छेपारे सोच

छेपारे सोच

हाम्रा घरआँगन, करेसाबारी र यत्रतत्र पाहिने सरीसृप जीव हो– छेपारो। यसको टाउकामा लुर्कन अर्थात् सिउर हुन्छ भने घाँटीमा माल हुन्छ। छेपारोका थुप्रै विशेषता छन्। यसको पहिलो विशेषता यो हो कि यसले छिनछिनमा रातो, पहेंलो, खैरो आदि रङ बदल्छ। त्यसैले अनुहारभित्र अनेकौं चेहरा भएका नेताहरूलाई छेपारे नेता भन्ने गरिन्छ।

छेपारोको अर्को विशेषता पनि छ– छेपाराको घर हुँदैन। त्यसैले छेपारो बर्खामा ठुटोमा रुझिरहेको हुन्छ भने घमाइलो दिनमा घाममा अल्स्याइँ परिरहेको हुन्छ। त्यसैले छेपाराको यो विशेषतामा एउटा कहावत नै छ, ‘बर्खाको पानीमा रुझेर थर्थरी काम्दा छेपाराले परिकल्पना गर्छ रे– पानी बन्द हुनेबित्तिकै म नौतले घर बनाउँछु। आरामले त्यही घरमा बस्छु। जब पानी बन्द हुन्छ, घाम लाग्छ अनि ऊ सबै कुरा भुसुक्कै बिर्सिएर घाममा अल्स्याइँ परेर निदाउँछ रे ?’ यो नै छेपारे सोच हो।

यस्तो सोचलाई खेतमा सामा रोपेर धानको आशा गर्ने कोरा कल्पना पनि भन्न सकिन्छ। तर तपाईंहामीलाई थाहा नै छ, ‘खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्र्याउन सकिन्छ।’ खेतमा धानको बीउ रोप्यौं भने धान नै फल्छ, गहुँ फल्न सक्दैन। त्यसैले धान फलाउन धानै रोप्नुपर्छ, गहुँ फलाउन गहुँ होइन त ? प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागू हुन्छ। वास्तवमा मानिसको मनमस्तिष्क पनि एक किसिमको खेत नै हो। जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ। मनमस्तिष्कको खेतमा विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ, हुर्किन्छ, फुल्छ र फल्छ। तर विफलताको विचार रोपेर कदापि सफलता उत्पादन हुन सक्दैन। त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको खेतमा सामा रोपेर धान फल्ने आशा गर्नुजस्तै हो। के यो सम्भव छ ? कुनै हालतमा पनि सम्भव छैन।

तर हाम्रा देशका अधिकांश सानाठूला नेताले यस्तै असम्भव र आधारहीन कुरा गर्दै छन्। घरको नक्सा बनेको छैन, जग खनेको छैन, गारो उठेको छैन, तर नेताहरू छतको ढलान गर्न खोज्दै छन्। त्यही माथि राजनीतिक दलहरूको मनमुख एक छैन। सबै दलहरू आआफ्नै किसिमको छिर्के दाउमा छन्। आफ्नो दलगत स्वार्थका लागि नेपाली जनतालाई भुलाउँदै र झुक्याउँदै छन्। सबैका मुखमा राम राम त छ, तर बगलीमा भने छुरा छ। कसैको बगलीमा सानो छुरा होला त कसैको बगली ठूलो छुरा, यो कुरो अलग हो। तर सबैको बगलीमा छुरा अवश्य नै छ। यसमा कुनै शंका छैन। राष्ट्र निर्माणका नाउँमा यस्तै छेपारे सोच हाबी हुँदै गए र समर्थ नेतृत्व अगाडि आएर समस्याको दूरदर्शी समाधान निकाल्न सकेन भने राष्ट्र नै तहसनहस हुन बेर छैन।

एकपटक श्रीकृष्णले दुर्योधनलाई असल र खराब मान्छेहरूको सूची बनाएर ल्याउन अह्राएछन्। तर केही दिनपछि दुर्योधन खाली कागज लिएर फर्किएछन्। भनेछन्, ‘संसारमा एउटा असल मान्छे पनि भेटिएनन्। तर खराब मान्छे यति भेटिएकी उनीहरूको सूची बनाउन कागज नै पुग्दैन।’

