घाटामै उड्डयन क्षेत्र

घाटामै उड्डयन क्षेत्र

काठमाडौं : कोभिड—१९ का कारण उत्पन्न महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएको छैन। 

पछिल्लो समय आन्तरिक उडानतर्फ ट्रंक रुट (तराई जिल्लाका उडान) मा उल्लेख्य सुधार आए पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्लाका उडान) र हेलिकप्टर उडानमा सुधार नआउँदा उड्डयन क्षेत्रले अझै व्यावसायिक लय समातेको छैन। यसका साथै अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको पनि व्यवसायले गति लिन सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथ्यांकअनुसार कोभिड—१९ को महामारीपछि हाल आन्तरिकतर्फको ट्रंक रुट र स्टल रुटतर्फ आउने जाने गरी दैनिक करिब दुई सय उडान भइरहेको छ। कोभिड—१९ महामारी अघिसम्म ती दुवै रुटमा दैनिक औसत तीन सय उडान हुन्थ्यो। 

अहिले ट्रंक रुटमा सबै वायुसेवा कम्पनीले करिब ८० प्रतिशत अकुपेन्सीमा जहाज उडाइरहेका छन्। तर, स्टल रुटका उडान नगन्य संख्यामा भइरहँदा ५० प्रतिशतभन्दा पनि कम अकुपेन्सी छ। फाट्टफुट्ट हुने स्टल रुटको उडानमा कार्गोको हिस्सा बढी हुने गरेको आन्तरिक वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ। 

आन्तरिक उडान पुरानै लयमा फर्किंदै गएको तथ्यांकले देखाए पनि सबै आन्तरिक उडानका जहाज भने उड्न सकेका छैनन्। ट्रंक रुट भएको घाटालाई नाफामा परिणत गर्न व्यवसायी सफल भए पनि स्टल रुट र हेलिकप्टर कम्पनी भने घाटा खाएर थन्किने अवस्थामा पुगेका छन्। 

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ हाल आउने जाने गरी ३० देखि ३६ उडान हुँदै छ। कोभिडअघि भने अन्तर्राष्ट्रियतर्फ करिब ६५ उडान हुन्थ्यो। आन्तरिकतर्फ यात्रुको दैनिक चाप करिब १० हजारको हाराहारीमा पुगेको छ। आन्तरिक उडानको संख्या पहिलाको तुलनामा केही कम भए पनि अकुपेन्सीको आधारमा पुरानै लयमा फर्किएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। अन्तर्राष्ट्रियतर्फ भने उडान र यात्रु संख्यामा खासै प्रगति नभएको उनले बताए। 

नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान भर्दै आएको निगमले भने हाल करिब ८० प्रतिशत अकुपेन्सीमा उडान भर्दै आएको छ। ८० प्रतिशत अकुपेन्सीमा उडान भरेको निगमले हङकङ उडानबाहेक अन्य गन्तव्यको उडानमा  सञ्चालन खर्च उठाउन समस्या भएको स्रोतले जनाएको छ।

निगमले अन्तर्राष्ट्रियतर्फ ६ गन्तव्यमा उडान भर्दै आएको छ भने आन्तरिकतर्फ काठमाडौंबाट ७ गन्तव्यमा र नेपालगन्जबाट ७ गन्तव्यमा उडान गर्दै आएको छ। सरकारको तथ्यांकअनुसार सन् २०२० को नोभेम्बरसम्म समग्र उड्डयन क्षेत्रतर्फ अन्तर्राष्ट्रिय हवाई उडानमा करिब ८६ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा करिब ७२ प्रतिशतले कमी आएको छ। यस्तै आन्तरिकतर्फको उडानमा करिब ६५ प्रतिशत र यात्रुको संख्यामा करिब ७३ प्रतिशतले कमी आएको छ। 

अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स पनि कोभिडका कारण मासिक २५ करोड रुपैयाँभन्दा बढी घाटामा सञ्चालन भइरहेको छ। एयरलाइन्सको अहिले चार वटा न्यारोबडी सञ्चालनमा छन्। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार सात गन्तव्यमा उडान भर्दै आएको हिमालयले नेपालबाहिर उडान भर्दा यात्रुको संख्यामा कमी आए पनि बाहिरबाट भित्रिँदा ७० देखि ८० प्रतिशत अकुपेन्सी हुने गरेको छ।  

व्यावसायिक उडानबाहेक अन्य आम्दानीको स्रोत नभएकाले निजी विमान कम्पनीलाई कर्मचारी व्यवस्थापन तथा सञ्चालन खर्च धान्न अप्ठ्यारो भएको श्रेष्ठले बताए। हिमालय एयरलाइन्स सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि प्रमाणपत्र पाइसक्दा पनि उक्त सुविधा उपभोग गर्न नसकेको उनको गुनासो छ। सरकारको वैदेशिक नीतिले पनि विदेशी लगानीमा सञ्चालित उद्योगलाई कुनै भेदभाव नगर्ने भनिए पनि आफ्नो कम्पनीसँग भेदभाव भएको श्रेष्ठले बताए। सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न पाए प्रतिउडान करिब तीन हजार डलर जोगाउन सकिने उनको तर्क छ। 

उपयुक्त निर्णय गर्न नसक्दा पर्यटन तथा उड्डयन क्षेत्र धराशायी बन्दै गएको पर्यटन मन्त्रालयले स्वीकार गरेको छ। अन्तर्राष्ट्रिय पर्यटकलाई लक्ष्य कार्यक्रम समयमा आउन नसक्दा नेपाल आउने पर्यटक अन्त मुलुकतर्फ मोडिएको मन्त्रालयले जनाएको छ। ‘नेपाल आउन बुकिङ गरेका पर्यटक पनि डाइभर्ट भएर पाकिस्तान, श्रीलंकालगायत मुलुक गएका छन्’, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। 

कोभिड—१९ सम्बन्धी झन्झटिलो सुरक्षा मापदण्ड परिमार्जन गर्न पर्यटन मन्त्रालयले सुझाव दिए पनि सरोकारवाला मन्त्रालयले हालसम्म चासो नदिएका कारण यसले पर्यटक आवागमनमा दीर्घकालीन असर पार्न सक्ने लामिछानेको भनाइ छ। 

सरकारको पछिल्लो निर्णयअनुसार अनिवार्य रूपमा पाँच दिन होटेल क्वारेन्टनमा बस्नुपर्ने र ७२ घण्टाअघिको कोभिड जाँचको रिपोर्ट अनिवार्य गरिएको छ भने टे«किङ र पर्वतारोहणबाहेक घुम्न आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा दिइएको छैन। 

पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीले होटल क्वारेन्टिनको व्यवस्था हटाउन, अनअराइभल भिसा खुलाउने विषयमा सरकारलाई दबाब दिँदै आएका छन्। 

निगमको ग्राउन्ड ह्यान्डलिङ राजस्व पनि घट्यो 
उडानबाहेक निगमको प्रमुख आम्दानीको स्रोत अन्तर्राष्ट्रिय जहाजको ग्राउन्ड ह्यान्डलिङ हो। निगमले २८ अन्तर्राष्ट्रिय वायुसेवाको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएपछि कोभिड समस्यापछि उडान संख्या घटेपछि ग्राउन्ड ह्यान्डलिङबाट आउने आम्दानी पनि घटेको छ। तर, ग्राउन्ड ह्यान्डलिङबाट आउने राजस्वमा कति गिरावट आएको छ, त्यो विषयमा भने निगमले बताउन चाहेन। निगमले ग्राउन्ड ह्यान्डलिङबापत एक जहाजसँग एक पटकमा करिब तीन हजार डलर चार्ज गर्छ। कोभिड—१९ अघिको समयमा ग्राउन्ड ह्यान्डलिङबापत मासिक करिब ३५ करोड रुपैयाँ आम्दानी हुने गरेको थियो। 

२० करोडसम्म मासिक घाटा
राजस्वबाहेक कम जहाज भएको कम्पनीलाई मासिक करिब सात करोड र बढी जहाज संख्या भएको कम्पनीलाई २० करोड रुपैयाँसम्म मासिक घाटा भइरहेको आन्तरिक वायुसेवा सञ्चालक संघको दाबी छ। सन् २०२० मा आन्तरिक उड्डयन क्षेत्रले करिब १० अर्ब ६२ करोड रुपैयाँ आम्दानी गुमाएको थियो। 

‘ट्रंक रुटमा भाडा घटेका कारण नयाँ यात्रु थपिएका छन्। यसले फाइदा नै भएको छ। तर, स्टल रुट र हेलिकप्टर कम्पनीको अवस्था भने बेहाल भएको छ’, संघका प्रवक्ता योगराज कँडेल शर्माले भने, ‘पहाडी जिल्लामा हुने उडानका लागि यात्रु नै छैनन्। पर्यटकीय उडानसमेत नहुँदा यस्ता क्षेत्रमा हुने उडान सबैभन्दा बढी प्रभावित भएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.