सिंहदरबारबाट निस्किएर सडकमा
![सिंहदरबारबाट निस्किएर सडकमा](https://annapurnapost.prixacdn.net/media/albums/prachanda-and-madhav-on-road_20201225052228_EQ1r9sjhb8.jpg)
सिंगो देशको मनोदशा के छ भन्ने त पुस ७ यता देशभरि र विदेशमा समेत प्रदर्शन र प्रकट भइरहेको छ।
प्रधानमन्त्री एवं नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ४ गते १०ः३० बजे दोस्रा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटार पुगेरै ‘आरोपपत्र’ फिर्ता गरी समझदारी र एकताका साथ अघि बढ्न अन्तिमपटक आह्वान गर्नुभयो। तर दाहाल त्यसनिम्ति तयार हुनुभएन। खासमा उहाँ ‘ग्याङ अफ फोर’ को साथ र सहयोगमा पार्टी कब्जाको सुनियोजित तयारी, षड्यन्त्र र योजनाका साथ क्रियाशील रहिआउनुभएकै थियो। त्यसैको विकसित कथा÷पटकथाअन्तर्गत योजनाबद्ध प्रयासका कदमहरूको पुष्टि÷पुनर्पुष्टि गर्न पर्याप्त थिए र छन्। २०७७ साल पुस ५ यता विकसित भएका तमाम घटनाक्रम र चालिएका कदमहरूमा मूलतः त्यस्ता तमाम तथ्यहरूको प्रभाव तथा घटना र परिघटनाहरूको परिणाम स्पष्ट रूपमा अभिव्यक्त भएका छन्।
यहाँ केही यस्ता तथ्य र दृष्टान्तका बारेमा स्मरण मात्रै गराउन खोजिएको छ; जो पार्टी विग्रह र विभाजनअघि योजनाबद्ध रूपमा सञ्चालन गरिएका थिए। २०७७ वैशाख र त्यसयताका केही दृष्टान्त यस खालका छन् :
१. भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ५ कात्तिक २०७७ को बेलुका १० बजेपछि शिष्टाचार भेट गर्नुभएको थियो। गोयल शिष्टाचार भेटका लागि बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो। उक्त भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो।
तर केही दिन गोरखा र चितवन भ्रमण गरी काठमाडौं फर्किएको भन्दै पार्टीका तत्कालीन प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेको ट्वीट आश्चर्यजनक थियो। त्यसमा उल्लेख गरिएको छ, ‘यसबीचमा भारतको गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग ‘वार्ता’ गरी फिर्ता भएछन्। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिविना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन। त्यसैले यस सम्बन्धमा यहाँ व्यक्त विचार मेरो निजी विचार हो। मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशका प्रधानमन्त्रीले विनाकुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ! नेपालको राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरूप शिष्टाचार भेट हुन सक्थ्यो। त्यसो होइन भन्ने स्पष्ट भइसकेको छ। विदेशी सरकार प्रमुखले औपचारिक रूपमा आफ्नो विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्थ्यो तर त्यस्तो पनि देखिएन। त्यसैले गम्भीर प्रश्न उठ्छ– विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट र कूटनीतिक मूल्य र आचारसंहिताविपरीतको यस्तो भेट किन ? यस प्रकारका कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ।’
वास्तवमा सामन्त गोयल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमै आएर प्रधानमन्त्रीसँग भेट गरेको तथ्यमा नारायणकाजीले पर्दा हालेर आफ्नो अल्प र गलत सूचनाका आधारमा गैरजिम्मेवार ट्वीट गरेको यथार्थमा यहाँनेर सबैजना स्पष्ट हुनुपर्ने देखिन्छ। नारायणकाजीले पार्टी प्रवक्ताको हैसियत दुरुपयोग गरी यस्ता एक होइन, एक सय झूटको खेती गरेर पार्टी, सरकार र प्रधानमन्त्रीविरुद्ध गलत र भ्रामक क्रियाकलाप गरेकाले नै केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पुस ९ गते उहाँलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको सर्वविदितै छ।
