नेवाः प्रणय दिवस

नेवाः प्रणय दिवस

युवा पिँढीको एउटा महत्त्वपूर्ण पर्वका रूपमा रहिआएको छ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको प्रेम बलिदानसँग सम्बन्धित छ भनिँदै आएको छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरू प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्दै यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्मविरुद्धको कदम भन्थे। अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने उनको बुझाइ थियो। त्यसैले उनले राजाज्ञालाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि युवालाई प्रेरित मात्र गरेनन्; युवायुवतीका जोडी तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रमसमेत सम्पन्न गरे।

राजाज्ञाको अपमान गरेको आरोपमा सेन्ट भ्यालेन्टाइनलाई ईशापूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरी सेन्ट भ्यालेन्टाइनको सम्झनामा आज पनि हरेक वर्ष फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा उत्सव मनाउने गरिएको छ।

संसार नै प्रेम र विश्वासमा अडेको सन्दर्भमा प्रेम गर्नु वा प्रेम चाहनु कुनै अनौठो होइन। पाप र अपराध पनि होइन प्रेम। जोसुकैको पनि सफल जीवनअगाडि अथवा पछाडि प्रेमको देन रहेको हुन्छ भन्नेमा अब कुनै सन्देह बाँकी छैन। हाम्रै समाजवरिपरि यस्ता उदाहरण हामीले धेरै देखेका छौं; भेटेका छौं र अझै देख्न अथवा भेट्न सक्छौं।

विश्व परिप्रेक्ष्यमा प्रेमको नाउँमा भ्यालेन्टाइन डे संस्कृतिको सुरुवात भएजस्तै नेपालमा विशेषगरी नेवार समुदायमा पनि भ्यालेन्टाइन डेलाई सम्झाउने ‘मतिना पारू’ को संस्कृति रहेको चर्चा हुने गरेको छ। मतिना पारू संस्कृतिको पुरानो र लिखित इतिहास नभेटिए पनि नेवार युवाले यःमरि पुन्हिको भोलिपल्टको थिँल्लागा – प्रतिपदालाई मतिना पारूको नामले प्रणय दिवसका रूपमा मनाएको हुनसक्ने अनुमान संस्कृतिविद्हरूको छ। यद्यपि यो संस्कृति अहिले विकिपिडिया र केही अनलाइनमा चर्चा हुनुबाहेक अस्तित्वमा रहेजस्तो लाग्दैन। पछिल्लो समय फेरि नेवार युवाले यो संस्कृतिलाई ब्युँताउने प्रयास गरिरहेका छन्। यो संस्कृति यसअघि नै अस्तित्वमा थियो भने यसलाई पुनः उजागर गर्नुपर्छ र यति राम्रो संस्कृतिप्रति हामीले गौरव गर्न सक्नुपर्छ। होइन भने संस्कृतिलाई ठट्टा वा लहडबाजीका रूपमा मात्रै लिनु हुँदैन।

नेवार भाषामा मतिना भनेको प्रेम हो भने पारू भनेको प्रतिपदा अर्थात् पूर्णिमाको भोलिपल्ट हो। मतिना पारूलाई प्रेम प्रतिपदा पनि भन्न सकिन्छ। नेपालमा प्राय मंसिर–पुस महिनामा पर्ने धान्य पूर्णिमाको दिनलाई नेवार समुदायले यःमरि पुन्हिका रूपमा मनाउँदै आएका छन्। यस अर्थमा यःमरि पुन्हिको भोलिपल्ट मतिना पारू पर्छ। नेपाल संवत्अनुसार हरेक वर्ष थिँल्लागा पारूको दिनलाई मतिना पारू अर्थात् प्रेम प्रतिपदा भनिएको पाइन्छ। प्रेम प्रतिपदालाई नै नेवार समुदायका युवाले प्रणय दिवसका रूपमा मनाउने गरेको अनुमान छ।

