काव्यिक राजमार्गमा समाजका मुद्दा

काव्यिक राजमार्गमा समाजका मुद्दा

समाजका मुद्दा साहित्यमा जोड्न नसके त्यो जीवन्त बनिरहन सक्दैन। समाजभित्रको जीवन भनेकै साहित्यको ऐना हो। समाजका मुद्दाहरू उठाएर तारा पराजुलीले आफूलाई समेत जनमानसमा भिजाएकी छन्। अर्को राजमार्ग कविता संग्रहमा माक्र्सवादी दृष्टिकोण अंगीकार गरी थप चलायमान बनाएकी छन्। कृतिले विषयगत विविधता समेटे पनि यसभित्रका कविताहरू मूलत: सहर र गाउँबीचको विपर्यास, लैंगिक मुद्दा, राष्ट्रियता, पहाडी जीवनप्रतिको अतीत अनुराग, आर्थिक मुद्दा र प्रेमजस्ता विषयवस्तुमा केन्द्रित छन्। भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा जन्मिएकी उनी साहित्य र राजनीतिमा चलायमान छिन्।

‘सडक चोकमा’ शीर्षकको कवितामा ताराले सर्वहाराको दु:खद जिन्दगीलाई समातेकी छन्। सहरको कंक्रिट जंगलमा एउटा न्यून वेतनभोगी मजदुर छ, ऊ पेसाले रिक्साचालक हो। तँछाडमछाड पुँजीवादी बजारमा ऊ अभावले पिल्सिएको छ। सहरीकरणको यान्त्रिक महाअभियानमा उसको अस्तित्व रक्षाको सुनुवाइ सरकार, पुँजीवादी व्यवस्था र कर्पोरेट दुनियाँ कसैले गर्दैन। यही निरीह रिक्साचालकको सरोकारलाई ताराले लिपिबद्ध गरेकी छन्। उनी लेख्छिन्—

मालपोतको फाइलमा कतै नाम भेटिँदैन

अलिकति माटो र आफ्नै औंठा छापको पुर्जा
यिनै पुकार सुनिरहन्छ...

नयाँ विम्बहरूको खोजीमा कवि तारा निकै आशक्त देखिन्छिन्। यथार्थमा यही आशक्तिले नै एउटा कविलाई आफ्नो मौलिकतातिर डोहो¥याइरहेको हुन्छ। फूलको गाछी नै भाँच्ने प्रकारको विद्रोहले स्वीकृति हैन, अस्वीकृति प्राप्त गर्छ भन्ने प्रकारको आशय बोकेको ‘पुल’ शीर्षकको कवितामा ‘यता बगरको ढुंगामा दुखिया पसिना आलै सुक्छ’ भन्ने हरफ निकै बाचाल लाग्दछ। सम्भवत: कविले भनेको ‘बगरको ढुंगा’ गरिबमारा पुँजीवादी प्रणाली हो, जसका निम्ति नाफा र उपभोग मात्रै सरोकार रहन्छ। असुरक्षा, भोक र गरिबीले जन्माएको नांगोपनको विषयमा उनको कविता उद्वेलित छ।

जीवनयात्रा पहाडबाटै सुरु भए पनि त्यसको तीक्ष्ण स्मृति बोकेर उनी तराईमधेसमा जीवन र जिजीविषा हाँकिरहेकी छन्। बाल्यकालीन पूर्वस्मृतिमा फर्कनु प्रत्येक सर्जकको आमचरित्र हो।

दु:खको रापमा पिल्सिएका थुप्रै प्रकारका महिला ताराका कवितामा मुखरित भएर आउँछन्। कुनै पनि समाजको अर्थ व्यवस्था र राजनीतिक व्यवस्थाले नै त्यो समाजमा बस्ने जनताको जीवनपद्धतिलाई निर्धारण गर्छ। राष्ट्रिय पुँजीको विकास हुन नसकेको र विदेशी चलखेलबाट प्रताडित राज्यका बासिन्दा भएका कारण आर्थिक असुरक्षाको भयावह नियति बाँचेको सन्दर्भ ‘शासकसँग’ कवितामा छ।

पितृसत्ता व्यवस्थामा रहेका हामी सोही जीवनपद्धतिमा चलेका छौं। पारिवारिक संरचना, वैवाहिक जीवनको ताल पनि पितृसत्तात्मक व्यवस्थाकै नीतिद्वारा परिचालित छ। यसअन्तर्गत विवाहपश्चात् महिला पुरुषको घरमा जाने र आफ्नो पूर्वघरलाई माइतीमा परिणत गर्ने परिपाटी हुन्छ। विवाह भइरहेको क्षण व्यक्तिको जीवनको एक विशिष्ट क्षण हो। विवाहकै बिन्दुबाट व्यक्तिका स्वतन्त्रताहरूको काँटछाँट सुरु हुन्छ। विवाह नामको संक्रमणकालीन क्षणमा पितृसत्तात्मक व्यवस्थाको अधीनस्थ बेहुलीको अनुभूतिलाई ‘बेहुली घाम’ कवितामा उनले जीवन्त बनाएकी छन्। लेख्छिन्— 

अब म निर्देशित लवजमा हुनेछु
मलाई केही क्षण सहरीकरण गरेर
आफू भने निर्वासित भएको छ 
भर्खरै एउटा बेहुली घाम...

