ताप्लेजुङ ओली समूहको पार्टी कार्यालयमा एमालेको बोर्ड
ताप्लेजुङ : ताप्लेजुङमा ओली समूहले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेको छ। फुङलिङ बजारको शान्ति टोलस्थित कार्यालयमा मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो।
ओली समूहका जिल्ला उपाध्यक्ष राधा पौडेल, जिल्ला सदस्यहरु छत्रपति प्याकुरेल, आशिष केदेम, भिमा ओझा, गोपाल न्यौपाने, लक्ष्मी यक्सो लगायतको सहभागितामा बोर्ड फेरिएको हो। आफूहरु नै संस्थापन पक्ष र आधिकारिक एमाले भएको उपाध्यक्ष पौडेलले बताए।
‘हिजो नेतृत्वलाई तथानाम गाली गर्दै हिंड्ने अनि आज आएर एमाले हामी हौं भनेर अरु कसैले दाबी गर्न मिल्दैन’,उनले भने, 'प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पार्टी हामी हौं, हाम्रो नेतृत्वमा एमाले चल्छ।’ नेकपा विभाजन भएपछि ओलीले जिल्लामा आफ्नो पक्षको कमिटी बनाएका थिए। ताप्लेजुङमा जसको अध्यक्ष भूपेन्द्र थेवे छन्।
उता माधव नेपाल पक्षले पनि नेकपा एमाले लेखिएकै बोर्ड राख्ने बताएका छन्। विरेन्द्रचोकस्थित पार्टी कार्यालयमा दिउँसो पत्रकार सम्मेलनपछि बोर्ड फेरिने बताइएको छ। सो समूहका नेता बलबहादुर साम्सोहाङले पनि आफू नै आधिकारिक नेकपा एकालेको अध्यक्ष भएको दाबी गरेका छन्।