चट्टान फोड्दै, मोटर गुडाउँदै
कालीकोट : राजनीतिक दल र नेताका लागि सदाबहार नारा बन्यो ‘कर्णाली करिडोर’। तर धेरै वर्ष बिते। कालीकोटबाट बाजुरा हुँदै हुम्लासम्म जोड्ने यो सडक निर्माणमा तत्कालीन नेतृत्वले चासो दिएनन्। त्यसको परिणाम सर्वसाधारणले सास्ती भोगे। सडक सुविधा नहुँदा हुम्ला र बाजुराका नागरिक हप्तौंसम्म पैदल हिँडे।
हुनेले त जहाज चढ्थे। नहुनेहरू भने सकिनसकी पैदलै हिँड्थे। अस्पतालसम्म पुग्ने बाटो थिएन। स्थानीयले बिरामीलाइै डोकोमै बोकेर अस्पतालसम्म लगे। यही क्रममा कति बिरामीहरूको त बाटोमै ज्यान गयो। नुन र तेल बोक्दै स्थानीयले आफ्ना दिन बिताए। तर अहिले हुम्लाका नागरिक आफ्नै आँगनमा मोटर देख्न पाइनेमा ढुक्क छन्। गाडी चढ्ने स्थानीयको सपना पूरा गर्ने कसरत जारी छ। पछिल्लो समय कर्णाली करिडोरको निर्माणमा भएको प्रगतिले पनि कर्णालीवासीको मोटर चढ्ने सपना चाँडै पूरा हुने देखिएको हो।
हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको देशको एक मात्र जिल्ला हो हुम्ला। हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कसरतले अब चाँडै पूर्णता पाउने भएको छ। यसैका लागि पछिल्लो समय नेपाली सेनाले सडक निर्माणलाई तीव्रता दिएको छ। निकै कठिन मानिएको यो सडकअन्तर्गत अक्करे भीर छिचोल्दै र कडा चट्टान फोड्दै सेनाले सडक खनिरहेको छ। नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको कर्णाली करिडोरको अधिकांश स्थानमा हाल साना जिप सञ्चालनमा आएका छन्। यसले स्थानीयलाई सहज भएको छ।
निर्माण पूरा र स्तरोन्नतिको काम बाँकी नै रहे पनि कर्णाली करिडोरमा गाडी गुड्न थालेपछि कालीकोट, बाजुरा र हुम्लाका नागरिकको जीवनस्तरमा सुधार आउन थालेको छ। आंशिक रूपमा भए पनि सर्वसाधारणले गाडी चढ्न पाएका छन्। बिरामीलाई डोकोमा बोक्नुपर्ने बाध्यता टरेको छ।
गाडी र एम्बुलेन्स चल्न थालेका छन्। भारी बोक्नुपर्ने समस्या टरेको छ। विकास निर्माणका सामान ढुवानीमा पनि सहज भएको छ। करिडोरमा मोटर गुड्न थालेसँगै कालीकोट, बाजुरा र हुम्लासम्म विकास निर्माणका लागि आवश्यक पर्ने सामान ढुवानी हुन थालेको छ। यसले दुर्गममा पनि भौतिक विकासले गति लिएको छ। समग्रमा कर्णालीवासीका लागि कर्णाली करिडोर भाग्यमार्ग नै बनेको छ।
आउँदो जेठभित्रै हुम्लामा मोटर पुग्ने
कालीकोटको खुलालुबाट कर्णाली करिडोर सुरु भएको छ। जसअन्तर्गत कालीकोटमा ४० किलोमिटर भाग पर्दछ। यस्तै बाजुरामा ४३ किलोमिटर र हुम्लामा १ सय १३ किलोमिटर सडक खण्ड पर्दछ। जम्मा १ सय ७४ किलोमिटर लामो यो सडकको ५१ किलोमिटर सडक विभाग र १ सय २३ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेका छन्।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आफूहरूले जिम्मा पाएको १ सय २३ किलोमिटर सडकमध्ये १ सय २१ किलोमिटर सडकको ट्र्याक खोलिसकेको बताए। उनले भने, ‘अब हुम्लाखण्डको दुई किलोमिटर चट्टानी भागमात्र बाँकी छ, एउटा पुल र बाँकी रहेको दुई किलोमिटर सडक निर्माण गरेर आगामी जेठसम्म पूरै सडक हस्तान्तरण गर्नेछौं।’ योसँगै हुम्ला पनि सडक सञ्जालमा जोडिने र स्थानीयको जीवनमा कायापलट हुने सेनाको विश्वास छ।
करिडोर निर्माणको जिम्मा लिएको करिब ६ वर्षको अवधिमा सेनाले ठूलाठूला चट्टान फोड्दै १ सय २० किलोमिटर सडकमा हाल गाडीसमेत गुडाइसकेको छ। हाल कालीकोटको लालीघाट बजारदेखि बाजुराको हिमाली गाउँपालिकाको लेबडीसम्मको ७८ किलोमिटर सडकमा सार्वजनिक यातायात सञ्चालन भइसकेको छ।
कर्णाली करिडोर निर्माण पूरा भएमा चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्नेछ।
बाजुराको लेडीबाट हुम्लाको गल्फागाडसम्म सेनाको सामान ढुवानी गर्ने गाडीहरू गुडिरहेका छन्। यो करिडोरको कुल लागत २ अर्ब ८४ करोड १६ लाख ११ हजार छ। यो वर्ष करिडोर निर्माणका लागि सरकारले १८ करोड ६३ लाख बजेट निकासा दिएको छ। गत आर्थिक वर्षसम्म १ अर्ब ५३ करोड बजेट खर्च भइसकेको छ।
कर्णाली करिडोरमा पर्ने सान्नीगाड, फुगाड, जुड्डीगाड, कुवाडी खोला, गल्फागाडमा बेलिब्रिज निर्माण भइसकेका छन्। खुलालुमा बेलिब्रिज निर्माण भइरहेको छ। कर्णाली करिडोर निर्माण पूरा भएमा चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्नेछ।
भारी बोक्ने दिन गए
कालीकोट पचाल झरनाका मनवीर बुढा नुन लिन ३३ दिन पैदल हिँडेर कैलालीको राजापुर पुगेको अहिले पनि सम्झन्छन्। तर हिजोआज दिन फेरिएका छन्। कर्णाली करिडोरमा गाडी गुड्न थालेपछि आँगनमै दैनिक उपभोग्य सामान पाइन थालेको छ। अहिले उनलाई थाप्लोमा भारी बोक्नु पर्दैन। कर्णाली करिडोरअन्तर्गत जिते बजारबाट गाडीमा गाउँसँगै जोडिएको लैफुसम्म गाडीमै यात्रा गर्छन्।
कर्णाली करिडोरअन्तर्गत सडक निर्माणका क्रममा कडा चट्टान फुटाउँदै नेपाली सेना।
२०७१ साल चैत ९ गतेबाट नेपाली सेनाले सडक निर्माणको काम सुरु गरेको हो। २०७४ सालमै कालीकोटबाट बाजुरासम्म सडकको ट्र्याक खुलेपछि गाडी गुडिरहेका छन्। गाउँसम्म गाडी गुड्न थालेपछि स्थानीयले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको हो। ठूला भीरमा कडा चट्टानहरू फुटाउन त्यति सहज थिएन। तर नेपाली सेनाले कल्पना नगरेकै समयअगावै यो सडक बनायो।
यस्तै, बाजुराको पाण्डवगुफा गाउँपालिका—३ कावीरबहादुर शाहीको पनि बाध्यता त्यस्तै थियो। उनी पनि सामान किन्न कर्णाली करिडोर सञ्चालन हुनुपुर्व पाँच दिन पैदलै जितेबजार आउनु पथ्र्यो। जाडो समयमा होस् वा गर्मी समयमा थाप्लोमा ५० किलोको भारी भीरको बाटो निकै कष्ट गरेर यात्रा गर्थे।
गाउँबाट हाट गएको मान्छे घर नपुगेसम्म परिवारलाई चिन्ता हुन्थ्यो। उनीसँगै हाट गएका कतिपय साथीहरूको भीरबाट लडेर ज्यान गयो। तर कर्णाली करिडोरमा गाडी गुड्न थालेपछि उनका दुःखका दिन गए। उनी भन्छन्, ‘अहिले बिहान घरबाट जितेबजार पुगेर बेलुका घर फर्किन सकिन्छ, कतिपय सामानहरू त गाउँकै बजारमा पाइन्छ। कर्णाली करिडोरमा गाडी गुडेपछि हाम्रा दुःखका दिन हराए।’
गाउँनजिकै हाटबजार
कर्णाली करिडोरमा यति चाँडै गाडी गुड्लान् भन्ने कसैले पत्याएका थिएनन्। कारण अग्ला भीर, नदीकिनारमा सडक खन्नुपर्ने बाध्यता र कडा चट्टान भएको स्थान। यही कारण पनि यो सडक निर्माण गर्नु सहज थिएन। तर नेपाली सेनाले यसलाई सम्भव बनायो।
ज्यानकै बाजी लगाएर भीर छिचोल्दै र चट्टान फोड्दै सेनाले सडक खनेको छ। कठिन भौगोलिक अवस्थामा पनि सडक निर्माण भएसँगै दुर्गममा गाडी गुड्न थालेका छन्। गाउँमा गाडी चल्न थालेपछि सडक छेउ र गाउँमा हाटबजार सञ्चालन हुन थालेका हुन्। अचेल यहाँका नागरिकलाई दैनिक उपभोग्य सामान किन्नका लागि हाटबजार नजिकिएको छ। कर्णाली करिडोरअन्तर्गत लालीघाट, रेगिंल, सान्नीघाट, भात्डी, बुराबगर, जारकोट, भुकाँ, पिलुचौरलगायतका दर्जनौैं ठाउँहरूमा अहिले बजार स्थापना भएका छन्।
२०५८ सालदेखि कैलालीको चिसापानीमा कपडा पसल राखेका दधि बुढाको अहिले कालीकोटको सान्नीगाड र जारकोट बजारमा भाँडा र कपडा पसल छ। कर्णाली राजमार्ग सञ्चालन भएपछि चिसापानीको पसल जितेबजार आयो। कर्णाली करिडोर सञ्चालन भएपछि त्यो बजार आफ्नै गाउँनजिकै जारकोटमा पुगेको उनले सुनाए।
शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ७१ वर्षीय शिवलाल सुवेदीले भने, ‘दैनिक उपभोग्य सामानहरू नुन, तेल र चिनी किन्नकै लागि पहिले राजापुर र चिसापानीसम्म पैदल हिँडियो, अहिले कर्णाली करिडोर सञ्चालन भएपछि गाउँमै बजार बनेको छ। गाउँमै सबै सामान पाइन्छ, अब थाप्लोमा भारी बोक्नुपर्ने दिन हराए।’
डोकोमा बिरामी बोक्नुपर्ने बाध्यता हट्यो
विगतमा गाउँहरू विकट थिए। बस्तीहरू दुर्गममा थिए। गाउँमा कोही बिरामी हुँदा अस्पतालसम्म लैजान हम्मेहम्मे हुन्थ्यो। न एम्बुलेन्स, न त गाडी र जहाजको सुविधा। स्थानीयले डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपर्ने बाध्यता थियो। तर अहिले अवस्था फेरिएको छ। गाउँसम्म एम्बुलेन्स पुग्न थालेका छन्। एम्बुलेन्स नभए पनि विकल्पमा गाडीहरू छन्।
यसले गाउँमा कोही बिरामी पर्दा होस् या सुत्केरी गराउन अस्पतालसम्म डोकोमा लैजानुपर्ने अवस्था छैन। कारण कर्णाली करिडोर सञ्चालन भएपछि बिरामीलाई अस्पतालसम्म लैजान सहज भएको हो। जिल्लाको पलाँता क्षेत्र र बाजुराका अधिकांश गम्भीर बिरामी र सुत्केरी हुन नसकेका महिलाहरूले अकालमै ज्यान गुमाउनुपर्ने समस्या कम भएको छ।
डोकोमा बोकेर अस्पतालसम्म लैजान दुईदेखि चार दिनसम्म लाग्थ्यो। पलाँताको खिनमा कार्यरत स्वास्थ्यकर्मी जन्मऋषि न्यौपानेले भने, ‘पहिले गाउँबाट बिरामीलाई जिल्लामा पठाउन स्टेचर पनि पर्याप्त थिएनन्, डोकोमा बिरामीलाई लैजानु पर्दथ्यो, तर अहिले बिरामीलाई अस्पताल पठाउन निकै सहज छ।’