सिंचाई योजनामा टेन्डर विवाद: निर्माणमा सुस्तता, १० वर्षमा ६ किलोमिटर नहर !
दाङ : गौरवको आयोजना मानिएको प्रगन्ना तथा वड्कापथ सिंचाई आयोजनाले यस वर्ष प्रकाशन गरेको टेण्डर प्रक्रियामा विवाद सिर्जना भएको छ । आयोजना, सिंचाई विभाग र जिल्लाका निर्माण व्यवसायीका बीच टेन्डरमा विवाद भएको हो । यही विषयलाई लिएर जिल्लाका निर्माण व्यवसायीहरु आक्रोशित समेत भएका छन् । र कार्यालयमा भर्ना दिँदै विरोध समेत भएको छ ।
आयोजना मार्फत् ७ किलोमिटर नहर निर्माणका लागि मंसिर १० गते टेण्डर आह्वान गरिएको थियो । २५ करोड बजेट तोकेर खुलाइएको टेण्डरको म्याद पुस २२ गते सम्म कायम गरिएको छ । उक्त ठेक्काका लागि सिंचाई (ईरिगेशन)मा निर्माण कार्यको स्वीकृति प्राप्त निर्माण कम्पनीले मात्र बोलपत्रमा आबेदन दिन पाउने व्वस्था गरिएको हुँदा यो व्यवस्थाका विरुद्ध निर्माण ववसायीहरु लागेका हुन्।
जसका कारण आफूहरु खुल्ला गरिएको बोलपत्र आह्वानमा समावेश हुन नसक्ने मापदण्ड बनाइएको दाङ निर्माण व्यवसायी संघले बताएको छ । '२५ बढी निमार्ण कम्पनीमध्ये बढीमा ३ जनाले मात्र तोकिएको मापदण्ड अनुसार बोलपत्रमा समावेश हुने अवस्था टेन्डरले सिर्जना गरेको छ । यो आर्थिक अनियमितासँग जोडिन्छ,' संघका अध्यक्ष ईश्वर पुनको भनाइ छ ।
लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरुका अनुसार तोकिएको मापदण्डमा लुम्बिनी प्रदेशमा कुनै पनि निर्माण व्यवसायीको योग्यता पुग्दैन । प्रतिस्पर्धाका लागि उर्जा(हाईड्रोपावर) र सिंचाई(ईरिगेसन)को अनुमति प्राप्त निर्माण व्यवसायीले भाग लिन पाउने गरी संशोधन गर्नुपर्ने माग व्यसायीहरुको छ ।
गत पुस २ गते आयोजना प्रमुख बद्री कार्की र आयोजनाका प्राबिधिक तथा लेखा अधिकृत सहित निर्माण व्यवसायी बीच सम्पन्न ठेक्का सम्बन्धी प्रि बिड मिटीङ भएको थियो ।
निर्माण व्यवसायीहरुले माग गरे अनुशार योग्ताको मौजुदा मापदण्ड संशोधनका लागि सिंचाई विभागमा अनुरोध गर्ने सहमति गरिए पनि हुन नसकेको प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजनाका प्रमुख बद्री कार्कीले बताए । उनले अरु बेलाको भन्दा फरक खालको संरचना निर्माण गर्नु पर्ने भएकाले र विभागको मापदण्ड अनुसार सिचाईमा अनुभव प्राप्त व्यवसयाीहरुलाई योग्यता तोकेर टेन्डर गरिएको बताए । सम्बन्धित विषयमा जानकार/बिज्ञ–अनुमती प्राप्त निर्माण व्यवसायीले ठेक्कापट्टाको अनुमति प्राप्त गरे निर्माण कार्य समेत राम्रो हुने भएकाले त्यस किसिमको योग्यता सहितको मापदण्ड बनाइएको काकर्कीले बताए । उनले निर्माण व्यवसायीहरुले लगाउँदै आएको बदनियत(आर्थिक चलखल) सम्बन्धी आरोपलाई अस्वीकार समेत गरे ।
१० वर्षमा ६ किलो मिटर नहर
२०६६/६७ देखि सुरु भएको उक्त आयोजना २०८१/८२ सालसम्म सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजना हो । तर हालसम्म प्रगति भने शुन्य जस्तै छ । राप्ती गाउँपालिकाको भालुवाङ पुलबाट ५ सय मिटर उत्तरबाट निर्माण कार्य सुरु गर्ने र अनुमानित लागत खर्च ३ अर्व ७४ करोड छ । ११ औं पटकसम्म टेण्डर आह्वान भइरहेको बड्का पथ आयोजनामा हाल सम्म ६ किलो मिटर नाला मात्र सम्पन्न भएको छ । हाल आह्वान गरिएको टेण्डरबाट ७ किलोमिटर निमार्ण कार्य ३ वर्षमा सम्पन्न गर्नुपर्ने छ । ३० किलोमिटर नहर निर्माण सम्पन्न भए गढवा गाँउपालिकाका ६ वटा वडाको ४ हजार हेक्टरमा सिंचाई हुने छ ।
तर १० वर्षदेखि निर्माण कार्य जारी रहेको बडका पथमा १ अर्व ११ करोड रुपैयाँ खर्च भइसकेको छ । हालसम्म सिंचाई भने शुन्य अवस्थामा छ । सिंचाई सम्बन्धी अनुमति प्राप्त निर्माण व्यवसायीले मात्र टेण्डरमा समावेश हुन पाउने योग्यता कायम गरिदिएका कारण बिबाद चुलिएपछि निर्माण कार्य समयमै सम्पन्न हुनेमा आंशका गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस !