तीन सय भिडियोका सर्जक
![तीन सय भिडियोका सर्जक](https://annapurnapost.prixacdn.net/media/albums/devendra-panday0_20210117005320_iVAKrvJDYD.jpg)
काठमाडौं : ग्ल्यामर उद्योगमा प्रवेश गरेको छोटो समयमै आफूलाई निर्देशकका रूपमा स्थापित गराएका देवेन्द्र पाण्डेले अहिलेसम्म तीन सयभन्दा धेरै म्युजिक भिडियो दिइसकेका छन्। नेपाली चलचित्र उद्योगका माहानायक राजेश हमाललाई म्युजिक भिडियोमा खेलाएर उनले आफूलाई उनका प्रिय निर्देशकको दर्जामा राखेका छन्।
धेरै गिनेचुनेका चलचित्र निर्देशक पनि राजेशलाई अभिनय गराउन हिच्किचाइरहेका बेला एकपछि अर्को गीतको भिडियोमा पाण्डेले राजेशलाई पर्दामा उतारिरहेका छन्। भर्खरै मात्र राजेशलाई मुख्य भूमिकामा अभिनय गराएर तयार भएको ‘क्यारम् त नि’ बोलको भिडियो दर्शकमाझ आएको छ। उनले निर्देशन गरेको एउटा भिडियोले एकै दिन सर्वाधिक हेरिएको म्युजिक भिडियोको रेकर्ड कायम गरेको छ जसमा राजेश नै मुख्य कलाकार थिए।
२०४६ सालमा धादिङ धुनिबेँसी नगरपालिकामा जन्मेका पाण्डे २०५८ सालबाट साइड डान्सरका रूपमा कला क्षेत्रमा प्रवेश गरेका हुन्। साइड डान्सरपछि सहायक निर्देशक हुँदै उनी निर्देशनमा प्रवेश गरेका हुन्। पाण्डेले २०६५ सालमा खेमराज तिवारी र कमलराज न्यौपानेको ‘छुट्टिँदैमा माया मर्दैन’ बोलको गीतबाट निर्देशनमा डेब्यु गरेका हुन्। उनका कुन धाराको पानी, तिमी फूल बन, सुखमा तिमीसँगै, बग्ने खोला, मूलको पानी, चाइनाको रेल, प्रेम प्रस्तावलगायतका भिडियो चर्चित छन्। उनले दुईवटा फिल्म पनि निर्देशन गरेका छन्। उनले निर्देशन गरेका ‘वान साइड लभ’ र ‘भिलेन’ नामक चलचित्र तयार छन् भने नेपाली सेनाले आयोजना गरेको सर्ट फिल्म फेस्टिभलमा समेत अवार्ड पाएका छन्। यसैगरी एपिक म्युजिक अवार्ड, राप्ती म्युजिक अवार्डलगायतका पुरस्कार जितेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)