फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै तालाबन्दी
![फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै तालाबन्दी](https://annapurnapost.prixacdn.net/media/albums/fohortalabandi_20210318111134_EVxvFZmNjJ.jpg)
इटहरी : फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै इटहरी–१९ भवानीपुरका बासिन्दाले इटहरी उपमहानगरपालिकाको वातावरण शाखा र वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालिको कार्यालयमा ताला लगाएका छन् ।
जंगलछेउ खुला स्थानमा फोहोर फालेर जलाएको कारण बस्नै नसकिने अवस्था उत्पन्न भएको भन्दै आक्रोशित स्थानीयको समूहले तालाबन्दी गरेको हो ।
‘पटक पटक भन्दा पनि फोहोर फाल्न र जलाउन छाडेको छैन,’ स्थानीय कृष्ण चौलागाईले भने, ‘आज बिहान मात्रै दुईजना बिरामी भएर धरान पुर्याइयो, बिरामी हुने डरले मैले मेरो आमालाई अर्को गाउँमा सारेको छु ।’
इटहरीबाट संकलन गरिएको फोहोर अहिले इटहरी र रामधुनी नगरपालिकाको सीमामा पर्ने चारकोसे झाडीमा जलाउने गरिएको छ । जसको धुँवाले बस्नै नसकिने अवस्था उत्पन्न भएको भन्दै स्थानीयले पटक पटक विरोध जनाउने गरेका छन् ।
बेलाबेलामा फोहोर फाल्न गएका ट्रयाक्टरलाईसमेत अवरोध गरेपनि फोहोर फाल्न नरोकिएको उनीहरुको गुनासो छ । गाउँ नै छाड्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै स्थानीयले तालाबन्दीमा उत्रिनुपरेको बताए ।
फोहोरबाट बायोग्याँससमेत निकाल्ने भन्दै निजी कम्पनीले फोहोर व्यवस्थापनको जिम्मेवारी लिए पनि फोहोर उठाएर फाल्ने काम मात्र गरिरहेको छ ।
इटहरीमा ल्याण्डफिल्ड निर्माणाधिन रहेकोले फोहोर व्यवस्थापनको समस्या समाधान हुन सकेको छैन । ल्याण्डफिल्ड साइटको लागि उपमहानगरपालिकाले हालसम्म १३ करोड बढी खर्च गरिसकेको छ ।
वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालिका प्रबन्धक मानध्वज मोक्तानले र उपमहानगरपालिकाले समयमा ल्याण्डफिल्ड साइड नबनाइदिएका कारण जंगलमा फाल्नुपरेको बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)