२. प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ४ कात्तिक २०७७ गते बिहानको भेटघाटमा, (१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, (२) प्रमुख सचेतकमा शाहीद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, (३) मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र (४) अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने गरी सहमति भएको जानकारी प्रेस नोटमार्फत सञ्चारमाध्यमलाई गराइएको थियो।
प्रधानमन्त्रीलाई खाली हातखुट्टा बालकोट पठाउने उहाँको भगीरथ प्रयत्न त सफल हुन सकेन नै; पार्टी कब्जा गर्न पनि उहाँ र उहाँको सहयोगी समूह असफल भई सिंहदरबारबाट सडकमा हुत्तिनुपरेको छ।
खासगरी त्यस दिनको भेट सकेर दाहाल बालुवाटारबाट बाहिरिएलगत्तै कर्णालीका बारेमा कतिपय उहाँ निकटका सञ्चारमाध्यममा स्रोतको हवाला दिँदै नकारात्मक, दूषित, सहमतिविपरीत र गलत समाचार आएको हुँदा दुई अध्यक्षबीचको सहमतिलाई सार्वजनिक गर्नु अनिवार्य र स्वाभाविकै थियो।
तर त्यसलगत्तै दाहालको सचिवालयका तर्फबाट कुनै सहमति नभएको ‘प्रेसनोट’ जारी गरियो। खासमा कर्णाली–प्रकरण दाहाल–नेपालबीचको विभाजनकारी अभ्यासको रिहर्सल थियो भन्ने तथ्य समयक्रममा स्पष्ट भइसकेको छ। आफ्ना समर्थकमार्फत अविश्वास प्रस्तावको हस्ताक्षर अभियान सुरु गर्ने; घरघरमा तिनलाई पठाउने र यो प्रदेशको आफ्नो विषय हो भन्दै अविश्वास प्रस्ताव दर्ता गरेपछि मात्रै माथि जानकारी हुने स्थितिमा त्यस प्रकरणमा जानेर वा नजानेर कोको सामेल भई निर्णय गरेका थिए भन्ने रहस्य सार्वजनिक भइसकेको छ र अझ खुलस्त नै होला। पछि तिनै व्यक्तिले मुख्यमन्त्रीसँग मन्त्री बनाउने सम्झौता गरेर अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता गरी ‘आयाराम गयाराम’ प्रवृत्तिको अभ्यास गरेको तथ्य पनि खुलस्त भइसकेको छ।
३. २०७७ साल असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं मदन जयन्तीका अवसरमा भन्नुभएको थियो, ‘पहिलेका कुरा पनि यहाँहरूलाई सम्झना नै होला। चीनतिर ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि मेरो सरकार ढलेको थियो। किनभने हामीसँग बहुमत थिएन। अहिले पनि त्यही सपना देखेर केही तत्व हिँडेको छ। अहिले संविधान संशोधन भयो र नक्सा जारी भयो। यस्तो अपराध गर्ने केपी ओलीलाई छाड्नुहुन्न भनेर भित्रभित्रै कुरा गर्छन्। बाहिरबाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्नेलाई देखिएकै छ, चिनिएकै छ भन्ने गरेका छन्। दिल्लीका सञ्चारमाध्यम सुन्नोस् ! त्यसले निर्देश गरिहाल्छ कि कहाँकहाँ केके भइरहेको छ ? यहाँका होटलहरूमा भइराखेका गतिविधिले पनि बताइराखेको छ। एम्बेसीको सक्रियताले बताइराखेको छ।
तर म तपाईंहरूलाई यति भनिदिन्छु– नेपालको राष्ट्रियता यति कमजोर छैन। नक्सा छापेबापत र संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको नेपालको राष्ट्रियता त्यति कमजोर छैन। यो कसैले नसोचे पनि हुन्छ। यो कोसिस गर्नेलाई त गर्न दिनू ? तर नेपाल हिजोको जस्तो होइन। कसैले हतारो नगरे पनि हुन्छ। कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ।
खासमा मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन। तर यतिबेला म हट्ने हो भने फेरि नेपालका पक्षमा बोल्ने आँट कसैले गर्ने छैन। किनभने यसरी बोल्नासाथ भोलिपल्टै बर्खास्त हुन्छ। त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि र आफ्ना लागि होइन, देशका लागि भूमिका निर्वाह गर्नुपर्छ। हाम्रो पार्टी र हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला पनि छैन। यति कुरा पनि नबुझेर अन्जान खेलमा कोही पनि सामेल हुनेवाला पनि छैन।’
