जितको घमण्डले नेकपालाई विभाजनतर्फ लग्यो : योगेश भट्टराईं
ताप्लेजुङ : नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले जितको घमण्डले पार्टीलाई विभाजनतर्फ लगेको बताएका छन्। प्रेस संगठन ताप्लेजुङले शुक्रबार फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘पहिलो तहका नेताहरुको जितको घमण्डले पार्टी यो अवस्थामा आइपुगेको हो, सबैले एकपटक पराजयको अनुभुति गर्नुस्, एकता सम्भव छ।’
नेकपा विभाजित भए दुई वर्षपछि हुने निर्वाचनमा पराजय निश्चित रहेको र त्यसलाई आजै महसुस गरेर सच्चिनुपर्ने भट्टराईको भनाई छ। ‘नेकपा एकताको सम्भावना मरिसकेको छैन, कोमामा मात्रै पुगेको हो,’ उनले भने, ‘कुसल डाक्टर पायो भने बचाउन सक्छन्।’
तर त्यसका लागि प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले त्याग गर्न सक्नुपर्ने उनको भनाई छ। प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले भने, ‘सर्वप्रथम केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ, त्यसपछि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री पदमा आफू नजाने घोषणा गर्नुपर्छ।’
पार्टीलाई विभाजनको अवस्थामा पुर्याउने प्रमुख पात्र केपी ओली भएकाले उनले राजिनामा दिएपछि मात्रै एकताको ढोका खुल्ने भट्टराईको दाबी छ।