‘के पढेर जाँच लेख्ने ?’
ताप्लेजुङ : पातलो कुर्ता सुरुवाल, थोत्रो ज्याकेट र चप्पल लगाएकी। जागै रात कटाएको हप्ता दिन भयो। न समयमा खाना छ। न ढुक्कले सुत्ने ठाउँ। घर जलेको दिनदेखि विद्यालय गएकी छैनन् सावित्रा लिम्बू।
बिहानै बुवा आमासँग घर जलेर खरानी भएको घडेरीमा जान्छिन्। खरानी कोट्ट्याउँछिन्। दिउँसो राहत बाँड्नेहरूले गरेको कार्यक्रममा जान्छिन्। आमासँग पछाडि बस्छिन्। सावित्रा पुर्पुरोमा हात लगाउँछिन्। सुँक्क–सुँक्क गरिरहन्छिन्।
बस्ने व्यवस्था नजिकै आफन्तको घरमा गरिएको छ। उनको परिवारसहित अरू चार परिवार त्यो घरमा बसेका छन्। ‘कपडा, किताब सबै जले। पीरले खान मन लाग्दैन। सरले पाठ निकै अगाडि बढाइसक्नुभयो होला।’ फुङलिङ नगरपालिका–२ स्थित वीरेन्द्र माविको कक्षा ९ मा अध्ययनरत उनले भनिन्, ‘परीक्षा आउन लाग्यो। अब के पढेर लेख्ने ?’ हरेक समय सपनाजस्तो लागिरहेको लिम्बूले सुनाइन्। कक्षा ९ सम्मको परीक्षा जेठमा हुँदैछ।
मेरिङ्देन गाउँपालिका दोभान बजारकी सावित्रा फागुन १८ गते सधैंझैं सबेरै उठिन्। बेलुका छुटेको केही केही गृहकार्य थियो। त्यो गरिन्। त्यसपछि खाना बनाइन्। बुवा आमा पसलमा व्यस्त थिए। उनले खाना खाइन्। युनिफर्म लगाएर विद्यालय जान मात्रै के आँटेकी थिइन्। एक्कासि खैलाबैला मच्चियो। आगो.....आगो....! बाहिर निस्केर हेरिन्। केही परको घरमा आगो दन्किरहेको थियो।
बजारका सबै त्यतै दौडिए। बोकेको झोला प्याँकेर सावित्रा पनि त्यतै गइन्। छरछिमेकी पानी छ्यापेर निभाउने प्रयास गर्दै थिए। तर, आगो हुर्किसकेको थियो। आफ्नो घर फर्कन सक्ने अवस्था भएन। ‘भागेर माथिपट्टिको सडकमा गयौं, त्यतिञ्जेलसम्म हाम्रो घरमा आगो पुग्नै लागेको थियो,’ उनले अन्नपूर्णसँग भनिन्, ‘हेर्दाहेर्दै घर खरानी भयो। विद्यालय जान ठिक्क परेका चार जना बेलुकासम्म त्यहीँ रोएर बस्यौं।’
गाउँपालिकाको तथ्यांकअनुसार दोभान बजारको आगलागीमा ८८ जना बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रभावित हुनेमा ४३ छात्रा र ४५ छात्र छन्। उनीहरूका कपडा, विद्यालय पोसाकदेखि सबै शैक्षिक सामग्री जले। आगलागी भएदेखि यहाँका कोही पनि विद्यालय गएका छैनन्। ‘हामीलाई नै मन बुझाउन कठिन भइरहेको छ, खाने, लगाउने, बस्ने केही टुंगो छैन,’ पीडित सुकवीर लिम्बूले भने, ‘अनि नानीहरूलाई विद्यालय पठाउनेबारे सोच्नै पाएको छैन।’
वीरेन्द्र माविमा कक्षा ११ इच्छाधिन अंग्रेजी विषयकी छात्रा हुन् रेशु लिम्बू। आगलागीमा घर जल्यो। किताब जले। त्योभन्दा महŒवपूर्ण दुःख गरेर तयार पारेको नोट जलेको रेशुले सुनाइन्। ‘नहुनु क्षति भइहाल्यो। जसोतसो छिमेकीको शरणमा बसिरहेका छौं। दिनहुँजसो राहत वितरण भइरहेको छ, त्यसले खान पनि समस्या नहोला,’ उनी भन्छिन्, ‘दिनको दुई घण्टा लगाएर बनाएको अंग्रेजीको नोट जल्यो। सबैभन्दा चिन्ता त्यसमा छ।’
ट्युसन पढ्न टाढा जानुपर्ने। सामुदायिकमा अंग्रेजी पढाइ। त्यही भएर सरसँग थप समय लिएर भए पनि अंग्रेजीमा मिहिनेत गरिरहेको लिम्बूले सुनाइन्। ‘घरमा काम पनि सघाउनुपर्छ। सजिलो विषय लिएर पढ् भनेर बुवाले भन्नुभएको थियो, सक्छु भनेर थालेकी हुँ,’ उनी भन्छिन्, ‘अझै हिम्मत चाहिँ हारेको छैन।’
आगलागी पीडित विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक र पोसाक उपलब्ध गराइने वीरेन्द्र माविका शिक्षक नवीन गुरागाईंले बताए। ‘उनीहरू अझै कम्तीमा हप्ता दिन नियमित विद्यालय आएर कक्षा लिने अवस्थामा हुँदैन भन्ने लागेको छ,’ उनले भने, ‘थप सुविधा के के दिन सकिन्छ। छलफल गर्छौं।’ बीचमा छुटेको पाठ अतिरिक्त समयमा पढाएर भए पनि पूरा गरिने उनको भनाइ छ। पीडित बालबालिका र विद्यार्थीका लागि विशेष व्यवस्था गर्ने गाउँपालिका प्रमुख गणेश लिम्बूले बताए।