असार १० गते सुरु भई निधारित एजेन्डामा अघि बढेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको यसै मन्तव्यलाई बहाना बनाई १६ गते दुई नम्बर अध्यक्ष, वरिष्ठ नेताहरू, उपाध्यक्ष र प्रवक्तासहितका पदाधिकारीले ‘भाँडभैलो’ गरेको तथ्य विवरण सबैको स्मरणमा छ।
४. भानु जयन्तीका अवसरमा २०७७ असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्धिक बहस र विमर्शका क्रममा भन्नुभएको थियो, ‘हामी अहिले पनि सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिराखेका छौं। खासमा भारतका होइन, अयोध्याका राजकुमारलाई दिएका थियौं। अयोध्या भनेको बीरगन्जभन्दा पश्चिमपट्टिको गाउँ हो; खडा गरिएको अयोध्या होइन। अयोध्याका बारेमा हामीकहाँ विवाद नै गर्नुपर्दैन। जनकपुर त्यहाँ, अयोध्या बीरगन्जको पश्चिमपट्टि ठोरीमा यहाँ, वाल्मीकि आश्रम चितवनमा यहाँ र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने रिडीका पण्डित श्रृंग ऋषि त्यहाँ रहेको तथ्य जगजाहेर छ। उनी पछि त्यहीं माथि डाँडामा बस्न गए। अहिले पनि त्यहाँ श्रृंगा भन्ने ठाउँ छ। पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी नेपालकै हुन्।
त्यसकारण सन्तान पनि भारतीयका हुँदै होइनन्, ठाउँ पनि भारतमा होइन। त्यो ठाउँ पनि नेपालकै हो। पढाउने गुरुको वाल्मीकि आश्रम यहीं छ। समयसमयमा आएर शिक्षादीक्षा र ज्ञानगुन दिने वाल्मीकि आश्रम यहाँ छ र जनकपुर यहीं छ। यहाँको जनकपुर र त्यहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोजेको छ, कसले के गरेको छ ? त्यसबेलाको जमानामा न टेलिफोन, न मोबाइल, कताबाट थाहा होस् ? थाहा हुन पनि सम्भव थिएन। नजिकै पथ्र्यो र त सजिलैसँग गए पनि हुन्थ्यो र बिहेवारी भयो। तर यो इतिहासको बहस गरिसाध्य छैन। मैले यति भनेपछि फेरि विद्वान्हरूको एक हमला ममाथि हुन्छ। अयोध्या अहिले पनि छँदैछ र घर–माइती गर्न त्यति छिटोछिटो भारतको अयोध्याबाट त सम्भव हुन सक्दैनथ्यो। यहाँ बीरगन्जको छेउमा भएकाले त्यहाँबाट जनकपुर जान–आउन सजिलो थियो। त्यहाँबाट वाल्मीकि आश्रम पुग्न सजिलो थियो। पछि सीतालाई रामले अयोध्याबाट ल्याएर वाल्मीकि आश्रममा त्यत्रो दिन लगाएर छाडेको पनि होइन। तलतिर लगेर जंगलमा यसो छाडेका हुन्, जो दुई वा चार दिनमा सम्भव हुन्थ्यो। अयोध्या जान त महिनौं पो लाग्छ ? लक्ष्मण त्यसरी महिनौं हराएका होइनन्। अयोध्याबाट खुरुरु वाल्मीकि आश्रममा पुर्याइदिएर फर्किएका हुन्। त्यसको नाम पहिले अयोध्या नभएर अयोधिया थियो। अयोध्या कि अयोधिया फेरि पुरानो नामका विषयमा अध्ययन गर्नुपर्छ।’
यसै वक्तव्यपश्चात् भारतीय सञ्चारमाध्यम र पार्टीका दोस्रा अध्यक्ष अनि वरिष्ठ नेताहरूले मच्चाएको ‘उधुम’ अचम्मकै थियो। दुई अलगअलग ठाउँबाट सोझ्याइएको निशाना प्रधानमन्त्रीविरुद्ध नै लक्षित थियो। कसरी मिलेको होला एउटै निशाना ? अबचाहिँ प्रस्ट भएन र ?
त्यतिबेला नै हामीले स्पष्ट गरेका थियौं, ‘कतिपय भारतीय सञ्चारमाध्यमले केही दिनयता गरिरहेको गलत, भ्रामक र मर्यादाहीन सम्प्रेषणको अभीष्ट निकै राम्रोसँग बुझ्न सकिन्छ। तिनले खासमा पत्रकारिताबाहेक अरूथोक मात्रै गरिरहेका छन्। तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले कुनै अर्थ राख्दैन। बरू जिम्मेवार पत्रकारिताका निम्ति यस्तो सम्प्रेषण स्वयंमा लज्जाको विषय भएको छ।’
