झाँक्री निवासमा समर्थकको नाराबाजी
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्षमा उनको शंखमुल निवासमा समर्थक नाराबाजीमा उत्रेका छन्। झाँक्रीलाई समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर्न घरमा पुगेपछि अखिल र प्रचण्ड-माधव पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन्।
उनीहरुले राष्ट्रपति,प्रधानमन्त्री विरुद्ध र प्रतिगमन मूर्दावाद, प्रहरी हस्तक्षेप बन्द गर लगायतका नारा लगाइरहेका छन्। झाँक्रीले यो राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन्। ‘मलाई फोन आएको थियो, मैले पक्राउ पुर्जी चाहिन्छ भनेकी छु’ निवासमा उनले पत्रकारसँग भनिन्, ‘राज्यले नागरिकलाई प्रक्रिया पुर्याएर पक्राउ गर्न पाउँछ। पुर्जी दियो भने जानैपर्छ।’
बिहीबार बिहान महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न निवास बाहिर प्रहरी पुगेको छ। उनले दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न प्रहरीले कार्यालयमा बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। तर, झाँक्री हाजिर नभएपछि प्रहरी उनलाई पक्राउ गर्न घरमै पुगेको थापाले बताए।
राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न अनेम संघले गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई समेत ज्ञापनपत्र बुझाएका थिए।
झाँक्रीले गोरखाको एक कार्यक्रममा भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु : निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’