प्रधानमन्त्री ओलीले पदसँग संविधान र संघीयता साटे : जनार्द्धन शर्मा
काठमाडौं : प्रचण्ड-नेपाल समूह नेकपाको स्थायी समिति सदस्य जनार्द्धन शर्मा 'प्रभाकर'ले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको आरोप लगाएका छन्। बुधबार राजधानीमा संसद विघटनविरुद्धको शक्तिप्रदर्शनपछि विरोधसभामा सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्।
'सात दशक लामो संघर्षबाट ल्याएको संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साट्नुभयो। हाम्रो संघीयतालाई उहाँले पदसँग साटनुभयो,' उनले भने,' संविधान पदसँग साटिन सक्छ ? कि संघीयता कुनै सनकमा खारेज हुनसक्छ ?
उनले संघीयता सनकमा खारेज गर्न नपाइने भन्दै केपी ओलीको हर्कतका विरुद्ध आन्दोलनम उत्रिनु परेको बताए। नेता शर्माले कानुन बनाउने क्रममा जनताको अधिकार भाँचभुच गरिएको समेत आरोप लगाए। उनले भने,' कानुन बनाउने क्रममा जनताको अधिकार भाँचभुच गरिएको छ। संघीयता लागू गर्न नदिनका लागि अपांग बनाइएको छ। जनताका संकट समाधानका सट्टा ओम्नीहरुलाई अगाडि बढाएर ओम्नीका नाममा जनताको जीवनमाथि खेलबाड गरिएको छ।'
उनले अब जनताको विरोधले नै संघीयता विरोधी, गणतन्त्र विरोधी र जनअधिकार विरोधीलाई समाप्त पार्ने जिकिर गरे। केपी ओलीलाई गाली मात्र नगरेर केपी ओली प्रवृत्ति पैदा हुनुको पछाडिको समीक्षा गर्नु आवश्यक रहेको उनले बताए। उनले त्यसको समिक्षा गरिएन भने फेरि महेन्द्रहरु जन्मिने र फेरि ओली जन्मिने जिकिर गरे