विद्यमान पितृसत्तात्मक समाज र विचारधाराले मातृसत्तालाई स्वीकार्दैन। आमाको घरलाई मावली र बाबुको घरलाई आफ्नो घर ठान्ने प्रचलनभित्र हुर्किएका हामी मावलीलाई व्यावहारिकभन्दा पनि हार्दिक हिसाबले बुझ्छौं। आफ्नो अस्तित्वलाई मावलीको वंशसँग जोड्दैनौं। यो सोच पितृसत्तात्मक विचारधाराको उपज हो। ‘मामाघर’ शीर्षकको कवितामा कविले मातृसत्तासँग अलिकति भए पनि तादात्म्य राख्ने मामाघरको चित्रण मार्मिक भाषामा गरेकी छन्।

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण देशका नागरिक भएर पनि जलवियोजनबाट मर्नुपर्ने नियतिमा छौं। गाउँहरू दु:खी र एक्ला छन्। परित्यक्त भूगोल भएर बाँच्नु गाउँहरूको नियति भएको छ। बसाइँसराइको तीव्र प्रक्रियाले गाउँहरू उराठलाग्दा भएका छन्। यो विषयलाई उनका थुप्रै कविताले मार्मिक ढंगमा उठान गरेका छन्। जीवनयात्रा पहाडबाटै सुरु भए पनि त्यसको तीक्ष्ण स्मृति बोकेर उनी तराईमधेसमा जीवन र जिजीविषा हाँकिरहेकी छन्। बाल्यकालीन पूर्वस्मृतिमा फर्कनु प्रत्येक सर्जकको आमचरित्र हो। उनले मानव बस्ती रित्तिँदै गएको पहाडी गाउँको सशक्त छायाँ टिपेकी छन्।

‘पहाड र आमा’ कवितामा ताराले पहाडमा दु:खहरूमा एकाकार भएर जीवन बिताइरहेका महिलाको चित्र प्रतिनिधिमूलक पात्र ‘आमा’मार्फत प्रकाशमा ल्याएकी छन्। यातायात, सञ्चार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मानवीय आवश्यकताहरूको सहज उपलब्धता नभएको पहाडी गाउँमा डेढ/दुई दशकअगाडिको समय झन् विकराल थियो। त्यही दु:खी पहाडमा आमाहरूको जीवनको चर्खा चलिरहेको विम्बलाई यो कवितामा यसरी समटिएको छ—

नुन, चामल, तेल, बास्नादर साबुन
केही आइपुग्दैन यहाँ
आउने भनेको महँगी बोक्ने
उही कुहिरो हो पहाडमा
आमा यसै भन्नुहुन्थ्यो...

सहर र गाउँबीचको विपर्यास देखाउने ‘भोजपुर’ शीर्षकको कवितामा ताराले बालागुरु षडानन्द, योगमाया हँुदै पछिल्ला प्रतिभाहरूको चर्चा गर्नुका साथै सुविधासम्पन्न सहर र बाँसको जोखिमपूर्ण फड्केबाट खोलो तर्नुपर्ने गाउँको भिन्नता पनि संग्रहमा छ। राष्ट्रियता उनका कविताको अर्को बलियो प्रक्षेप हो। ‘टिष्टासँग एक दिन–२’ लगायतका कवितामा यो प्रक्षेप प्रकट भएको पाइन्छ। टिष्टा नदी कुनै समय नेपालमा पथ्र्यो। यो नेपाली बहादुरीको आर्जन थियो। कविकै शब्दमा ‘सगरमाथाकी कन्या’ भनेर चिनिने टिष्टा आज ‘दोस्रो घर’ (भारत)मा भित्रिएकी छन्। कवितामा नदी, नारी र राष्ट्रियता छ। ‘टिष्टासँग एक दिन–१’ कवितामा टिष्टा नदीले ओरालो बग्नुलाई जीवन ठान्छ तर मान्छेहरू सधैं उकालो ताक्छन्। यही विरोधाभाषलाई ताराले यसरी टिपेकी छन्—

मलाई गर्व छ ओरालोसँग
त्यसैले ओरालै–ओरालो बग्छु...

 

शास्त्रीय अर्थमा प्रेम प्राप्तिमा हैन, अप्राप्तिमा अमर हुन्छ। उनका थुप्रै कविताले प्रेमिल अभिव्यक्तिको घुमाउरो नालीबेली समेटेका छन्। ‘अँजुलीभरिका फूलहरू’ एक उत्कृष्ट प्रेम कविता हो। ‘प्रेमोपहार’, ‘अस्वीकृत उपहार’, ‘हटिया र स्मृति’, ‘धरहरा र मेरो प्रेम’ जस्ता कविताले प्रेमको आदर्श व्याकरणलाई समातेका छन्। निजी अनुभूतिलाई सार्वजनिक अनुभूतिसँग जोड्ने सामथ्र्य उनको देखिन्छ।

कवितामा उनले जीवनका विरोधाभासहरूलाई छिचोल्दै आदर्श र जिजीविषाको लय निर्माण गरेकी छन्। विम्ब निर्माणमा मौलिकताको पारख गरी विषयवस्तुको सटिक चयन, उन्नत चेतना र अभिव्यक्तिमा सम्प्रेष्यताजस्ता विशेषता कविसँग छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.