले बताए।
इन्जिनियर अपिल पोख्रेलले विद्युत् प्रणालीमार्फत अनलाइन दर्ता गरी आफ्नो फाइल कहाँ पुगेको छ भनेर जानकारी लिन सकिने, भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवन संहिता चेकजाँच गर्न सकिने, नक्सापास बुक, सँधियार,मुचुल्का, सर्जमिन समावेश गर्नुका साथै सहज रूपमा रिपोर्ट हेर्न र आवश्यक प्रमाणपत्रहरू प्रिन्ट गर्न सकिने जानकारी दिए। उक्त सफ्टवेयरमा नगरस्थापना भएदेखि हालसम्मका सबै विवरण, मिसेलको तथ्यांक तथा जानकारीहरू राखिने उनले बताए।
यस्तै राजस्व पनि विद्युतीय प्रणाली मार्फत हिसाब गरिनेभएकाले हरेक गतिविधिहरू पारदर्शी हुने उनले बताए। सबै परामर्शकर्ताहरूको नाम, ठेगाना तथा सम्पर्क नम्बर सिस्टममा राखिने भएकाले सेवाग्राहीले सहजै रूपमा आफूलाई उपयुक्त परामर्शकर्ता छनोट गरेर सेवा लिन सक्ने समेत बताए। घरनक्सापास भएमा घरधनीले मोबाइल एसएमएस प्राप्त गर्न सक्ने जस्ता सुविधाहरू उक्त विद्युतीय प्रणालीमार्फत उपलब्ध हुनेछन्।
वडामा प्रशिक्षण
विद्युतीय नक्सापास प्रणालीलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले सबै वडाहरूमा यसको प्रयोग, महत्त्व र आवश्यकताकाबारेमा प्रशिक्षण दिने भएको छ। पहिलो चरणमा नगरक्षेत्रभित्रका सबै वडाका एकसय जनालाई तालिम प्रदान गरिने इन्जिनियर पोख्रेलले जानकारी दिए। उनका अनुसार नगरभित्र करिब ४० हजार घरसंख्या भएपनि हालसम्म ६ हजार ५६ घरको मात्रै नक्सापास भएको छ।
प्रतिक्रिया दिनुहोस !