५. निजी क्षेत्रको एक टेलिभिजनलाई प्रधानमन्त्रीका हामी सल्लाहकारहरूको कोभिड– १९ को परीक्षण रिपोर्ट नेगेटिभ आएकोमा समेत असह्य पीडाबोध र छटपटी भयो। त्यसले एकतर्फी एवं मनगढन्ते रिपोर्टिङ गरेर हामीलाई बदनाम गर्न खोजेको स्पष्टै बुझ्न सकिन्थ्यो। जबकि हामी सल्लाहकारहरू ‘आइसोलेसन’ मा बस्दासमेत पटकपटक सम्पर्क गर्ने; हामीसँगै सूचना र जानकारी लिन सक्रिय त्यसै टेलिभिजनका अरू व्यावसायिक सञ्चारकर्मीहरू स्वयंले त्यस्ता नकारात्मक, निहित उद्देश्य र स्वार्थप्रेरित बदनाम प्रपञ्चलाई के ठाने होलान् ? ‘बालुवाटार सुनसान भयो...’ भन्नेजस्ता रिपोर्टिङ प्रसारण गर्ने; दैनिक १० पटकभन्दा बढी एकै व्यक्तिले सम्पर्क गर्नुपर्ने हामीसँगै अनि संक्रमणका कारण दैनन्दिन नियमित काममा असर परेको सबैका धारणा र लक्षण केही नदेखिएको हाम्रो स्थिति; ‘कन्ट्याक्ट ट्रेसिङ’ सबै संक्रमितलाई केन्द्रित गरेर हुने तथ्य र आइसोलेसनमा सात दिन पुगेको अवस्थामा तोकिएको मापदण्डअनुरूप नियमित प्रक्रियामा नै परीक्षण गराउँदा ‘नेगेटिभ रिपोर्ट’ आएपछि त्यसरी दुनियाँलाई दिग्भ्रमित पार्न खोज्नु खेदजनक थियो। परीक्षण हाम्रो चाहना, आग्रह र दबाबमा नभएर स्वास्थ्य प्रोटोकल र निर्धारित मापदण्डअन्तर्गत तथा जरूरी कार्य–आवश्यकताअनुरूप नै भएको थियो। जनसरोकारका महत्वपूर्ण विषयप्रति उदासीन हुँदै पहाड खनेर मुसा भेट्टाएजस्तो गर्नु अशोभनीय, गैरव्यावसायिक, तथ्य र मर्यादाविपरीत रिपोर्टिङ कार्य थियो। त्यस किसिमको दुष्प्रचारबाट कत्ति पनि भ्रमित नहुन सबैमा मैले सार्वजनिक अनुरोधसमेत गर्नुपरेको जगजाहेर नै छ।
६. नेकपा (एमाले) र माओवादी–केन्द्रबीच २०७७ जेठ ३ गते भएको पार्टी एकता घोषणापछि केन्द्रीय कमिटीका जम्मा दुइटा, स्थायी कमिटीका तीनवटा र सचिवालयका ७३ वटा बैठक भएको तथ्य माइन्युटहरूले प्रस्ट्याउँछन्। जबकि २०७६ साल मंसिरयता एक वर्षमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र दोस्रा कार्यकारी अध्यक्ष प्रचण्डबीच ७५ पटक लामालामा भेटघाट भएको अभिलेख छ। औसतमा तीन घन्टाका हिसाबले पनि २२५ घन्टा देशका कार्यकारी प्रमुखको अनमोल समय फजुल र परिणामशून्य भेटघाटमा खेर फालिएको स्थिति समयले आज पुष्टि गरिसकेको छ। प्रधानमन्त्रीसँग भेट्ने, कुनै विषयमा छलफल गर्ने अनि निकटका सञ्चारमाध्यममार्फत उल्टो प्रचार गराउने अनि भैंसेपाटी, अँगेनो, भुंग्रो, बाछाबाछी टोल, हात्तीवन, भैंसेपाटी, पेरिसडाँडा, बालकुमारी र धुम्बाराहीमा समेत गुटका बैठक गरी ‘काउन्टर स्ट्राटेजी’ बनाउने अपराधपूर्ण कार्य सँगसँगै हुने गरेका तथ्य सार्वजनिक र स्पष्टै छन्। यस अवधिमा दाहालको अगुवाइमा २८० वटा गुटगत बैठक आफ्नो निवास खुमलटारमा गरिएको र ३५ वटा बैठक खुमलटारबाहिरका विभिन्न स्थानमा गरिएका तथ्य पनि सार्वजनिक भइसकेका छन्। पार्टी एकताको आवरण र नाममा पुष्पकमल दाहाल प्रचण्डले खासमा गर्नुभएको के थियो त ? यी विभिन्न दृष्टान्त र तथ्यहरू इतिहासका साक्षी र प्रमाणका रूपमा सुरक्षित र अभिलेखबद्ध भइसकेका छन्।
निष्कर्षमा पार्टी एकतापछि दाहालले आफ्नो अधिकांश समय समीकरण निर्माण, प्रधानमन्त्रीविरुद्ध घेराबन्दी र पार्टी कब्जाको रणनीतिमा केन्द्रित गर्ने गरेको अभ्यासकै परिणाम आजको विभाजन र विग्रह हो। प्रधानमन्त्रीलाई खाली हातखुट्टा बालकोट पठाउने उहाँको भगीरथ प्रयत्न त सफल हुन सकेन नै; पार्टी कब्जा गर्न पनि उहाँ र उहाँको सहयोगी समूह असफल भई सिंहदरबारबाट सडकमा हुत्तिनुपरेको छ। हाल प्रकट चिच्चाहट त्यसकै परिणति हो। सिंगो देशको मनोदशा के छ भन्ने त पुस ७ गतेयता देशभरि र विदेशमा समेत प्रदर्शन र प्रकट भइरहेको छ !
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)