किशोरी हत्याको विरोधमा नुवाकोटमा प्रदर्शन
नुवाकोट : बैतडीकी किशोरीलाई बलात्कार गरी हत्या गरेको विरोधमा सोमबार नुवाकोटमा प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरुले दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।
बैतडीको दोगडकादार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा नुवाकोटमा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन्। नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारबाट स्वतन्त्र न्यायप्रेमी समूहले आयोजना गरेको विरोध प्रर्दशनमा सो क्याम्पसका विद्यार्थीहरु, सर्वसाधारण, अधिकारकर्मी, नागरिक समाजका व्यक्तिहरु तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
'शान्तिपूर्ण प्रर्दशनमा युवा विद्यार्थीले हत्यारालाई तत्काल पक्राउ गर', 'दोषीलदाई कारवाही गर', 'बलात्कारीलाई फाँसी दे' लगायतका नारा लगाएका थिए। बट्टारबाट सुरु भएको सो र्याली विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो।
बलात्कारपछि हत्या गरी शव फालिएको अवस्थामा जंगलमा भेटिएकी भागरथीको ४ दिन बितिसक्दा समेत दोषी पत्ता लागेर पक्राउ हुन सकेको छैन। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टका परिवारलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको हो।