श्रीकृष्णले यही काम युधिष्ठिरलाई सुम्पिएछन्। युधिष्ठिर पनि खाली कागज नै लिएर फर्किए। त्यो देखेर श्रीकृष्णले मुस्कुराउँदै युधिष्ठिरलाई सोधे, ‘ठुल्दाइ, तपाईं पनि खाली कागज नै लिएर फर्किनुभयो ?’ युधिष्ठिरले भने, ‘के गर्नु कृष्ण, संसारमा असल मान्छेहरू यति भेटिएकी जसको सूची बनाउन कागजै पुग्दैन। एउटा मात्र खराब मान्छे भेटियो, त्यो म हुँ।’ युधिष्ठिर आफ्नो खराब प्रवृत्ति हटाउन चाहन्थे। त्यसैले उनले आफूलाई संसारको सबैभन्दा खराब मानिस ठाने।

दलहरूले दलगत राजनीतिबाट माथि उठेर राष्ट्र निर्माणमा अर्जुनदृष्टि साँधेर साहसी पाइलाका साथ परिवर्तनका लागि ठूलो छलाङ लगाउन जरुरी हुन्छ।

तर नेपालको कथा भने अर्कै छ। यहाँ त भ्रष्टाचारीले आफूलाई असल ठान्छन्। सत्तालोलुपहरूले नि:स्वार्थको कुरा गर्छन्। रगतमा डुबेकाहरूले आफैंलाई जनमुक्तिका मसीहा मान्छन्। आफूलाई परिवर्तन गर्न नसक्नेहरूले मुलुककै कायापलटको हुँकार गर्छन्। त्यसैले नै नेपालको यो दुर्दशा भएको हो। नेता एक, चेहरा अनेक भएकाले नै राष्ट्र निर्माणको पाइलापाइलामा अवरोध आएको हो।

यस्ता छेपारेहरूलाई नै पटकपटक सत्तामा पुर्‍याउनुमा आम नागरिकको पनि दोष छ। त्यसैले राष्ट्र निर्माणका लागि आम नागरिकले पनि आफ्नो सोच परिवर्तन गर्न जरुरी छ। सोच अर्थात् विचारको उद्गमस्थल मस्तिष्क हो। विचारको प्रभाव पनि सबैभन्दा बढी मस्तिष्कमा नै पर्छ अनि मस्तिष्कमार्फत सम्पूर्ण शरीरमा पर्छ। वैज्ञानिकरूपमा नै प्रमाणित भएको छ कि जब मानिसका मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले गर्दा विचारसँग सम्बन्धित रसायन, न्युरो पेप्टाइडहरू सक्रिय हुन्छन्। न्युरोपेप्टाइड केवल मस्तिष्कमा मात्र हुँदैन, शरीरभरि नै रहन्छ, पेट, मिर्गौला तथा कलेजोलगायतका अंगमा पनि यसको उपस्थिति हुन्छ। यसै कारणले नै विचारले मानिसको शरीरिक ढाँचा तथा रंगढंग पनि निर्धारित गर्ने गर्छ।

मानिसको मस्तिष्कमा सयौं प्रकारका स्नायु रसायन हुन्छन्, तीमध्ये सेरोटोनिन, नोरएपिनेफ्रिन तथा डोपामिन यस्ता रसायन हुन्, जसले मानिसलाई आनन्द, खुसी तथा प्रसन्नता प्रदान गर्छन्। मानिसको मस्तिष्कमा यी रसायन सन्तुलित मात्रामा रहेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेसन हुने गर्छ। त्यसैले त भनिएको नै छ– सकारात्मक सोच तथा शुभसंकल्प शक्तिले नै मानिसलाई समर्थ बनाउँछ। समर्थ नागरिकले नै राष्ट्र निर्माण गर्न सक्छन्। यो एक कोरा विचार होइन, विज्ञान हो, प्राक्टिकल हो।

अत: राष्ट्र निर्माणका लागि सबैभन्दा पहिला सृजनात्मक सोचको आवश्यकता पर्छ र अग्रगामी सोचको जरुरत पर्छ। दलहरूले दलगत राजनीतिबाट माथि उठेर राष्ट्र निर्माणमा अर्जुनदृष्टि साँधेर साहसी पाइलाका साथ परिवर्तनका लागि ठूलो छलाङ लगाउन जरुरी हुन्छ। त्यो किनभने राजनीतिक, आर्थिक, शैक्षिक तथा सामाजिक संरचनालाई नयाँ ढंगले पुनर्संरचना नगर्दासम्म पछिल्लो समय देखा परेको छेपारे सोचले राष्ट्र निर्माण हुन कदापि सक्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.