समयमै चामल ढुवानी
सुर्खेत : कर्णालीका दुर्गम जिल्लामा बर्सेनि खाद्यान्न संकट हुन्छ। स्थानीय उत्पादनले नथेग्ने ती जिल्लामा भोकमरी टार्न चामल ढुवानी गर्न लागिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले दुर्गममा सम्भावित भोकमरी हुन नदिन यो वर्ष ३७ हजार क्विन्टल चामल दुर्गममा पुर्याउन लागको हो।
कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख, जुम्लालगायत जिल्लामा स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन। यसले गर्दा यी जिल्लाका दुर्गम गाउँमा खाद्यान्न संकट हुने गरेको छ। यही संकट टार्न चालू आर्थिक वर्ष सुर्खेतबाट ६ जिल्लामा कुल ३७ हजार दुई सय क्विन्टल चामल पुर्याउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ। कम्पनीले खाद्यान्न संकट टार्न कर्णालीमा बर्सेनि करिब ८० हजार क्विन्टल चामल वितरण गर्दै आएको छ।
दाङ, नेपालगन्ज, कैलाली र सुर्खेतबाट चामल खरिद गरेर ढुवानी गरिनेछ। कर्णालीका सल्यानबाहेकका सबै जिल्लामा कम्पनीले बर्सेनि अनुदानमा चामल ढुवानी गर्दै वितरण गर्दै आएको छ। यो वर्ष खाद्यान्न अभाव टार्न प्रादेशिक कार्यालयले कर्णालीका विभिन्न २८ वटा खाद्यका शाखा तथा वितरण केन्द्रसम्म चामल पुर्याउन सुरु गरेको हो। यो वर्ष सुर्खेतबाट हुम्लाका शाखा कार्यालय र सातवटा वितरण केन्द्रसम्म ११ हजार तीन सय क्विन्टल चामल पुर्याउन थालिएको हो। हुम्लामा ६ हजार क्विन्टल हवाई मार्गबाट र एक हजार क्विन्टल चामल स्थल मार्गबाट पुर्याइनेछ।
हुम्लाकै सर्केगाड र श्रीनगर डिपोमा एक/एक हजार क्विन्टल, खार्पुनाथ याङ्चुक, छप्रेला र देउली बिक्री केन्द्रमा पाँच/पाँच सय क्विन्टल र तुम्चवालुकुनामा आठ सय क्विन्टल चामल पुग्नेछ। यस्तै मुगुमा कुल १० हजार सात सय ५० क्विन्टल चामल ढुवानी गर्न लागिएको छ। जुम्लामा दुई हजार नौ सय क्विन्टल, डोल्पामा सात हजार पाँच सय ५० क्विन्टल, कालीकोटमा दुई हजार पाँच सय क्विन्टल र दैलेखमा चार हजार क्विन्टल चामल ढुवानी हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले जानकारी दिए।
उनले भने, ‘दुर्गममा स्थानीय उत्पादनले वर्षभरि धान्दैन, त्यहाँ कुनै पनि बेला खाद्य संकट हुन्छ। यसकारण हामीले विकट गाउँमा रहेका डिपो र वितरण केन्द्रसम्मै पुग्ने गरी चामल ढुवानी गर्दै छौं। खाद्यान्न अभावकै कारण कोही भोको नरहोस् भन्नेमा हामी सचेत छौं।’ जहाज र स्थल मार्गबाट गरेर समयमै खाद्यान्न गाउँसम्म पुग्ने गरी आफूहरूले काम गरिरहेको उनको भनाइ छ। उनका अनुसार बर्सेनि खाद्यान्न अभाव हुने दुर्गममा हाल विभिन्न बिक्री केन्द्र तथा शाखा कार्यालयमा गरी साढे २० हजार क्विन्टल चामल मौज्जाद छ। अघिल्लो आर्थिक वर्षको मौज्जाद र चालू आर्थिक वर्ष ढुवानी भएको चामल गरेर प्रदेशभर कुल २० हजार पाँच सय १२ क्विन्टल चामल मौज्दात रहेको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।
यसैबीच दुर्गममा चामलको ढुवानी खर्च महँगो हुँदा स्थानीयले महँगोमा चामल किन्नुपर्ने बाध्यता छ। हुम्लामा मोटा चामल प्रतिक्विन्टल पाँच हजार पाँच सय ५० रुपैयाँमा, सानो मसिना चामल ६ हजार दुई सय, जीरा मसिनो आठ हजार दुई सय, मकवानपुर पाँच हजार नौ सय र जापानिज चामल चार हजार ६ सय रुपैयाँ प्रतिक्विन्टलका दरले बिक्री हुन्छ। दुर्गममा ढुवानी खर्च चामलको मूल्यभन्दा दोब्बर पर्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस !