नयाँ वर्षको आसमा होटेल

नयाँ वर्षको आसमा होटेल

काठमाडौं : कोभिड— १९ को महामारीले थलिएको होटेल क्षेत्र अंग्रेजी नयाँ वर्षको आगमनसँगै पर्यटकको स्वागत गर्न आवश्यक तयारी सम्पन्न गरेको छ। अंग्रेजी नयाँ वर्ष मनाउन नेपालमा भारतसहित अन्य मुलुकको पर्यटन ठूलो परिमाणमा भित्रिन्छन्। 

यो वर्ष पनि नयाँ वर्ष मनाउन आन्तरिक र बाह्य पर्यटन आउने आसमा होटेल व्यवसायीले पाहुना स्वागतका लागि आवश्यक तयारी सम्पन्न गरेका हुन्। शुक्रबार अंग्रेजी नयाँ वर्ष (जनवरी १ तारिख) परेको छ। उपत्यकासहित पोखरा, चितवन तथा सौराहाका व्यवसायी नयाँ वर्षलाई लक्ष्य गरी विभिन्न प्रकारका आकर्षक प्याकेज सार्वजनिक गरेका छन्।  उपत्यकामा सञ्चालित तारेहोटेल सोल्टी, ह्यात, याक एन्ड यती, सांग्रिलालगायतले पाहुना स्वागत गर्न तयारी अवस्थामा छन्। यस्ता होटेलले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी प्याकेज कार्यक्रम घोषणा गरिसकेका छन्। दरबारमार्गको अन्नपूर्ण होटल भने पछिल्लो समय बन्द छ। 

‘अघिल्लो वर्षसम्म नयाँ वर्ष मनाउन नेपाल आउने पर्यटकको घुइँचो नै हुन्थ्यो’, होटेल संघ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने, ‘यो वर्ष कोभिड महामारीले त्यस्तो चहलपहल नभए पनि हामीले आफ्नो तर्फबाट पाहुना स्वागत गर्न सकेको तयारी गरेका छौं।’ यो वर्ष बाह्य पर्यटन आउने सम्भावना धेरै नभएकाले आन्तरिक पर्यटकलाई लक्ष्य गरी विशेष प्याकेज ल्याइएको शाहले जानकारी दिए। ग्त शुक्रबार सम्पन्न क्रिसमसलाई लक्ष्य गरेर पनि होटेल व्यवसायीले ठूलै तयारी गरेका थिए। तर, सोचेअनुसार पर्यटक नआउँदा खासै प्रतिफल आउन नसकेको उनीहरूले बताए। 

क्रिसमसमा प्रतिफल प्राप्त नगरेका व्यवसायीले नयाँ वर्षमा तुलनात्मक रूपमा राम्रै हुने आसमा विभिन्न प्याकेज सार्वजनिक गरेका हुन्। शाहले कोभिडका कारण लामो समयसम्म घरमै थन्किएर बसेका आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन बाहिर निस्कने आसमा छन्।

पछिल्लो समय अंगे्रजी नयाँ वर्षलाई चाडकै रूपमा मनाउन थालिएको छ। सम्पूर्ण परिवार होटेल रेस्टुराँमा रमाइलो गर्न जाने र पिकनिक जाने लहड नै चलेको छ। नयाँ वर्ष होटेल रेस्टुराँ व्यवसायीका लागि कमाइ गर्ने पर्वको रूपमा मानिन्छ। कोभिड—१९ का कारण यो वर्ष अघिल्ला वर्ष जस्तो भीडभाड नभए पनि बजारमा धेरथोर चहलपहल बढेको छ। 

लामो समयपछि सवारीसाधनको जोरबिजोर प्रणाली खारेज, निजी तथा सरकारी कार्यालय पूर्ण रूपमा सञ्चालनमा आउँदा त्यसको प्रत्यक्ष फाइदा होटेल तथा रेस्टुराँ व्यवसायमा परेको रेस्टुरेन्ट तथा बार एसोसियसन (रेवान) का अध्यक्ष अरनिकोराज भण्डारीले जानकारी दिए। ‘विशेषगरी कामकाजी युवा पुस्ता कोभिडको डरबाट माथि उठिसकेका छन्, उनीहरू निष्फिक्री भएर घूमघाममा हिँड्न लागेका छन्’, भण्डारीले भने, ‘युवा पुस्ताका कारण तुलनात्मक रूपमा चहलपहल बढेको छ।’ गत साता मनाइएको क्रिसमस डेको व्यापारजस्तै नयाँ वर्षमा पनि व्यापार हुने आसमा व्यवसायी रहेको उनको भनाइ छ।

भण्डारीले नयाँ वर्षमा करिब ६० प्रतिशत अकुपेन्सी रहने व्यवसायीले आस गरेको जानकारी दिए। तर, विदेशी पर्यटकको मुख्य आकर्षण केन्द्र ठमेल क्षेत्र भने क्रिसमसकै दिन सुनसानमा बितेको उनले बताए। नयाँ वर्षको कार्यक्रमलाई ध्यानमा राखेर अबेर रातिसम्म व्यवसाय सञ्चालन गर्ने विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी दिइएको रेबानले जनाएको छ। नयाँ वर्षमा कार्यक्रम मनाउने, खाने र नाचगान गर्नेजस्ता कार्यक्रम अबेर रातिसम्म हुन्छ। 

पोखरामा रमझम
आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्येको पोखरा नयाँ वर्षका लागि पर्यटक भिœयाउने आवश्यक तयारीमा छ। लामो समयपछि खुलेका होटेलमा क्रिसमसले थोरबहुत चहलपहल बढाएको थियो। आउँदा नयाँ वर्षले थप पर्यटक भिœयाउने आसमा यहाँका व्यवसायीले तयारी सम्पन्न गरेका हुन्। 

हान पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिन बाहिरी जिल्लाबाट पनि पर्यटक आउने अनुमान पोखराका व्यवसायीले गरेका छन्। अहिले सोधपुछ राम्रै भइरहेकाले अन्तिम समयसम्म पोखराका होटलको अकुपेन्सी ४० देखि ५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको उनले बताए। 

पोखराका केही होटेलले पर्यटकलाई लामो समयको बसाइका लागि दुई रातको प्याकेज ल्याएका छन्। केहीले खाना तथा बसाइमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन्। यस्तै नयाँ वर्षलाई लक्ष्य गरी रेवान पोखराले सडक महोत्सव पनि आयोजना गर्दैछ। कोभिडपछिको पहिलो पर्यटकीय महोत्सवको रूपमा पुस १५, १६ र १७ गते पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी यो महोत्सव मनाइँदै छ।

घुमौं सौराहा
पर्यटकीय स्थल चितवन र सौराहाका व्यवसायी पनि नयाँ वर्षमा पर्यटकको संख्या बढ्ने आसमा छन्। यहाँका होटेल तथा रेस्टुराँमा उल्लेख्य परिमाणमा बुकिङ भइरहेको व्यवसायीले बताएका छन्। ४० देखि ५० प्रतिशतसम्म बुकिङ अहिले नै भइसकेकाले नयाँ वर्षको दिनसम्म करिब ७० प्रतिशतसम्म अकुपेन्सी हुने अपेक्षा गरिएको हान सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले जानकारी दिए।

यहाँका होटल तथा रेस्टुराँले ३० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन्। रेस्टुराँतर्फ पनि टेबल बुकिङ भइरहेकाले नयाँ वर्षमा ८० प्रतिशतसम्म अकुपेन्सी हुने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए। यस्तै खानामा १५ प्रतिशतसम्म छुट गर्नुपर्ने गरी बाध्यकारी नियम रेवान सौराहाले लागू गरेको छ। छोटो अवधिका लागि पर्यटकलाई आकर्षित गर्न सौराहाका पर्यटन व्यवसायीले ‘घुमौं सौराहा’ भन्ने अभियान सुरु गरेको होटल संघ सौराहा अध्यक्ष दीपक भट्टराईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.