ब्राउन सुगरसहित चारजना पक्राउ
विराटनगर : मोरङको उर्लाबारी र विराटनगरबाट प्रहरीले उच्च गुणस्तरको मानिने महंगो लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित चारजनालाई पक्राउ गरेको छ । उर्लाबारीबाट दुई र विराटनगरबाट दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक युवती र एक भारतीय नागरिक पनि छन् । उर्लाबारी नगरपालिका–६ स्थित मधुमल्ला रोडमा रहेको ह्याभन भ्याली होटलबाट आइतबार साँझ एक युवा र युवती पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार ब्राउन सुगरको कारोबारका लागि दुवैजना मिलेर होटलको कोठा बुक गरेर बसेको पाइएको छ ।
उनीहरुले आइतबार नै होटलको कोठा बुक गरेको र त्यहाँबाट अन्यत्र ‘सप्लाई’ गर्ने योजना बनाएको पाइएको प्रहरीको भनाइ छ । एकआपसका साथी रहेका उनीहरु यसका सेवनकर्ता र कारोबारीसमेत भएको प्रहरी दाबी छ ।
होटलको कोठा नम्बर ६ बाट पक्राउ परेका भट्टराई र लिम्बूको साथबाट १४ ग्राम ब्राउन सुगर फेला परेको छ । फेला परेको ब्राउन सुगर ठूलो परिणामको भएको प्रहरीले जनाएको छ । यसको खरिदबिक्री गर्दा प्रयोग गरिने नापतौल मेसिन पनि बरामद भएका कारण उनीहरु यसका कारोबारी भएको पुष्टि हुने प्रहरीको भनाइ छ ।
विशेष सूचनाका आधारमा होटलमा छापा हान्न प्रहरी पुग्दा दुवै जना ब्राउन सुगर सेवन गर्ने तयारीमा रहेको पाइएको एसपी खड्काले बताए । उनीहरुले झोला र होटलको कोठाभित्र रहेको खाटमुनि लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको जनाइएको छ ।
‘दुवै जना ब्राउन सुगरका कारोबारी हुन् । सेवनकर्ता पनि हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘प्रारम्भिक अनुसन्धानबाट केही समयदेखि यसको अवैध धन्दामा लागेको खुलेको छ । भारतको पानीट्यांकीका लागुऔषध व्यापारीसँग सम्पर्कमा रहेर नेपालमा भित्राउँदै ब्राउन सुगर अन्यत्र सप्लाई गर्ने गरेको पाइएको छ ।’
पक्राउ परेका दुवै जनाले पानीट्यांकीबाट भारतीय नागरिकले ल्याइदिएपछि आफूहरुले झापाको काँकडभिट्टा नाकादेखि ब्राउन सुगर लिएर आएको प्रहरीलाई बताएका छन् । उनीहरुले भारतीय व्यापारीसँग प्रति ग्राम १० हजार रुपैयाँमा ब्राउन सुगर खरिद गर्ने गरेको पाइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरुले बरामद भएको ब्राउन सुगर एक लाख ४० हजार रुपैयाँभन्दा बढीमा खरिद गरेर ल्याएको खुलेको छ । प्रतिग्राम १० हजारजतिमा खरिद गरेर नेपाल ल्याएपछि त्योभन्दा महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ । नेपालमा ल्याएर उनीहरुले कति रुपैयाँमा बिक्री गर्ने गरेका छन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै विराटनगर महानगरपालिका–१० शान्ति चोकबाट प्रहरीले आइतबारराति ब्राउन सुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । एक जना भारतीय नागरिक हुन् । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ वर्षीय धमेन्द्र रजक र भारत अररीयाका २२ वर्षीय मोहम्द अफरोजलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट चार ग्राम पाँच सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी खड्काले बताए । उनीहरुले भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आएको खुलेको छ । पैदल नै रहेका उनीहरुले कसैलाई बिक्री गर्न खोज्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ । ब्राउन सुगरसहित पक्राउ परेका चारै जनाविरुद्ध सोमबार लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइने एसपी खड्काले बताए ।
एक किलो गाँजासहित दुई पक्राउ
यसैबीच मोरङको रतुवामाईबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई आइतबार साँझ नियन्त्रणमा लिएको छ । घरमै गाँजा राखेर बिक्री गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका दुवैजना वृद्ध पुरुष हुन् ।
रतुवामाई नगरपालिका–३ का ७३ वर्षीय प्रेमकुमार श्रेष्ठ र रतुवामाई–५ का ६५ वर्षीय देवीप्रसाद सिलवाललाई गाँजासहित पक्राउ गरिएको एसपी खड्काले बताए । उनका अनुसार श्रेष्ठको घरबाट पाँच सय ग्राम र सिलवालको घरबाट चार सय ५० ग्राम गाँजा बरामद भएको छ ।
पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस !