नियन्त्रण गुमाउँदै सेयर बजार

नियन्त्रण गुमाउँदै सेयर बजार

काठमाडौं : कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्।

‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।’

धितोपत्र कारोबारसम्बन्धी कानुनले यसरी कुनै पनि कम्पनीको आन्तरिक सूचनाका आधारमा सेयर किनबेच गर्न नपाइने व्यवस्था गरेका छन्। धितोपत्र बोर्डले पटक–पटक सूचना निकालेर यस्तो गैरकानुनी कारोबार नगर्न आग्रह गर्दै आएको छ। तर, न नियामकले यस्तो कारोबारको नियमन गरी कारबाही गर्न सकेको छ न त नियम पालना नै भएको छ।

मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ आउँदै छ भन्ने हल्ला फैलिएपछि एक महिनाअघि ३ सय २५ रुपैयाँमा पाइने यो कम्पनीको सेयरको भाउ साढे ४ सय पुगेको छ। दुई महिनाअघि २  सय ८० रुपैयाँ रहेको एनसीसी बैंकको सेयर नबिलसँग मर्ज हुँदै छ भन्ने हल्ला चलाएर ३ सय ७० रुपैयाँसम्म पुर्‍याइएको थियो। यो कम्पनीको भाउ घटेर ३ सय १५ रुपैयाँमा झरिसक्यो। १ सय ७५ रुपैयाँको सिभिल बैंकको सेयरलाई हिमालयन बैंकसँग मर्जरमा जान लागेको हल्ला फिँजाएर २ सय ४० रुपैयाँसम्म पुर्‍याइएको थियो। यो पनि अहिले घट्दो प्रवृत्तिमै छ।

नागरिक लगानी कोषले स्टक डिलर लिएपछि त झनै सजिलो भएको छ। कुनै पनि सूत्रबाट स्टक डिलरले कुन कम्पनीको सेयर किन्दै छ भन्ने जानकारी लिने र त्यही सेयर पहिले नै आफूले किनिहाल्ने परिपाटी विकास भएको ब्रोकर र लगानीकर्ता बताउँछन्।


‘सरकारले खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ। जुन कुरा ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।
प्रकाश तिवारी, विश्लेषक
 

नेपाल राष्ट्र बैंकले आफैं लगानीकर्ता भएको बैंकबाट ऋण लिन नपाइने भनेपछि बैंकका साहुजीहरूले मिलेमतो गरेजस्तै अहिले सेयर बजारमा पनि परस्परका कम्पनीको सेयर मूल्य बढाउने ‘खेल’ चलिरहेको लगानीकर्ता बताउँछन्। ‘एउटा समूह नै बनाएर कुनै कम्पनीको सेयर किन्ने र आ–आफूमै कारोबार गरेर भाउ बढाउँदै लाने गरिएको छ’, विश्लेषक तिवारी भन्छन्, ‘यो कुरा सबैलाई थाहा छ तर नियन्त्रण गर्न कोही तयार छैन।’

नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे ७ सय रुपैयाँमा स्थिर भयो। त्यसलाई बढाउन केही महिनाअघि अनौठो हल्ला चलाइयो। नगद लाभांश दिँदै आएको यो कम्पनीलाई यो वर्षचाहिँ बोनस सेयर ‘दिन लगाउने’ भनेर भाउ बढाउन थालियो। ‘सरकारको बहुमत स्वामित्वमा भएको कम्पनीको सञ्चालक समितिलाई सेयर बजारका खेलाडीले बोनस सेयर दिन बाध्य पार्छौं भनेर सेयरको भाउ बढाउन सकिन्छ भने यस्तो बजारमा लगानीकर्ता कति सुरक्षित होलान् ?’, तिवारी प्रश्न गर्छन्।

एउटा कम्पनीका प्रवद्र्धकले अर्को कम्पनीको सेयर किन्ने र त्यसपछि मर्जरका लागि छलफल गर्ने भनेर पत्र लेख्ने गरेको लगानीकर्ता बताउँछन्। यसरी भ्रम फैलाएर ठूला कम्पनीका मालिकले नै सेयर बजारबाट पैसा बटुल्न थालेका छन्। कुन कम्पनीको नाफा र प्रतिसेयर आम्दानी कति आउँदै छ भन्ने वित्तीय विवरण प्रकाशन नहुँदै धेरैजसो ठूला लगानीकर्तालाई थाहा भइसक्छ।
त्यसकै आडमा केही व्यक्तिले सेयर किन्दै र भाउ बढाउँदै जान्छन्। मूल्य दोब्बर भएपछि नयाँ लगानीकर्ता आकर्षित हुन्छन्। तर, त्यतिञ्जेल ‘खेलाडीहरू’ले लिनुपर्ने नाफा लिइसक्छन् र आफ्नो सेयर बेचेर निस्कन्छन्। यस्तो बेला अन्तिममा लगानी गर्ने लगानीकर्ता डुब्छन्। अहिले यस्तो जोखिम बढ्दै गएको विश्लेषक बताउँछन्।

राष्ट्र बैंकसँग छ चाबी
सेयर बजारको यो उछाललाई नियन्त्रण गर्ने मुख्य हतियार राष्ट्र बैंकसँग छ। केन्द्रीय बैंकले सेयर धितो कर्जालाई नियन्त्रण गरिदिने हो भने बजार यसरी नै बढ्ने अवस्था रहँदैन। यसअघि कोरोना महामारीमा पुँजी बजारलाई उकास्न राष्ट्र बैंक नीतिगत रूपमा लचक बनेको थियो।

२ साउनमा राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरी एउटै सेयरको धितोमा पहिलेभन्दा ७–८ प्रतिशत बढी ऋण दिन बाटो खोलिदिएको थियो। बैंकमा पैसा थुप्रिएकाले ब्याजदर पनि सस्तिँदै गयो। चालु वर्ष अधिकांश क्षेत्रमा बैंकको ऋण खासै बढ्न नसकेका बेला सेयरको धितोमा ऋण लगानी बढेको छ। मंसिर मसान्तसम्मको तथ्यांकअनुसार सेयरको धितोमा दिइने मार्जिन कर्जामा बैंकको लगानी पोहोरभन्दा झन्डै ३५ प्रतिशत बढेको राष्ट्र बैंकले बताएको छ।

यसरी बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी केन्द्रित गरेपछि सेयर बजार त बढेको छ। तर, वित्तीय स्थायित्व जोखिमपूर्ण हुँदै गएको बैंकर बताउँछन्। ०६५ सालअघि घरजग्गामा लगानी गरेजस्तै अहिले कतिपय फाइनान्स कम्पनीले सेयरमै मात्र धेरै लगानी गर्न थालेका छन्। ठूला र वित्तीय संस्था बलियो भनिएका बैंक पनि सेयरमा लगानी गरेर पैसा कमाउने हुलमा मिसिन थालेका छन्। यसले जानअञ्जानमा लगानी गर्ने सोझासिधा लगानीकर्ताको सम्पत्ति अझै बढी जोखिममा धकेलिरहेको विश्लेषक बताउँछन्।

सात महिनाअघि नयाँ मौद्रिक नीति घोषणा गर्दा नेप्से सूचकांक १३८६ अंकमा थियो। त्यही सूचक २४७५ अंकमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्चतम बिन्दु हो। यसबीच, कतिपय कम्पनीको सेयर मूल्य तेब्बर र धेरैको दोब्बर हाराहारी बढेको छ। यस्तो बेला राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत सेयर धितो कर्जालाई कडाइ गर्ने सम्भावना बढी छ। यसअघि पनि सेयर बजार कीर्तिमानी उचाइमा पुग्न थालेपछि सेयर कर्जामा धितो मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण दिन सकिने सुविधा थियो। बजार घट्दै गएपछि जोखिम कम भएको भनेर राष्ट्र बैंकले कर्जा नीतिलाई खुकुलो बनाउँदै लगेको थियो।

पानीमा फोका उठेजसरी सेयर बजार बढ्न थाल्यो भने यसले समग्र वित्तीय स्थायित्वमै असर गर्न सक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। जग्गाको मूल्य कहिल्यै नघटेका कारण बैंकहरू जस्तोसुकै संकटमा पनि बचेका छन्। तर, अहिले जसरी सेयरमा ऋण बढाइएको छ, यो गतिमा रोक नलगाउने हो भने बैंक तथा वित्तीय संस्था धराशयी हुन सक्ने उनीहरू बताउँछन्। किनकि, घरजग्गाजस्तो सेयर बजार सधैं महँगिने सम्भावना रहँदैन।

सेयरको सट्टेबाजीमा मात्रै बैंकले धेरै ऋण दिँदा उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी जान पाउँदैन। परिणामतः आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्छ। केही कम्पनीको सेयर मूल्य बढ्नुले अर्थतन्त्रको आकार बढ्दैन। एकातिर वित्तीय स्थायित्वमा संकट आउन सक्ने, अर्कातिर आर्थिक वृद्धिमा अवरोध गर्ने भएकाले सेयर बजारलाई अनियन्त्रित गतिमा बढ्ने सुविधा राष्ट्र बैंकले नदिने अधिकारीहरू बताउँछन्। सम्भवतः फागुन पहिलो साता आउन सक्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत कडाइ गरिदियो भने अहिलेको सेयर बजार ओरालो लाग्न थाल्छ। यसबाट धेरैजसो लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउने जोखिम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.