इतिहासविद् भुवनलाल प्रधानले आफ्नो पुस्तक ‘नेपालको इतिहास र संस्कृतिका केही पक्ष’ मा उल्लेख गरेअनुसार लिच्छवि राजा वृषभदेव (वि.सं. ४४७–४७२) का पालादेखि नै यःमरि पुन्हि मनाउन थालिएको अनुमान छ। यःमरि पुन्हिसँगसँगै मतिना पारूको संस्कृति सुरु भएको हो वा होइन भन्ने विषयमा कुनै ठोस प्रमाण भने छैन। पछिल्लो समय विकिपिडियादेखि केही अनलाइन र छापामाध्यममा पनि मतिना पारू अर्थात् नेवाः प्रणय दिवसका बारेमा उल्लेख गरिएको र नेवार समुदायका युवाहरूले चासोपूर्वक यसलाई पछ्याउन थालेको पाइए पनि यसको कुनै लिखित इतिहास अथवा हामीले प्रयोग गर्ने पात्रोहरूमा पनि यसबारेमा लेखिएको भने पाइँदैन।

एक वर्षअघि नै प्रणय दिवसकै सन्दर्भमा मतिना पारूका विषयमा केही बुझ्ने प्रयास गर्दा वरिष्ठ संस्कृतिविद् हरिराम जोशीले नेवाः संस्कृतिमा मतिना पारू अर्थात् प्रणय दिवसको चलन रहेको थाहा नभएको बताउँदै बीचको केही समय नेवार युवाले पश्चिमा संस्कृतिको प्रभावमा यःमरि पुन्हिको भोलिपल्ट अर्थात् थिँल्लागा –प्रतिपदालाई मतिना पारू अर्थात् नेवाः प्रणय दिवस भनेर आफ्नै संस्कृतिका रूपमा अपनाएको हुन सक्ने बताउनुभएको थियो। कृष्णाष्टमी र नेवार समुदायको सिनाज्याको समयलाई केही हदसम्म प्रणय स्वतन्त्रताका रूपमा लिइने गरेको उहाँले बताउनुभएको थियो।

वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पनि नेवाः संस्कृतिमा मतिना पारू अथवा नेवाः प्रणय दिवसको चलन रहेको बारेमा आफूलाई थाहा नभएको बताउनुभयो। बीचका केही समय युवाले यो चलन सुरु गरेको हुन सक्ने बताउँदै अहिले त्यो चलन अस्तित्वमा नरहेको उहाँले बताउनुभएको थियो।

इतिहास तथा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ भने आफूले पनि मतिना पारूका बारेमा सुनेको र कतै पढेको तर यसबारेमा विस्तृतमा जानकारी नभएको बताउनुभएको थियो। यद्यपि प्रणय दिवसकै सन्दर्भमा भन्नुपर्दा नेवार संस्कृतिमा यसलाई कही हदसम्म छुट वा सहुलियत दिएको पाइने उहाँले बताउनुभएको थियो।

विजयादशमीको मध्यरातमा भक्तपुरको तलेजुको पायः द्यः (खड्गदेव) जात्रामा पनि युवावयका केटा र केटी जोडी बाँधिएर घुम्न निस्कने र यसमा परिवारको समेत कुनै रोकटोक नहुने डा. श्रेष्ठको भनाइ छ। यसैगरी फागुपूर्णिमा अर्थात् होली पुन्हिको अवसरमा पनि भक्तपुरमा दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरमा फागुन शुक्ल अष्टमीदेखि होली पुर्णिमाका दिनसम्म भीमसेनको लिंग र द्रौपदीको योनिको प्रतीकलाई झुन्ड्याएर यौन समागम गराइने चलन छ। यसलाई प्रणयको चरम उत्कर्षका रूपमा लिइन्छ। यहाँ पनि तन्नेरी पुस्ताको भीड लाग्ने गर्छ। यसरी नेवारी संस्कृतिभित्रका विभिन्न पाटामा प्रणयलाई प्रधानता दिइएको पाइन्छ।

नेवारी संस्कृतिभित्रका विभिन्न पाटामा प्रणयलाई प्रधानता दिइएको छ। 

 इतिहास तथा संस्कृतिविद् विनोदराज शर्माले पनि मतिना पारूका बारेमा सुनेको तर यो तिथिमितिका बारेमा पात्रोमा अहिलेसम्म उल्लेख गरिएको थाहा नभएको बताउनुभएको छ। उहाँ भन्नुहुन्छ, ‘यद्यपि विनाआधार कसैले मतिना पारू अर्थात् नेवाः प्रणय दिवसका बारेमा विषयको उठान गरेको नहुनुपर्ने हो। कहींकतै यसको चलन भएकै आधारमा यो विषयलाई उठाइएको हुनुपर्छ।’ हरेक चाडपर्वमा छोराचेलीलगायत मनपरेका मान्छेलाई बोलाएर खुवाउने चलन पुरानै हो। यःमरि पुन्हिको भोलिपल्ट अर्थात् थिँल्लागा – प्रतिपदाका दिनमा यसैगरी बोलाउने चलन अद्यापि छ।

विकिपिडियामै लेखिइसकेपछि अब यसको आधार अथवा इतिहासको खोजीनीति स्वयं संस्कृतिविद्हरूले नै गर्नुपर्ने विचार शर्माको रहेको छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः, गणेशराम लाछीलगायतले भने नेवारी समाजमा मतिना पारूको अस्तित्व रहेको स्विकार्नुभएको छ। पछिल्लोपटक २०७७ साल पुस १८ गतेको गोरखापत्रमा यलु जोशीद्वारा प्रेषित ‘नेवारी समाजमा मनाइयो प्रेमदिवस’ शीर्षकको समाचार प्रकाशित भएको छ।

समाजीकरणका क्रममा नयाँनयाँ समाज र संस्कृतिसँगको घुलमिल र सांस्कृतिक परिवर्तन (कल्चरल चेन्ज) र सांस्कृतिक आत्मसात (कल्चरल एसिमिलेसन) ले गर्दा आधुनिक सभ्यता र संस्कृतिको प्रभाव नेपाली समाजमा पनि गहिरैसँग परेकाले हाम्रै समाजभित्रको नेवार समुदायका युवाले पनि मतिना पारूको सुरुवात गरेको अनुमान गर्न सकिन्छ। हामीले जुन कुराको चलन चलायौं त्यही नै कालान्तरमा संस्कृति बन्ने हुनाले मतिना पारू पनि कालान्तरमा नेवाः संस्कृतिका रूपमा विकसित हुने अनुमान गर्न सकिन्छ।

 धर्म, संस्कृति, अनुकूल समय, स्वास्थ्य र वातावरणको कुरा गर्दा निसन्देह माया–प्रेमका कुरा पनि जोडिएर आउँछ। संस्कृतिभित्र माया–प्रेमका समय र सन्दर्भ पनि जोडिएको र नजानिँदो गरी त्यस्तो माया–प्रेम हुर्किरहेको हुन्छ र हुर्काइरहेको हुन्छ। विविध सामाजिक बन्धन हुँदाहुँदै पनि संस्कृतिले नै माया–प्रेमलाई मलजल प्रदान गर्ने तथ्यलाई इन्कार गर्न सकिन्न। यःमरि पुन्हि पनि माया–प्रेमलाई मलजल गर्ने र हुर्काउने पर्वका रूपमा रहेको छ। तिहारमा देउसीभैलो खेलेजस्तै यःमरि पुन्हिका दिन पनि नेवार समुदायभित्र टोलटोलमा गएर भट्याउँदै यःमरि माग्ने चलन छ। यःमरि माग्न विशेषगरी युवायुवती र केटाकेटी जाने गर्छन्। अरूबेला भेट नहुने युवायुवतीको पनि यस दिन देखभेट हुन्छ। देखभेटकै क्रममा चिनापर्ची हुन्छ। मनको भावना साटासाट हुन्छ। मायाप्रीति बस्छ। तर यःमरि माग्ने बेला सबैसामु खुलेर कुरा गर्न नसकिने र मनको भावना व्यक्त गर्न नसकिने हुँदा भोलिपल्ट भेट्ने मेसो मिलाउने चलन चलेको हुनुपर्छ।

आफ्नै समाज र संस्कृतिभित्र प्रेमको चोखो भावनालाई अभिव्यक्त गर्ने यति राम्रो चलन नेवार संस्कृतिभित्र हुनुलाई गौरवका रूपमा लिनुपर्छ। आफ्नै संस्कृतिलाई उजागर गर्ने हो भने हाम्रो आफ्नो संस्कृतिले संरक्षण र संवद्र्धनको अवसर पनि पाउँछ। यति मात्रै होइन; यति राम्रो संस्कृतिले संसारभरि फैलिने अवसर पनि पाउँछ र हाम्रो पहिचान संसारभरि फैलिन्छ। त्यसैले अरूको संस्कृतिमा रमाउनुभन्दा आफ्नै संस्कृतिमा रमाउने कोसिस गर्नुलाई सराहनीय मान्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.